|

काठमाडौं : ‘विगतदेखि वर्तमान कोरोना महामारीसम्मका समस्या र  साहित्यको भूमिका’ विषयक परिचर्चा र विशेष कविगोष्ठीसहित साहित्य सन्ध्याको ४१६ औँ शृङ्खला सम्पन्न भएको छ।

जेठ १ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा आयोजित पछिल्लो शृङ्खलामा कविहरूले कोरोना महामारीबारे परिचर्चा गरेका हुन्‌। 

अध्यक्ष राम विनयको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसाल र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्याय विशिष्टि अतिथि थिए।

पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष एवम् साहित्य सन्ध्याका सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरी, नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, प्राज्ञ नन्दु उप्रेती, प्राज्ञ हरि तिमिल्सिना, सन्ध्याका सल्लाहकारद्वय वासुदेव अधिकारी र विधान आचार्य, अग्रज स्रष्टाहरू प्रा.डा.खेमनाथ दाहाल, डा.राजेन्द्रप्रसाद अधिकारी, पुण्यप्रसाद खरेल झापा, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), गायत्रीकुमार चापागाईँ, डिल्लीराज अर्याल र गोपाल बराल, बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, वरिष्ठ गजलकार बूँद राना, साहित्यकार गङ्गा कर्माचार्य पौडेल र भेरी साहित्य समाजका सचिव प्रभात सुवेदी उपस्थित थिए।   

प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसालले विगतमा पनि भूकम्प, सरुवा रोग आदिका धेरै महामारी देखे/भोगिएको, तर अहिलेको कोरोना महामारी झनै डरलाग्दो रूपमा देखिएको बताए। प्रकृतिलाई मान्छेले जित्न खोजेको र सम्मान नगरेका कारण अहिलेको महामारी देखिएको धारणा राख्दै रिसालले प्रकृतिमा अनावश्यक हस्तक्षेपतथा दोहन गर्न नहुने धारणा राखे।

गोष्ठीमा उपस्थित कवि-लेखकहरूले कविता, गजल, गीत, हाइकु, लघु कथा वाचन गरेका थिए। ​वाचित सिर्जनामाथि टिप्पणी गर्दै प्राज्ञ नन्दु उप्रेतीले रचनाहरू शक्तिशाली र सुन्दर भएको बताए।

गोष्ठीका अध्यक्ष राम विनयले अनुभूतिपरक जानकारी दिएका वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसाल, वाचित सिर्जनामाथि आफ्ना विचारसहित चिरफार गरिदिने प्राज्ञ नन्दु उप्रेती र उपस्थित स्रष्टाहरूप्रति आभार व्यक्त गरे। साथै, कोरोना संक्रमित स्रष्टाहरूमा स्वास्थ्यलाभको कामना पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.