१५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

|
डडेल्धुरा बजार ।

डडेल्धुरा : डडेल्धुरा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदै गएसँगै जिल्ला कोरोनाको ‘हटस्पट’ बन्दै गएको हो।

जिल्लामा दिनहुँ संक्रमित हुनेको संख्या बढ्दै गएको छ। दोस्रो चरणमा बुधबारसम्म ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये दोस्रो चरणमा ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

हाल जिल्लामा पाँच सय ३० जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार दोस्रो चरणमा १६६ जना निको भएका छन्। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा मात्रै सबैभन्दा बढी २७७ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, परशुराम नगरपालिकामा ९० जना, अजयमेरु गाउँपालिकामा ८५, नवदुर्गामा ३१, आलितालमा २४, गन्यापधुरामा १३ र भागेश्वर गाउँपालिकामा १० जना सक्रिय संक्रमित रहेका कोभिड–१९ सम्पर्क व्यक्ति भट्टले जानकारी दिए।

उनका अनुसमार पहिलो र दोस्रो चरण गरी जिल्लामा १३ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। अमर गढीका ४, परशुरामका ३, आलिताल र नवदुर्गाका २–२ तथा अजयमेरु र भागेश्वरका १–१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। 

जिल्लामा समुदायस्तरमै समेत कोरोना फैलिएको आशंका गरिएको छ। भारतबाट आएका नागरिकलाई चेकजाँच नगरी सिधै घर पठाउँदा संक्रमण तीव्र फैलिएको हो। यसका साथै कोरोना परीक्षण रिपोर्ट पनि एक साता पछि आउने गरेका कारणले पनि संक्रमणदर बढ्दै गएको बताइएको छ।

संक्रमित बढेसँगै १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई थप कडाइ गरेको छ। कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निषेधाज्ञालाई थप कडाइ गरेको हो।

प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई फेरि ११ दिन लम्ब्याएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

प्रशासनले जिल्लामा यो दोस्रो पटक निषेधाज्ञा थपेको हो। यसअघि बैशाख २५ देखि जेठ ४ गतेसम्म निषेधाज्ञा लम्ब्याएको थियो।

विश्वभर फैलिएको नयाँ भेरियन्टयुक्त कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै ४ देखि जेठ १५ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

लकडाउन थप कडाइ गर्दै खाद्य सामग्रीका पसलहरू अब तीन दिन मात्र खुल्ने भएका छन्। अमरगढी नगरपालिकाको हकमा अब मात्र हातमा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने भएको हो। अन्य पालिकाको हकमा भने बैशाख २४ गते जारी गरिएको आदेश नै लागू हुनेछ।

त्यसअघि प्रशासनले अमरगढी नगरलगायत अन्य पालिकहरूमा हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न मिल्ने आदेश जारी गरेको थियो।

यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले कडाइ गरेको छ। अमरगढी नगरमा रहेका सबै वित्तीय तथा सहकारी संघसंस्थाहरू अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए।

अब अमरगढी नगरपालिकामा रहेका बैंकहरू सातामा तीन मात्र खुल्ने छन्। आइतबार, मंगलबार र बिहीबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन्। अन्य पालिकाको हकमा भने बैशाख २४ गते जारी गरिएको आदेश लागू हुनेछ।

हाललाई अमरगढी नगरपालिकाभित्र व्यक्तिगत घर निर्माणजन्य कार्यहरू बन्द गर्ने निर्णय पनि डीसीएमसीले गरेको छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।

यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.