|

काठमाडौं : वैशाख १६ गतेदेखि देश निषेधाज्ञामा छ।  सर्वसाधारणहरू कोरोना भाइरस संक्रमण डरले अधिकांश समय घरभित्रै बसिरहेका छन्। उनीहरूलाई संक्रमण र भोकमरीबाट जोगिने भन्नेमात्र चिन्ता छ।

मानिसभन्दा बिजोग यतिबेला सडकमा रहेका पशुपक्षीको भइरहेको छ। मानिसप्रति आशा र भरोसामा बाँचिरहेका यी प्राणीहरूले मानिस नै घरभित्र थुनिएपछि निकै सकस भोगिरहेका छन्‌।

तर, यस्ता व्यक्ति पनि छन्‌- जो संक्रमण जोखिममा पनि आफू र आफ्नो परिवारभन्दा बढी प्रेम पशुपक्षीलाई गरिरहेछन्‌। घाम-पानी नभनी खाना खुवाइ रहन्छन्।

उनी हुन्‌-अवीन कार्की।

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकाका अवीन सडकमा रहेका कुकुर, बाँदर र परेवाहरूलाई खाना र चारो खुवाएर उनीहरूको जीवन बचाइरहेको छन् यतिखेर।

भन्छन्‌, ‘निषेधाज्ञाले होटलहरू बन्द छन्‌, कुकुर भोकै हुन्छन्‌, भोकै टुलुटुलु बसेको हेर्न सकिनँ, त्यसैले खाना खुवाएको हुँ।’

निषेधाज्ञा फ्याँकिएको जुठो खाने गरेका पशुपक्षीहरू होटल नै बन्द भएपछि भोकै परेकाले आफूले खाना खुवाएको अवीनले बताए।

अवीन हाम्रो सानो प्रयास संस्थाका सदस्य पनि हुन। सोही संस्थामार्फत उनले दैनिक भक्तपुर, कौशलटार, मनोहरा र सानोठिमी क्षेत्रका २५० कुकुर, बाँदर र परेवालाई खाना खुवाउँदै आएका छन्। 

खाना खुवाउने अभियानमा पाँच जनाको टीम छ। त्यही टीमले उनमा झन्‌ थप हौसला मिलेको उनी बताउँछन्। ‘अघिल्लो लकडाउनमा पनि खाना खुवाएको थिएँ, अहिले भने एक हप्ता जति भयो-बिहान साढे ९ बजे र बेलुकाको समयमा खाना चारो दिँदै आएको छु,’ उनले सुनाए।

अवीन पहिले आफ्नै पकेट खर्चबाट पशुपक्षीलाई खाना खुवाउने गर्थे। पछि अरू पनि सहयोगी थपिँदै गए। त्यसमा गोसिप क्विन संस्था पनि थपिएको छ।

‘अहिले मेरो काम देखेर धेरै प्रभावित भएका छन्‌,’ उनले भने, ‘त्यसैले केहीले आर्थिक सहयोग गरेका छन्।’ दिनमा चारो र खाना खुवाउँदा १७ सय रुपैयाँसम्म खर्च लाग्ने गरेको उनी बताउँछन्।

उनका अनुसार कुकुरलाई खाना र राँगा, सुँगुर लगायतको खुट्टा पकाएर दिन्छन्। बाँदरलाई पीठोमा चिनी हालेर खुवाउँछन् र परेवालाई मकै र गहुँ दिने गरेका छन्।

निषेधाज्ञा अवधिमा मात्र नभई लकडाउनपछि पनि अन्य ठाउँहरूमा पनि यसैगरी खाना खुवाउने योजना उनको छ। 

‘सरकारले पशुपक्षी संरक्षण गर्नुपर्छ’

कतिपय कठोर मन भएकाले सडकमा भुस्याहाकुकुर भेट्दा लखेटी हाल्छन्। ढुंगामुढा गर्छन्। गत चैत महिनामा  काभ्रेको बनेपामा कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। ​

अवीन भन्छन्‌, ‘पशु पनि मान्छेसरह हो, उनीहरूको पनि बाँच्ने अधिकार छ, कसैले कुकुरलाई मार्ने या लखेट्ने नगरौँ, पशुपक्षीको महत्व पनि छ, सबैले माया गरौं, पालेपछि कसैले सडकमा कुकुर नछोडौँ।’

उपत्यकाका सडकमा दुई हजारभन्दा धेरै कुकुर रहेको उनको अनुमान छ। ‘यी कुकुरहरूलाई सरकारले व्यवस्थापन गर्नुपर्छ, बेला बेला नगरपालिकाहरूले सुई लगायो भने धेरै बच्चा पाउँदैन, संरक्षण गर्नु पनि सरकारको दायित्व हो,’ उनले थपे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.