|

डडेल्धुरा : विवाहमा भएको भिडभाडले डडेल्धुराको अमरगढी–३ चम्साल गाउँमा कोरोना संक्रमण फैलिएको छ। विवाहमा सहभागी भएकामध्ये चार जनामा कोरोना पुष्टि भएको छ।

गाउँमा विवाह भएकोले विवाहबाट कोरोना सरेको आशंका गर्न सकिने वडाअध्यक्ष गोविन्द बोहोराले बताए। चार जनामा कोरोना देखिएपछि कोरोनाको सम्भावित लक्षण देखिएका दुई जनाको स्वाब परीक्षणका लागि दिएको उनको भनाइ छ।

‘खै कताबाट फैलियो त्यो त संक्रमितलाई सोधेपछि थाहा होला। ‘ट्राभल हिष्ट्री’ छैन। त्यसैले हाम्रो अनुमान कतै विवाह हो कि भन्ने लागेको छ,’ उनले भने।

उनका अनुसार कोरोना संक्रमितको अवस्था सामान्य रहेको छ। समुदायमा थप कोरोनाको जोखिमलाई मध्येनजर गर्दै वडाबाट सूचना प्रकाशन गरेर पसल बन्द गर्न र अनावश्यक घर बाहिर हिँडडुल नगर्न आग्रह गरेको अध्यक्ष बोहराले बताए।

विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने भनिएको छ। तर, गाउँघरमा त्यस नियमको पालना भएको छैन। जस कारण दिनहुँ कोरोना संक्रमण बढ्दै गइरहेको छ।

डडेल्धुरामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएता पनि एन्टिजेन किटको अभावमा कोरोना परीक्षण कार्य प्रभावित भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराले आफूसँग भएको एन्टिजेन किट जिल्लाका सातवटै स्थानीय तहलाई दिएको भए पनि त्यो प्रयाप्त नहुँदा कोरोना परिक्षण कार्य प्रभावित भएको हो।

जिल्लाका सातवटै स्थानीय तहमा दिनहुँ करिब एक सय जनाको कोरोना परीक्षण हुने गरेको भए पनि एन्टिजेन किटको अभावमा पछिल्लो दिनमा केही स्थानीय तहमा कोरोना परिक्षण कार्य पूर्ण रुपमा बन्द भएको छ।

पछिल्लो दिनमा जिल्लामा करिव २० हजार किटको आवश्यकता रहेको भए पनि हाल डडेल्धुरामा करिव ३ सय मात्रै किट रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए। प्रत्येक स्थानीय तहले किट खरिद गर्नुपर्ने भए पनि उनीहरूले नकिन्दा जिल्लामा किटको अभाव हुँदा कोरोना परिक्षणमा समस्या भइरहेको उनले बताए।

कोरोनाको ‘हटस्पट’ बन्दै

डडेल्धुरा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदै गएसँगै जिल्ला कोरोनाको ‘हटस्पट’ बन्दै गएको हो।

जिल्लामा दिनहुँ संक्रमित हुनेको संख्या बढ्दै गएको छ। दोस्रो चरणमा शनिबारसम्म ७ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये दोस्रो चरणमा ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

हाल जिल्लामा चार सय ५७ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार दोस्रो चरणमा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा मात्रै सबैभन्दा बढी २ सय ६२ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, परशुराम नगरपालिकामा ४० जना, अजयमेरु गाउँपालिकामा ७६, नवदुर्गामा १९, आलितालमा २५, गन्यापधुरामा १६ र भागेश्वर गाउँपालिकामा १९ जना सक्रिय संक्रमित रहेका कोभिड–१९ सम्पर्क व्यक्ति भट्टले जानकारी दिए।

उनका अनुसमार पहिलो र दोस्रो चरण गरी जिल्लामा १३ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। अमरगढीका ४, परशुरामका ३, आलिताल र नवदुर्गाका २–२ तथा अजयमेरु र भागेश्वरका १–१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.