अक्सिजन प्लान्टका लागि व्यवसायी चौधरीद्वारा २० लाख सहयोग

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि अक्सिजन व्यवस्थापनलाई जोड दिइएको छ।

प्रदेशमा स्थानीय तह र निजी क्षेत्रबाट अक्सिजन प्लान्ट जडान र अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि विभिन्न अभियान चलाइएको छ।

प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापनलगायत कोभिड–१९ को नियन्त्रणका लागि मेयर कल्याणकारी कोष नै स्थापना गरेको छ।

कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरिएको मेयर नृपबहादुर वडले बताए। कोष स्थापना गरिएको तीन दिनको अवधीमा मात्रै साँढे कोषमा ३१ लाख जम्मा भएको छ। 

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्न दातृ निकाय, सहयोगी दाता, संघ संस्था, उद्योगी, व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन्।

अक्सिजन प्लान्टका लागि व्यवसायी चौधरीद्वारा २० लाख सहयोग

कल्याणकारी कोष अभियानअन्तरगत अक्सिजन प्लान्ट स्थापना गर्न धनगढीका व्यवसायी सञ्जयकुमार चौधरीले सहयोग गरेका छन्। मेयर कल्याणकारी कोषमा चौधरी बुक डिपोका सञ्चालक चौधरीले २० लाख रकम सहयोग गरेको उपमहानगरपालिकाका आन्तरिक लेखा अधिकृत लेखनाथ ओझाले बताए। 

कांग्रेस नेतृ देउवाद्वारा १० लाख सहयोग

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि कांग्रेस नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छन्। मेयर कल्याणकारी कोषमा उनले रकम जम्मा गरेकी हुन्। 

रोटरी क्लब धनगढीको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान

सुदूरपश्चिममा अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान सुरु गरेको छ। सो अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ। संस्थाले रोटरी १० लाख आर्थिक सहयोग गरेको हो।

संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले भने, ‘कोरोना सङ्क्रमितको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिएको हो।’ कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ।

यस्तै धनगढीकै दिनेश फाउण्डेशनका प्रमुख श्याम हमालले रोटरी क्लबले चलाएको उक्त अभियानमा आर्थिक सहयोग गरेका छन्। उनले ५ लाख सहयोग गरेका हुन्। 

ह्युमानिटी फाउण्डेसनद्धारा निःशुल्क अक्सिजन अभियान

धनगढीमै निःशुल्क अक्सिजन अभियान पनि सञ्चालन भइरहेको छ। ह्युमानिटी फाउण्डेसन नेपालले उक्त अभियान सञ्चालन गरिरहेको हो। फाउण्डेसनले अक्सिजनको अभाव झेलिरहेका संक्रमितको जीवन रक्षाका लागि थालेको निःशुल्क अक्सिजन अभियानमा विभिन्न क्षेत्रबाट सहयोग संकलन भइरहेको फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले जानकारी दिए।

ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा निशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.