|

हेटौंडा : हेटौंडा अस्पतालमा थप १०० सिलिण्डर अक्सिजन आइपुगेको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव भएपछि नेपाली सेनाको पहलमा अक्सिजन व्यवस्थापन कार्य भइरहेको छ। जसअन्तर्गत आज शनिबार दिउँसो १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिएको हो।

अक्सिजन अभाव भएपछि अस्पताल व्यवस्थापन समितिले शुक्रबार कोरोना संक्रमितको उपचार गर्न समस्या भएको भन्दै माफी मागेको थियो भने केही बिरामीलाई रेफरसमेत गरेको थियो। अस्पतालले विज्ञप्ति नै जारी गरेर अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको बताएपछि हाल विभिन्न स्थानबाट अक्सिजन संकलन भइरहेको छ। जसमा शनिबार दिउँसो पर्साको परवानिपुरबाट ५०, काभ्रेबाट २० र नेपाली सेनाबाट ३० गरी १०० वटा सिलिण्डर अक्सिजन प्राप्त भएको हो।

 अस्पतालको सञ्चालक समिति सदस्य तथा अक्सिजन कोअर्डिनेटर हिरा वाईबाको अनुसार अहिले अस्पतालमा १ सय २७ सिलिण्डर अक्सिजन मौज्दात रहेको छ। जसले अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई आइतबार बिहानसम्मलाई पुग्नेछ। वाईबाले शनिबार रातिसम्म थप १ सय ४० सिलिण्डर अक्सिजन आईपुग्ने बताए। उनले विराटनगरबाट १०० र अक्सिजन डिलर कुन्दन ईन्टरप्राईजेजबाट ४० सिलिण्डर अक्सिजन आउने कुरा भएको सुनाए।

 देशैभर अक्सिजनको चरम अभाव भएकोले अस्पतालले विभिन्न स्थानबाट अक्सिजन ल्याउँदा नेपाली सेनाको स्कर्टिङमा ल्याइरहेको अस्पतालको कोभिड १९ फोकल पर्सन सागर काफ्लेले बताए। अक्सिजनको अभाव भइरहँदा पाएको स्थानबाट पनि अक्सिजन ल्याउन समस्या हुने गरेकोले नेपाली सेनाले स्कर्टिङ गर्नुपरेको उनको भनाइ छ।

 अस्पतालमा कोरोना संक्रमितको लागि सञ्चालित सबै वेड भरिएका छन् भने उपचाररत सबै बिरामीलाई अक्सिजन लगाइराखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.