|

दाङ : जिल्लामा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि गत वैशाख १७ गतेदेखि २५ गते सम्म 'लकडाउन' लगाइएको छ।

त्यसपछि फेरि कोरोनाको अवस्था अझ बढ्दै गएपछि २५ गतेदेखि जेठ १ गतेसम्म लकडाउन थप गरियो। त्यस समयमा जिल्लाका बजारमा अतिआवश्यक दैनिक उपभोग्य सामानहरू खरिद तथा बिक्रि गर्न दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरू खोल्न दिने निर्णय भएको थियो।

फेरि जिल्लामा जेठ १ गतेदेखि १५ गतेसम्म लकडाउन गर्ने निर्णय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले निर्णय गरेको थियो। दैनिक बिहान मानिस सामान किन्ने बहानामा बजारमा आउने र भीडभाड बढ्दा जोखिम धेरै हुन थालेपछि बैठकले हप्ताको २ दिन (आइतबार र बुधबार) बिहान ७ देखि ८ बजेसम्म मात्र पसल सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यो पनि अतिआवश्यक वस्तु खरिद बिक्री गर्न। 

जसले बजारमा हप्तामा २ दिन मानिसको भीडभाड हुन थालेको छ। बुधबार जिल्लामा लकडाउन भएको २१ दिन औँ भइसकेको छ। तर बजारमा किनमेल गर्ने बाहानामा मानिसहरूको भीडभाडले कोरोनाको जोखिम उच्च रहेको स्थानीय बताउँछन्।

खाद्यान्न र किरानाका पसलहरूमा किनमेल गर्न आउनेहरूले भौतिक दूरीसमेत पालना गरेको देखिँदैन। बजारमा फुटपाथमा हुने व्यापारले त झनै मानिसको धेरे भीडभाड हुने गरेको तुलसीपुर-६ का नवीन वलीले बताए।

आम मानिसहरू स्वास्थ्य मापदण्ड नै पालना नगरेका उनले बताए। भने,‘ प्रशासनले हप्तामा २ दिन मात्र एक घण्टा खोल्ने निर्णय गरेको छ। त्यो पनि बिहान ७ देखि ८ बजेसम्म मात्र। तर, बिहान ४ बजे नै मानिसको भीडभाड धेरै हुने गर्दछ।'

त्यस्तै अर्का तुलसीपुर ६ का प्रकाश केसीले पनि तुलसीपुरको सबैभन्दा बढी बाहिनी चोकमा भीडभाड हुने गरेको बताए। सडक वरपर खुला रुपमा तरकारी फलफूलहरू बिक्री वितरण गर्ने गर्दा मानिसको भीडभाड हुने गरेको बताए। जिल्लामा सबैभन्दा बढी तुलसीपुरमा नै संक्रमित छन्। 

जिल्लामा अहिले बारअनुसार दैनिक २ घण्टा बैंकहरू सञ्चालन हुँदा भीडभाड बढेको छ। बारअनुसार बैंकहरूले बिहान ११ बजेदेखि १ बजेसम्म सेवा दिँदै आएको छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.