|

काठमाडाैं : ३७ औं खेलमा घरेलु मैदान क्याम्प नोउमा सेल्टा भिगोसँग पराजित हुँद‍ा बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्रामा पूर्णविराम लागेको छ।

खेलको अन्त्यतिर १० खेलाडीमा सीमित बार्सिलोनाले यो सिजन लिगको तेस्रो स्थानमा चित्त बुझाएको छ। बार्सिलोनाका फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेगलेन्ट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। 

अधिकांश नियमित खेलाडी भए पनि बार्सिलोनाले हार टार्न सकेन। उसका लागि कप्तान लियोनल मेस्सीले खेलको २८ औं मिनेटमा हेडमार्फत सहज गोल गरे पनि कमजोर डिफेन्सका कारण ३८ औं मिनेटमा गोल खान पुग्यो।  

सेल्टाका सान्टी मिनाले डिबक्स बाहिरबाट क्रस बार च्यापेर गरेको शक्तिशाली प्रहार बार्सिलोनाका गोल रक्षक आन्द्रे टेर स्टेगनले पत्तै पाउन सकेनन्। आजको खेलमा शानदार प्रदर्शन गरेका मिनाले निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा दोस्रो गोल गर्न सफल भए। 

खेल अवधिभर अधिकांश समय बल नियन्त्रणमा लिए पनि बार्सिलोनाका खेलाडीमा आपसी तालमेल अभाव भएको देखिएको थियो। बार्सिलोनासँग ३७ खेलपछि ७ वटा हार र ७ वटै बराबरी गर्दै ७६ अंक छ। उसले यो सिजन खराब इतिहास बनाएको छ। लिगमा ८० अंक पनि जोड्न सकेन। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको सेल्टा भिगो भने लिगका पछिल्ला पाँच खेलमा अपराजित छ।

सबै क्लबले ३७ औं खेल टुंग्याए

आज राति लिगका सबै क्लबले ३७ औं खेल टुंग्याएका छन्। आज राति नै भएको खेलमा साविक विजेता रियल मड्रिड भने महत्वपूर्ण जित निकाल्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ। रियलले एथ्लेटिक क्लबलाई उसकै मैदानमा १-० ले हराउन सफल भयो। एथ्लेटिकका राहुल गार्सिया ८९ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। ६८ औं मिनेट नाचोले गरेको एक मात्र गोल रियललाई जित दिलाउन पर्याप्त रह्यो।

त्यस्तै आजै भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले पनि जित निकाल्दै उपाधि यात्रालाई झन् बलियो बनाएको छ। एट्लेटिकोले घरेलु मैदानमा ओसासुनामाथि अप्रत्यासित जित निकाल्न सफल भयो। 

७५ औं मिनेटमा गोल खाएर पछि परेको एट्लेटिकोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल उल्ट्याउन सफल भयो। उसका लागि लेमन रोडीले ८२ औं तथा लुइस स्वारेजले ८८ औं मिनेटमा गोल गरे। 

एट्लटिकोले जितपछि ८३ अंक जोड्न सफल भएको छ। उसलाई लिग उचाल्न रियलले हारिदिए पुग्छ। त्यसैगरी चाैथो स्थानमा रहेको सेभिल्लाले आज भिल्लारियलसँग लज्जास्पद हार बेहोरेको छ। सेभिल्ला ०-४ गोलअन्तरले पराजित भयो।

भिल्लारियलका कार्लोस बाकाले ह्याट्रिक पूरा गरे भने एक गोल जेरार्ड मोनेरोले गरे। सेभिल्लाका डिएगो कार्लोस् ५२ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.