|

जुम्ला : चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेसन नहुँदा यहाँका कोरोना संक्रमित घरमा नै बस्न बाध्य छन्। घरमा बस्दा स्वास्थ्य मापदण्ड पूरा गर्न गाह्रो हुने भएकाले संस्थागत आइसोलेसन निर्माण गर्न संक्रमितहरुले नगरपालिकालाई आग्रह गरिरहेका छन्।

तर, नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल भने कोसेली बोकेर संक्रमितको घरघर पुगिरहेकी छन्। आफ्नो घर आएकी नगरप्रमुखलाई संक्रमितहरुले कोसेलीभन्दा पनि संस्थागत आइसोलेसन आवश्यक रहेको बताउँदै आएका छन्।

होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा संक्रमण तीव्र गतिमा बढेको स्वास्थ्यकर्मीहरुले बताउँछन्। यस्तै, होम आइसोलेसनमा बसेका कतिपय संक्रमितहरु एक ठाउँबाट अर्काे ठाउँमा निर्बाधरुपमा जाने गरेको स्थानीयको गुनासो छ। 

कोरोनाका संक्रमित बढ्दै गए पनि चन्दननाथ नगरपालिकाले संस्थागत आइसोलेसन बनाएको छैन। नगरपालिकामा अहिलेसम्म ९१ जना संक्रमित छन्। जिल्लाकै धेरै जनसंख्या भएको नगरपालिकामा संक्रमित घरघरमै बस्दा अवस्था भयभह आएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

आठ स्थानीय तह रहेको जुम्लाको स्थानीय तहहरुमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी संक्रमित छन्। नगरपालिकाले समयमै आइसोलेसन बनाएर संक्रमितलाई व्यवस्थापन गरेको अहिले जतिको संक्रमण नफैलिने महतको दाबी छ। त्यसैले अहिले कोसेलीभन्दा आइसोलेसनको आवश्यकता भएको उनको भनाइ छ।

‘मेयर साब, अहिले हामीलाई कोसेली होइन, आइसोलेसन आवश्यक छ,’ महतले भने, ‘जनता बचाउन सके कोसेली बाँढ्ने दिन त छँदैछ।’ उनले स्थानीय सरकार होम आइसोलेनमा बसेका संक्रमितप्रति संवेदनशील हुनुपर्ने र स्वास्थ्यकर्मीको निगरानीमा हुनु पर्ने बताए।

जिल्ला कोरोना–१९ संकट व्यवस्थापन समितिले यहाँका सातवटै स्थानीयलाई ५०÷५० शय्याको आइसोलेसन र ५÷५ शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ। तर, चन्दननाथ नगरपालिकाकी प्रमुख सेजुवालले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र संघीय सरकारले बजेट नदिएकाले आइसोलेसन कक्षा नबनाउने बताउँदै आएकी छन्। चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ भनेर बजेट नदिने गरेको उनको गुनासो छ। बजेटबिना आफूहरुले आइसोलेसन बनाउन नसक्ने उनको भनाइ छ।

नगरप्रमुख सेजुवालले आइसोलेसन बनाउने बजेट नभएको बताउँदै आए पनि होम आइसोलेसनमा बसेका संक्रमितलाई पोषणयुक्त आहरा ‘कोसेली’ भन्दै वितरण गर्दै आएकी छन्। नगरप्रमुखको यो कार्य देखेपछि स्थानीयले ‘आइसोलेसन बनाउने बजेट नभए पनि कोसेली वितरण गर्ने बजेट त रहेछ’ भनी आलोचना गर्दै आएका छन्। 

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जव अलि  मनियारले संघको भवनमा आइसोलेसन बनाउन दिने निर्णय भए पनि सरोकारवाला निकाय नआएको बताए। ‘आइसोलेसन बनाउनका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, स्थानीय प्रशासन र चन्दनाथ नगरपालिकालाई जानकारी दिएका छौं,’ उनले भने ‘तर, अहिलेसम्म आइसोलेसन  बनाउन नगरपालिका आएको  छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.