एक पक्षको निर्णयमा अर्को पक्ष बेखबर !

|

काठमाडौं : शिर्ष नेताहरुको विवादका कारण जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ। पार्टी एकता भएको एक बर्ष बित्न नपाउँदै जसपा विभाजनको बाटोमा लागेकोे हो। 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि कतापट्टि लाग्ने भन्ने बिषयले बीजारोपण गरेको विवाद अहिले विभाजनको संघारमा आइपुगेको छ। पार्टीभित्रको विवाद उत्कर्ष तर्फ धकेलिरहेका बेला अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफू पक्षको सांसदहरुको उपस्थितिमा नेता महतोलाई संसदीय दलको नेता चयन गरेपछि पार्टी विभाजनका लागि थप बल पुर्याएको छ। 

महन्थ–राजेन्द्र पक्षले बिहीबार वरिष्ठ नेता यादवलाई संसदीय दलको नेता चयन गरेको छ। पार्टीको संसदीय दलको नेता चयन हुँदैगर्दा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने बेखबर नै रहे। 

त्यसो त पार्टीभित्रको विवाद बल्झिँदै गएपछि साविक संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका दुवै समूहले आ–आफ्नो ढंगले भेला तथा बैठक गर्दै आइरहेका छन्। तर, बाबुराम–उपेन्द्र समूहले भने महन्थ–राजेन्द्र समूहको निर्णयलाई मान्न नहुने बताइसकेका छ।

सोही बिषयमा छलफल गर्नका लागि बसेको बाबुराम–उपेन्द्र समूहको बैठकले विधान विपरित संसदीय दलको नेता चयन गरिएको हुनाले त्यो मान्य नहुने बैठकपछि संघीय परिषद् अध्यक्ष भट्टराईले बताए। 

उनले भने, ‘दलको नेता चयन गर्नका लागि पार्टीभित्र सहमति चाहिन्छ। त्यो निर्णय मान्य हँुदैन। अब कार्यकारिणी समितिको बैठक बसेर त्यसबारे निर्णय हुन्छ।’

महन्थ-राजेन्द्रलाई कारवाही गछौँ

पार्टी विपरित चलेको भन्दै महन्थ–राजेन्द्र पक्षलाई कारवाही गर्नसक्ने सांसद रामबाबु यादव बताउँछन्। उनी भन्छन्,  ‘हाम्रो संसदीय दलको विधान बनेको छैन। विधान बनेपछि बैठक बसेर निर्णय गर्छौं। पार्टीभित्र एकलौटी जान खोज्नेलाई कारवाही हुन्छ।’

विधानभन्दा माथि जान खोज्ने जो कोहीलाई कारवाही हुने उनले बताए। 

बहुमतको आधारमा निर्णय 

महन्थ–राजेन्द्र समूहले आफूहरुले बहुमतको आधारमा निर्णय गरेको दाबी गरिरहेको छ। उनीहरुले २० सांसदको उपस्थितिमा बहुमतको आधारमा संसदीय दलको नेता चयन गरेको दाबी गर्दै आइरहेको छ। 

बाबुराम–उपेन्द्र समूहले  आज बैठक बस्दै गर्दा कुनै बैठक नराखेको भन्दै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरे। अर्को समूहको बैठक बसिरहेको बेलामा कार्यकारिणी समितीको कुनै बैठक नडाकिएको र जानकारीसमेत आफूहरुलाई नभएको भन्दै उनले ध्यानाकर्षण गराए। 

पार्टीभित्रको देखिएको विवाद बैठक बसेर हल गर्ने नेता लक्ष्मणलाल कर्ण बताउँछन्। उनी भन्छन्, ‘उहाँहरु फरकधारमा हिँड्न खोज्नुभएको छ। त्यसैले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठकपछि मात्रै निर्णय गछौँ।’

पार्टीभित्र दुवै खेमाबाट एकले अर्को समूहलाई कारवाही गर्दै अघि बढ्ने अवस्थामा पुगेको छ। जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र यादवले ओली सरकार ढालेर नयाँ सरकार बनाउने जोड गरेका थिए। तर, अध्यक्ष ठाकुर पक्षले साथ नदिएपछि सफल हुन सकेनन्। 

महन्थ–राजेन्द्र भने ओली सरकारसँग आफ्नो मागको बार्गेनिङ गर्दै ओली सरकारमा सहभागी हुने सम्मको बारेमा छलफल गरिरहेका छन्। ओलीसँग अदालतबाट जन्मकैद सजाय फैसला भएका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मद्येश तथा थरूहट आन्दोलनमा समातिएका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ। 

प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता लिइसकेका छन्। आफ्नो सबै माग सम्बोधन भएको अवस्थामा ओली सरकारलाई निरन्तरता दिन सकिनेमा महन्थ–राजेन्द्र पक्ष उभिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.