संक्रमित हुने दर पनि निरन्तर ओरालो लाग्दै

|

पर्सा : मध्य तराईको नारायणी अस्पतालबाट उपचार गराइरहेका संक्रमितमध्ये पूर्ण रुपमा निको भएर डिस्चार्ज हुनेको दर ४३ दशमलव ७१ प्रतिशत पुगेको छ।

चैतको अन्तिम साताबाट दोस्रो लहरका संक्रमित नारायणी अस्पतालमा भर्ना हुन थालेका थिए। सोमबारसम्म कुल १ सय ६० जना नारायणी अस्पतालबाट पूर्ण रुपमा निको भएका अस्पतालका सूचना अधिकारी डा सरोज सिंहले भने। 

उपचार गराइरहेका मध्ये ८ भेन्टिलेटरमा 

नारायणीमा सोमबारसहित कुल ३ सय ६६ जना संक्रमित भर्ना भएका छन्। 'तिनीहरूमध्ये १०३ जना अझै अस्पतालमा उपचाररत छन्। उपचार गराइरहेका मध्ये ८ जनालाई भेन्टिलेटररमा राखेर उपचार गरिँदै छ,' उनले भने।

सोमबार आइसियुमा पनि ७५ जना संक्रमितको उपचार भइरहेको छ। नारायणीको एचडियुमा २८ र एचएफएनसीमा पनि २ जनाको उपचार भइरहेको नारायणी अस्पतालले जनाएको छ।

हरेक २४ घण्टामा तथ्यांक सार्वजनिक गर्दै आएको नारायणी अस्पतालको पछिल्लो तथ्यांकअनुसार नारायणीबाट १८ जनालाई भने अन्यत्र रिफर गरिएको डा सिंहले बताए।  

डरलाग्दो मृत्यु दर 

संक्रमितको मृत्युदर भने निकै डरलाग्दो पाइएको हो। अस्पतालमा भर्ना भएकामध्ये २३ दशमलब २२ प्रतिशतको मृत्यु भएको अस्पतालको तथ्यांकमा समावेश छ। 

यत्रो मृत्युदर हुनुमा निजी अस्पतालहरूमा उपचार गराउँदै भेन्टिलेन्टरमा राख्नपर्ने भएपछि नारायणीमा पठाउँदा अन्तिम क्षणमा बिरामीलाई बचाउन नसकिएको डा.सिंहले बताए।

सुरुबाट नै नारायणी अस्पतालमा नै भर्ना भएका एक/दुई जना जनाको मात्र निधन भएको उनले बताए। 

मध्य तराईका बारा, रौतहट, सर्लाही, धनुषासम्मका निजी अस्पताल र होम आइसोलेसनमा राखिएका बिरामी पनि अन्तिम अवस्थामा नारायणीमा आइपुग्ने गरेका छन्।

सोमबार ज्यादै नाजुक अवस्थामा अस्पतालमा आइपुगेका ४ जनालाई बचाउन नसकिएको अस्पतालका सूचना अधिकारीसमेत रहेका डा सिंहले बताए।

संक्रमित फेला पर्ने दर ओरालो लाग्दै

अस्पतालमा कोरोना परीक्षण गराउन आएका मध्ये ७८ प्रतिशतसम्म संक्रमित फेला पर्ने दरमा भने केही गिरावट आउन थालेको छ।

तीन दिनदेखि लगातार संक्रमित दल घट्न थालेको हो। पर्सामा एकै दिन २ सय ८८ जनाको परीक्षण गराउँदा २ सय २४ जनासम्म संक्रमित फेला परेका थिए। स्वास्थ्य प्रयोगशालामा सोमबार भने २ सय ८८ जनामा नै १ सय २४ जनामा मात्र संक्रमण पुष्टि भएको छ।

यो दर परीक्षण गराएका मध्ये ४३ दशमलव शून्य ५ प्रतिशत हो। आइतबार, शनिबार र शुक्रबार पनि संक्रमित फेला पर्ने दर ५० प्रतिशत नकटेको डा सिंहले बताए।

'अझै दुई हप्ता निषेधाज्ञा बढाउनुपर्छ'

अझ जेठ १५–२० गतेसम्म निषेधाज्ञा बढाउने हो भने पर्सामा संक्रमित फेला पर्ने दर कम हुन सक्ने डा सिंहको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.