कोरोना संक्रमितको उपचारका लागि विभिन्न जिल्लामा प्रतिष्ठानका स्वास्थ्यकर्मी
कोरोना संक्रमितको उपचारका लागि विभिन्न जिल्लामा प्रतिष्ठानका स्वास्थ्यकर्मी
जुम्ला : दोस्रो लहरको कोरोना संक्रमणले कर्णाली प्रदेशलाई पनि नराम्ररी असर पुर्याएको छ। यो संकटका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नागरिकका लागि भरोसाको केन्द्र भएको छ।
कोरोनाको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठानमा विभिन्न जिल्लाहरुमा चिकित्सकहरु खटाएको छ। महामारीबीच नै प्रतिष्ठानले छाती रोग, स्नायु रोग, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको छ।
कोरोना रोकथाम तथा संक्रमितको उपचारका लािग प्रतिष्ठानले मुगु, कालीकोट, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र बाँके जिल्लामा चिकित्सकहरु खटाएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए। जुम्लाका सबै स्थानीय तहमा चिकित्सकहरु खटाइएको छ। कोरोनाविरुद्धको लडाइँमा प्रतिष्ठानबाट करिब दुई दर्जन जनशक्ति परिचालन भएको डा. भट्टराईले बताए।
‘मुगुमा सहायक प्रध्यापक डा. सिद्धार्थध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन्। कालीकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा. सुबी बस्न्यात, हुम्लामा सहायक प्रध्यापक डा. माणिक न्यौपाने र ओटी सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिषेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन्,’ डा भट्टराईले भने, ‘पश्चिम रुकुममा सहप्रध्यापक डा. अनुप मंगल समाल र लेक्चर शीला थापा खटिएका छन्। बाँकेमा सहप्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ। प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एकजना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ।’
पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरेको प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल सावित गर्न कसरत गरिरहेको प्रवक्ता भट्टराई बताउँछन्। उनले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नराख्ने बताए।
प्रतिष्ठानको अस्पतालमा १२ शय्याको आइसियु, २४ शय्याको एचडियु र सामान्य ८४ शय्या गरी १२० शय्या कोरोना उपचारका लागि छुट्याइएको अस्पताल निर्देशक डा. राजिव शाहले जानकारी दिए। हाल अक्सिजन प्लान्टबाट र ११० वटा सिलिण्डरबाट अक्जिसनको व्यवस्था गरिएको उनले बताए।
‘बिरामीको चाप बढ्दो क्रममा छ। प्रदेश सरकारसँग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ। केन्द्र सरकारसँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरी अक्सिजनको व्यवस्थापन गर्न लागिपरेका छौं,’ उनले भने, ‘प्रतिष्ठानले पिसिआर जाँच, गाउँगाउँमा चिकित्सक खटाएको छ। ढुक्क भएर उपचार गर्ने बातावरण सिर्जना हुँदैछ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।