|

ओखलढुगा : काठमाडौंलगायत देशका विभिन्न स्थानमा अक्सिजनको हाहाकार भइरहेका बेला ओखलढुंगामा भने अक्सिजनको कुनै दु:ख छैन। दातृ निकायको सहयोगमा संचालित ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) मा आफ्नै अक्सिजन प्लान्ट भएका कारण अक्सिजन अभाव नभएको हो।

अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको तीन वर्ष पुगेको छ। अस्पतालले २०७४ चैतदेखि निरन्तर अक्सिजन उत्पादन गर्दै आएको हो।  

अक्सिजन उत्पादन सुरु भएपछि आकस्मिक कक्षमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई  लाभ पुग्नुका साथै काठमाडौंबाट अक्सिजन ढुवानी गर्नुपर्ने समस्या हटेर गएको छ।

देशमा कोरोना संक्रमित बढ्दै गइरहेका बेला जिल्लामा पनि संक्रमितको संख्या दैनिक बढि रहेको छ। यस्तो अवस्थामा अस्पतालले जिल्लाभित्रका अस्पताल र आसपासका जिल्लामा अक्सिजन उपलब्ध गराउँदै आएको अस्पतालका प्रमुख युवराज आचार्यले बताए। हाल दैनिक ३६ लिटरका ८ सिलिण्डर अक्सिजन उत्पादन भई रहेको पनि उनले बताए। आफूहरुको पहिलो प्रथामिकता अस्पताल र जिल्लाभित्र रहेका अस्पताल रहेको उनको भनाइ छ।

अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाल ओखलढुंगा जिल्ला अस्पताल, सोलुखुम्बु र खोटाङमा उपलब्ध गराउँदै आएको आचार्यको भनाइ छ। हाल ओखलढुंगा सामुदायिक अस्पतालमा आपतकालीन सेवा, शल्यक्रिया र वार्डहरुमा प्लान्टबाट सिधै बिरामीलाई अक्सिजन उपलब्ध गराइएको छ।

कोभिडको बढ्दो जोखिम रहिरहेको अवस्थामा जिल्लामा अहिले सामुदायिक अस्पतालको प्लान्टबाट उत्पादित अक्सिजन पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीको भनाइ छ  

नेपाल सरकार र नोरमिसन नामक विदेशी संस्थाको लगानीमा अस्पतालले तीन वर्ष अघिदेखि अक्सिजन उत्पादन सुरु गरेको थियो। हाल उत्पादित अक्सिजन अस्पतालमै र आसपासका अस्पतालमा उपलब्ध गराइने गरेको अस्पताल स्रोतले जनाएको छ। पछिल्लो समय अन्य अस्पतालले माग गरिरहेका र आफूहरुले अक्सिजन आपूर्ति गरिरहेको छ। यो अस्पतालमा छिमेकी जिल्ला रामेछाप, सिन्धुली, उदयपुर र सोलुखुम्बु र खोटाङसम्मका बिरामी उपचारका लागि आउने गरेका छन्।

कुल १ करोड ४ लाख रुपैयाँ लागतमा अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रले हाल २४ घण्टामा ८ जम्बो सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.