|

जीवन उसले चाहे अनुसारको नै होस्, कुनै प्रतिकूलता नआओस् भन्ने मानिसको स्वभाव नै हो। सरसर्ती हेर्दा त यो स्वाभाविक नै लाग्छ। 

आफूले मिहिनेत गरेर आफूखुसी सुखको जीवन बाचौँ। जीवन छ र नै जीवनमा प्रतिकूलता र अनुकूलन आइरहन्छन्। अनुकूलन र प्रतिकूलताको सङ्‌गम नै जीवन हो। 

सन् २०१९ डिसेम्बरदेखि कोरोना महामारीले विश्वभरका मानिसलाई आतङ्‌कित बनाएको छ। आतङ्‌कित हुनुभन्दा पनि सचेत र संयम हुने पाठ सिक्न सक्ने हो भने यो सहज लाग्नेछ र सचेत बन्न प्रेरित गर्दछ। अन्यथा, जीवनप्रति गुनासो मात्रै बाँकी रहन्छ।

आत्मज्ञान पाइसकेका सन्तहरू आफ्नो अनुभूतिको आधारमा भन्ने गर्दछन्-तिमीहरूले जीवनमा पाएको उपहारको गणना गर, नपाएको चिज र समस्याको मात्र होइन। तर, मानिसको स्वभाव-पाएको चिज भुल्छ, जे छैन-त्यसप्रति गुनासो मात्र व्यक्त गर्दछ। पाएको चिजप्रति धन्यवादसम्म व्यक्त हुँदैन। 

मेरो जीवनबाट यो क्षण, यो समय, यो व्यक्ति, त्यो चिज, त्यो सम्मान, त्यो फाइदा फुत्कियो भन्नेमात्र याद हुन्छ। आउनुस् त याद गरौँ एकपटक-ती चिज र ती समयमा प्रतिकूलता नआएको भए आज तपाईं यो स्थानमा हुनुहुन्थ्यो?

आफ्नो जीवनलाई एकपटक पछि फर्केर हेरौं-ती चिज छुटेको, नपाएको, बिग्रेको, असफल भएको कारण आजको वर्तमान जीवन छ। जीवनको सानो घटनाले कालान्तरमा ठूलो परिवर्तन ल्याउँछ, यसलाई बटरफ्लाई इफेक्ट पनि भनिन्छ। 

जीवनको रोजाइ 

मानिस आफ्नो जीवनलाई अरूको जीवनसँग तुलना गर्छ। कसैको जीवनमा सुख, सम्पन्नता देख्दा लाग्छ म त्यो परिवारमा अर्थात् त्यो देशमा किन जन्म लिइन होला? किनकी, यो नै जीवनको रहस्य हो। 

कुन परिवारमा, कुन कोखमा, कुन देशमा जन्म लिने त्यो तिम्रो रोजाइमा छैन। यो रोजाइ अस्तित्वको हो। जब अस्तित्वको रोजाइबाट जीवन मिलेको छ, जीवन आफूले चाहेर पाइन्न भन्ने थाहा छ भने-जीवनमा आउने परिवर्तन, परिस्थितिमा आउने परिवर्तन र समय कालचक्रमा आउने परिवर्तनलाई स्वीकार्न मानिसलाई किन गाह्रो?

महामारीमा पनि हामीलाई जीवन बाँच्नपाए हुन्थ्यो, असहजता नपरे हुन्थ्यो भन्ने लाग्या'छ किन? किनकी जीवनप्रति हामीलाई प्रेम छ। जीवनप्रति प्रेम छ भने खुलेर बाँच्न पनि जान्नुपर्दछ। जीवनको लागि बाँच्नु या जीवन बाँच्नुमा कुनै अंक गणितले काम गर्दैन। जतिबेला जे थियो-त्यो ठीक हुनकै लागि थियो। 

गीतामा उल्लेख हुने श्लोक-'जे भयो राम्रै भयो, जे छ राम्रै छ र जे हुनेछ राम्रै हुनेछ' को मर्म पनि त त्यही हो। आत्मिक ज्ञानबाट प्राप्त बोधपूर्ण सन्देशहरू जीवनका कालखण्डमा प्रमाणिक भएर आउने गर्दछन्। त्यसैले के वा किन भन्ने प्रश्न नगरी जीवनमा जस्तो परिस्थिति आउँछ-त्योसँग सहज हुनसक्नु आफ्नो रोजाइ हो। 

महामारीकै अवधिमा अब त धेरै ज्ञात भइसकेको हुनुपर्दछ कि-अस्तित्वको अगाडी विज्ञानको भविष्यवाणीले पनि काम गर्दो रहेनछ। विज्ञानले गणना गरेको समय र भौतिक विकासको मापन अगाडि स्तब्ध हुँदै, टक्क रोकिएर जीवनतिर फर्किनुपर्ने भएको छ। 

जीवनमा कस्तो परिस्थिति आयो र मैले त्यो परिस्थितिलाई रोजेँ या त्यो परिस्थितिमा मैले के चिजलाई सम्झौता गरेँ जस्ता धेरै कारणहरूले आज जीवनप्रति गुनासो गर्नेहरूले बुझ्नुपर्ने कुरा चाहिं-ती सबै परिस्थितिप्रतिको रोजाइ म सँग थिएन। 

परिस्थिति अनुसारको मेरो मनस्थितिले कसरी काम गर्‍यो र जीवनलाई अगाडि बढायो-त्यो मेरो रोजाइ थियो। त्यही रोजाइको कारण आज म यहाँ छु, यो बोध भयो भने जीवनको रहस्यप्रति आनन्द लाग्छ। 

जेब्रा क्रसमा ढिलो हुँदा 

याद गर्नुस्-कुनै दिन स्कूल जाने बेलामा बाबाको हात समातेर जेब्रा क्रस गर्न खोज्दा बाटो काट्न ढिला भएर स्कूल पुग्न ५ मिनेट ढिला भएको थियो। अनि, शिक्षकले जाय दिएर आधा घण्टासम्म गेटमै उभ्याए भने यसलाई दु:खको कारण नमान्नु होस। त्यतिखेर एकछिन ढिलो हुँदाको कारण आज तपाईं यहाँ हुनुहुन्छ। 

याद गर्नुस्-कुनै दिन दिक्क लागेर एक कप कफी सकिन नपाउदै अर्को कप कफी पिएर समयसँगै आफूलाई भुलाएको। त्यो समय दिक्कलाग्दो थियो, थप कफीको चुस्कीमा आफ्नो समय बिताउनुभयो। त्यसैले त जीवन आज यहाँ छ। 

फेल भएर क्याम्पसमा अरू साथीभन्दा एक वर्ष पछि पुग्नुभएको थियो। त्यतिबेला लाग्या'थ्यो-ओहो बिग्रियो जीवन, भएँ असफल। तर, त्यही एक वर्ष ढिलो हुनुको कारण आज यहाँ हुनुहुन्छ। 

कुनै दिन लामो यात्राको बस या हवाईजहाज नै छुट्यो होला। त्यतिबेला लाग्यो होला-जीवन नै छुट्यो, नहुनुपर्ने भयो। त्यही छुटेकै कारण आज जीवन यो अवस्थामा छ। 

जीवनमा जसरी खुसीको लहर आउँछ, त्यसरी नै आँधी-तुफान पनि आउनसक्छ। खुसीको तुफान र आँधीको सन्नाटा बोध गर्नसक्ने क्षमता पनि मानिससँगै हुन्छ। त्यसैले जीवन आफैंमा अमूल्य छ। के भए अमूल्य हुन्थ्यो भनेर सोचाइमा बिताउनु समय व्यर्थ खेर फाल्नुमात्र हो। 

खुसी कहाँ हुन्छ?

विडम्बना व्यक्ति आफू खुसी व्यक्ति हो कि होइन-त्यो पनि व्यक्ति अरूलाई दाँजेरमात्र भन्न सक्छ। आफ्नो खुसी कहाँ मिल्छ-त्यो पनि मानिसले अरूलाई तुलना गरेर हेरेको हुन्छ। 

आफूसँग जे सम्पदा उपलब्ध छ-खुसी त्यही छ भन्ने मानिसले थाहा पाएको हुँदैन। अरूसँग के छ र त्यो मसँग किन छैन दुखी हुने कारण यसमै छ। 

नयाँ ब्रान्डको रोल्स रोयस कार चढिरहेको व्यक्तिले फेसबुकमा देख्छ-उसको साथीले निजी जेट किनेको रहेछ। उसको रोल्स रोयसले उसलाई खुसी दिन सकेन। छेउमा रहेको साथीलाई भन्यो- 'सायद मेरो पनि निजी जेट हुँदो हो त कति खुसी लाग्थ्यो होला है? म त कल्पना पनि गर्न सक्दिन मसँग जेट होस् अनि मेरो जीवन पनि खुसी होस्।'

साथीले भन्यो- 'ऊ त्यो सडकको छेउमा हेर त पुरानो कारको पाङ्ग्रा फुस्केर असिनपसिन हुँदै टायर मर्मत गरिरहेको व्यक्ति! त्यसैले तिमी आफ्नो साधनप्रति धन्यवाद व्यक्त गर।' 

अनि उसलाई हो जस्तै लाग्यो। बिग्रेको कार बनाउँदै गरेको व्यक्तिले रोल्स रोयसमा जाँदै गरेको व्यक्ति देख्दा 'ओहो! यो व्यक्तिजस्तो खुसी को होला' कल्पना गर्दै थियो, बस छुटेर दिक्क मान्दै गरेकी आफ्नी साथी रिकालाई देख्यो। 'किन दिक्क मानेकी?' उनले भनिन्, 'मेरो बस छुट्यो।' 

वास्तवमै दैनिक दौडादौड गरेर बस भेट्नुभन्दा त आफ्नै पुरानो कार किन नहोस्‌, सहजता यसमै छ-उसले महसुस गर्‍यो।

साइकलमा दौडिँदै आइरहेको अभयले रिकालाई भेट्यो। भन्यो, 'बस आउँदै छ तिम्रो? हेर न म त दैनिक १६ किलो मिटर साइकलमै कलेज आउने-जाने गर्छु। बसमा दैनिक यात्रा गर्ने पैसा पुग्दैन मलाई।'

रिकालाई लाग्यो बसमा यात्रा गर्न पाउनु पनि नराम्रो होइन रहेछ। 

अभयको साइकल बाटोमा बिग्रियो, टाउकोमा हात राख्दै उसले भन्यो- जीवनमा कति दु:ख लेखेको रहेछ मलाई। छेउबाटै ह्वीलचेयर गुडाउँदै आएकी एक वृद्ध आमाले अभयतिर फर्केर भनिन्, 'बाबु साइकल बिग्रेर के दिक्क मानेको! हेर त मलाई, मेरो त खुट्टा नै छैन, खुट्टा भएको भए त म हिँडेर जान्थेँ।'

अभयको आँखा खुल्यो। उसले सोध्यो, 'आमा तपाईं कसरी यती धेरै खुसी हुनुहुन्छ?' आमाले भन्नुभयो, 'बाबु जीवनलाई धेरै भोगेँ, खुट्टा गुमाउनु अघि मसँग सबै चिज थियो। तर खुसी थिइनँ, भएका चिजसँग पूर्णता मिलेन, मेरो घर, गाडी, परिवार, सम्पन्नताले मलाई कुनै महत्त्व दिएको थिएन। आजकल जब हातखुट्टा नचलेर ओछयानमा पल्टिरहेका व्यक्तिहरू देख्दा लाग्छ-कम्तिमा मेरा हातहरू ठीक छन् र आफैँ ह्वीलचियर गुडाएर हिँड्नसकेकी छु। त्यसैले जे छैन-त्यसको लागि गुनासो रोज्ने होइन कि जे छ-त्यसमा खुसी हुनुपर्ने रहेछ बाबु!'

कथा सत्य या असत्य जे भएपनि जीवनका आयाम यिनै हुन्। वस्तु, भूगोल र रंगले होइन-मानवीय स्वभावले खुसीलाई मापन गरेको हुन्छ। 

साधन या साध्य 

कार्यालयमा व्यवसाय प्रगती र आगामी कार्यक्रमबारे व्यापक छलफल चलिरहेको थियो। एकले अर्काका योजना र तर्कलाई आफ्नो बुद्धिमता र अनुभूतिको आधारमा प्रतिक्रिया दिँदै थिए। यत्तिकैमा समय गएको पत्तै भएन, सबै थकित पनि भए भनेर हाकिमले सबैको लागि कफी ल्याउने तयारी गरे। 

कफीपट र कपहरू ल्याएर सबैको अगाडि राखिदिए। कप थरिथरिका थिए-कुनै चाँदीका जलप लगाएका, कुनै सुनौला, कुनै फरक फूल बुट्टाले भरिएका। शुरूमा त सबैले कप रोज्नमा हानथाप गरे। सबैले राम्रो कप रोजेर हातमा लिँदै कफी खन्याएको र कागजको कपलाई त्यहीँ छोडिदिएको देखेर हाकिमलाई आश्चर्य लाग्यो। 

तैपनि उनले सबैलाई सोधे-'कफी कस्तो रहेछ त?' सबैले एक स्वरमा भने- 'सर! कस्तो मीठो कफी बनाएर ल्याइदिनुभयो, धन्यवाद!'

हाकिम हाँसे र भने-'तिमीहरू सबै कप रोज्न जसरी हानथाप गरेका थियौ, आखिर स्वाद त कफीमा थियो-कपमा होइन। तर, किन तिमीहरूलाई कपको रंग, बनोट र सुन्दरताले आकर्षण गर्‍यो होला, याद गर त!' सबै मुखामुख गर्न थाले। 

वास्तवमा सबैको जीवनमा यस्तै भइरहेको हुन्छ, गुणवत्ता कफीमा हुन्छ। हाम्रो जीवन भने कप रोज्दैमा बितिरहेको हुन्छ। बाहिरको साधन हाम्रो सहजताको लागि मात्र काम आउने हो। साध्य अर्थात् आन्तरिक गुणवत्ता अदृश्य हुन्छ। 

खुसी प्रदान गर्ने चिज आन्तरिक सम्पदा हो। कफीको स्वाद कस्तो थियो भनेर सोध्यो भने जवाफ सजिलो हुन्छ-मिठो। तर, कस्तो मीठो भनेर सोधियो भने जवाफ हुन्छ-केवल मुस्कान। किनकी स्वाद अनुभूति हो। त्यसलाई अरू विशेषणले प्रष्ट पार्न खोज्दा असफल भइन्छ। 

त्यसैले, आजको यो निषेधाज्ञा घर बाहिर निस्केर रमाइलो गर्न नमिलेपनि छोराछोरीको साथमा समय बिताउँदा उनीहरूमा भएको नयाँ सीप, गुणवत्ता, स्वाभाव र सृजनशीलतालाई नजिकबाट अनुभूत गर्न पाउँदा कस्तो महसुस हुने रहेछ?

गमलामा फुलेका फूलहरू, तिनका अलग रंग र आकार अनि सुगन्धले कुनै नयाँपन दिनसक्दो रहेछ? घरको छतमाथि बसेर अनन्त फैलिएको आकाश र त्यसमा चम्किएका ताराहरू देख्दा मन-विचार स्थिर हुँदोरहेछ कि?

कार्यालय जाँदा र आउँदा उज्यालोमा देख्न नपाएको आफ्नो निवासलाई प्रेमपूर्ण आँखाले हेर्नु र भोग्नुको आनन्द कस्तो हुने रहेछ? घरमा रहेका आफ्ना वृद्ध बाआमालाई समय छैन भन्दै कार्यालय कुद्ने हामीहरू, उहाँहरूको छेउमा बसेर आफैँ औषधि खुवाउँदाको आनन्द कसरी वर्णन होला र?

नातिनातिना र हजुरआमाको संवाद, छोरा र बाको भलाकुसारी, यी सब कतै छुटिरहेका थिए। समय र परिस्थिति अनुकूल नै हुँदा पनि यो चाहिँ निश्चित छैन कि कुन साथ अन्तिम हुन्छ, कुन रात अन्तिम हुन्छ। त्यसैले हरेक समय, परिस्थिति र क्षण आफैँमा महत्त्वपूर्ण छ। 

प्रत्येक क्षणको आनन्द लिएर बाँचौँ। प्रत्येक क्षणलाई, प्रत्येक व्यक्तिलाई धन्यवाद व्यक्त गर्दै बाँचौँ। जीवनका कुन पलमा कसले सहयोग गर्‍यो, जानेर गर्‍यो या नजानी गर्‍यो। प्रत्यक्ष गर्‍यो या अप्रत्यक्ष गर्‍यो- ती सबै हिसाब छोडौं र बेहिसाब प्रेमपूर्ण भावका साथ जीवन रहस्यलाई बोध गरौँ। 

कठिनपूर्ण ज्ञान र बुद्धिमत्ताको परिचयले अहिले काम गर्दैन। सरल, सहज, सरस र सकारात्मक ऊर्जालाई प्रस्फुट हुन दिऔँ। अन्यथा विवेक बिनाको शास्त्र ​नेत्रविहीन व्यक्तिको लागि ऐना जस्तै बन्नेछ। 

यस्य नास्ती स्वयं प्रज्ञा, शास्त्रं तस्य करोती किं। 
लोचनाभ्याम विहीनस्य, दर्पणस्किं करिष्यति।।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.