पत्रको खुलासा पत्र

|

काठमाडाैं : आन्तरिक विवादका कारण फुटको डिलैमा पुगेको जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच ८ बुँदे सहमति भयो।

त्यसले पार्टीको एकता कायम राख्ने आशा नेता तथा कार्यकर्तामा देखिएको थियो। केही दिनयता लगातारको छलफलपछि अध्यक्षद्वय ठाकुर र यादवले अन्ततः पार्टीमा देखिएको विमतिलाई थाती राख्दै एकतालाई मजबुत बनाउने निष्कर्षसहित सहमति गरे।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै जसपा वर्तमान सरकारमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराए। उनीहरूले बरु आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आए सोहीअनुसार प्रक्रिया थाल्ने बताएका थिए।

यस्तै पार्टीभित्रका गतिविधि पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणालीअनुरूप हुनेलगायत सहमतिमा उनीहरू पुगेका थिए। यसका साथै अध्यक्षद्वयबीच राजेन्द्र महतोको संसदीय दलको नेतामा चयन गरिएको भन्ने कुरामा पद खारेज गर्ने सहमति भएको भनिएको थियो।

तर त्यसको केही घण्टापछि दुई अध्यक्षबीचको सहमतिलाई नै चुनौती दिनेगरी अध्यक्ष ठाकुरले महतोलाई संसदीय दलको नेता चयन गरिएको भन्दै संसद सचिवालयमा पत्र दर्ता गरिएको सार्वजनिक भयो। त्यसपछि अध्यक्षबीचको सहमति भाँडिएको विश्लेषण हुन थालेको छ। भने जसपाका नेताहरूले दुई अध्यक्षबीच सहमति भएपछि पनि अर्को पक्षले गुट चलाउन खोजेको आशंका गरेका छन्।

संसद् सचिवालयको भनाइ

संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले पत्र दर्ता भएको थाहाखबरलाई बताए। पत्र दर्ता भएको भए पनि नक्कली भएको भन्दै जसपाका सांसदहरूले रिपोर्ट गरेका उनको भनाइ थियो। प्रवक्ता पाण्डेले सचिवालयमा दर्ता भएको पत्र भोलि महासचिव मनोहर प्रसाद भट्टराईसमक्ष पेस गरेर छलफलको विषय हुने बताए।

पत्रको खुलासा पत्र

ठाकुरले महतोलाई दलको नेता चयन गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको सार्वजनिक भएपछि यादव पक्षले पनि यसअघि जेठ २ गते नै महतोलाई दलको नेता चयन नगरिएको भनी दर्ता भएको पत्र सार्वजनिक भयो।

उक्त पत्रमा दलको विधानसमेत नबनेको अवस्थामा दलको नेता चयन हुन नसक्ने अध्यक्ष यादवको दाबी छ। जसपाले यही जेठ ८ र ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

तेस्रो पक्षले पनि गुट चलाएको आशंका

उनीहरूले पार्टी एकताबाट सलबलाएकाले यस्तो फर्जी काम गरेको आरोप लगाएका छन्। यादवपक्षीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्षबीच भएको सहमतिविपरीत महतोलाई दलको नेता भएको जानकारी गराउने कार्य अर्को पक्षबाट भएको दाबी गरे।

थाहाखबरसँग कुरा गर्दै उनले फटाहा–दलालहरूले पार्टीको एकता कायम राख्न प्रयास हुँदाहुँदै दलको बैठकबाट निर्णय भएको भन्दै संघीय संसद सचिवालयलाई जानकारी गराउने कार्य एकता भाँड्ने नियत भएको बताए।

‘अध्यक्ष ठाकुरले १ गते पत्र तयार पार्नुभएको हो। १ गतेको पत्रलाई टिपेक्स लगाएर ४ गते बनाई अन्य मान्छेहरू गएर दर्ता गराए,’ उनले भने, ‘अध्यक्षहरूको विज्ञप्ति सार्वजनिक भएपछि त्यसलाई विवादित बनाउने षड्यन्त्र गरेका हुन्। हामीलाई लाग्दैन महन्थजीले त्यस्तो गर्नुहुन्छ।’

यस विषयमा पार्टीले छानबिन गर्ने उनको भनाइ छ। उनले राजेन्द्र महतो नै दलको नेता भए पनि पार्टीको विधान कार्यकारणी समितिबाट अनुमोदन भएर प्रक्रियाअनुरुप हुनुपर्नेमा जोड दिए।

अर्का नेता रामसहाय प्रसाद यादवले महतोलाई दलको नेता चयन गरिएको भन्ने पत्र नै फर्जी भएको बताए। उनले कम्युटरबाट प्रिन्ट गरिएको मितिलाई केरमेट गरी आजको मिति राखेर फर्जी काम गरिएको बताए।

पार्टी एकतालाई भाँड्न खोज्ने तत्व पार्टीभित्र र बाहिर रहेको उल्लेख गर्दै उनीहरूलाई अध्यक्षबीच भएको सम्झौताले कडा जवाफ गएको उनले तर्क गरे। यादवले पार्टीभित्रमा भएका त्यसखाले प्रवृत्ति भएको व्यक्तिलाई कारबाही हुने चेतावनी दिए।

उनले भने, 'मैले तेस्रो पक्षको कुरा गरेको होइन, कुनै व्यक्ति विशेष होला। बाहिरी तत्व पनि होला। यादवले भने, ‘त्यस्ता तत्व यो संयुक्त विज्ञप्तिबाट नै सावधान हुनुपर्छ।’ उनले अध्यक्षबीचको सहमति कायम नै रहेको र कुनै पनि हालतमा पार्टी विभाजन नहुने जिकिर पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.