|

पर्वत : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पर्वत अस्पतालमा २६ शय्या थप गरिएको छ। कोरोनाको दोस्रो लहरपछि संक्रमित थपिँदै जाँदा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बनाइएको १० शय्याको आइसोलेसन वार्डले थेग्न नसक्ने भएपछि २६ शय्या थप गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

‘अस्पतालमा रहेको १० शय्याको क्षमताले बिरामी धान्न सकेन। प्यासेज र ओपिडीमा समेत राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था आयो। संक्रमणको अवस्था झनै फैलिँदो क्रममा छ,’ उनले भने, ‘प्यासेज र ओपिडीमा गरेर शनिवार १६ जनालाई उपचार गर्न सक्ने क्षमता पूरा गरेका छौँ। सोमबार थप २० शय्या निर्माण गरेर सञ्चालनमा ल्याउन लागिरहेका छौँ।’ थप भएका प्रत्येक शय्यामा अक्सिजन सिलिन्डरको व्यवस्था पनि भइरहेको छ।

संक्रमितको उपचारका लागि अस्पतालमा आवश्यक जनशक्ति नभएकाले अहिलेको स्वास्थ्यकर्मीलाई नै परिचालन गरेर सकेसम्म अस्पताल आउने सबै संक्रमितलाई सेवा दिने प्रयास गरिएको पहाडीले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले अस्पतालले पूर्व तयारी स्वरूप शय्याको व्यवस्था गरे पनि लक्षण नदेखिएका र स्वास्थ्यमा समस्या नभएका बिरामीहरू अस्पतालमा गएर बस्न उचित नहुने बताए। सामान्य लक्षण भएका संक्रमितलाई घरमा नै बढी सुसार र सुरक्षा हुने भएकाले उनीहरू अस्पतालमा आउँदा झनै जोखिम हुन सक्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.