|

पाल्पा : स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अक्सिजनयुक्त १६ शैयाको आइसोलेसन तयार भएको छ। गाउँपालिका–७ मिर्मिमा कोरोना अस्पताल नै स्थापना गरिएको छ।

आइसोलेसनमा बिरामीले उपचार सेवा लिइरहेका छन्। कोरोना संक्रमितको उपचारको लागि एक जना एमविविएस डाक्टरसहित दुई जना स्टाफ नर्स छन्। उनीहरू २४ सै घण्टा संक्रमितको उपचारमा खटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

आवश्यकता अनुसार कोरोना अस्पतालमा रहेको आइसोलेसनमा ५० शैया पुर्‍याइने उनले बताए। कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट नै विनियोजन गरिएको छ।

विपद्को लागि ३० लाख बजेट विनियोजन गरिएको छ। यो बजेट पनि कोरोना रोकथाममा खर्च गर्न सकिने उनले बताए। यहाँ अहिले १८ थान अक्सिजनयुक्त सिलिण्डर छन्।

थप अक्सिजनयुक्त सिलिण्डर ल्याउने पहल भइरहेको छ। उनका अनुसार यहाँ छातिको एक्सरे गर्न मिल्ने डिजिटल एक्सरे मेसिनको समेत व्यवस्था छ। निमोनिया भए नभएको यही परीक्षण गर्न सकिने उनले बताए। 

कोरोना संक्रमितको निःशुल्क उपचार

यहाँ स्थापना गरिएको आइसोलेसनमा गाउँपालिका भित्र रहेका कोरोना संक्रमितको निःशुल्क उपचार हुने छ। गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा भर्ना भएका संक्रमितको मात्र निःशुल्क उपचार हुने मेयर थापाले बताए।

होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे दैनिक जानकारी लिने काम भइरहेको छ। स्वास्थ्यकर्मी घरघरमै पुगेर संक्रमितको अवस्था परीक्षण गर्ने र आवश्यकता अनुसार उपलब्ध औषधि निःशुल्क वितरण गर्दै आएको थापाले बताए।

‘सामान्य अवस्था संक्रमितलाई सुरक्षित भई घरमै आइसोलेसनमा बस्न भनेका छौं र त्यहीँ पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको छ’ उनले भने,‘लक्षण देखिएका संक्रमितको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।’

उपचारको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने छ। यहाँबाट रेफर भइ अन्य स्वास्थ्य संस्थामा उपचार गराएको खर्च भने स्वयं नै बेहोर्नु पर्नेछ। यस्तै संक्रमितबारे सुचना दिन गाउँपालिकाले शिक्षक परिचालन गरेको छ।

संक्रमितले के गरिरहेका छन्। अन्य थप कोही बिरामी परेका छन कि छैन भन्नेबारे स्थानीय शिक्षकले जानकारी गराउने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.