होम आइसोलेसनमा संक्रमितले स्वास्थ्य मापदण्ड पालन नगरेपछि अनुगमन थालियो

|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा ८६ प्रतिशत कोरोनाका सक्रिय संक्रमित घरमै बसिरहेका छन्। 

जिल्लाका सबै स्थानीय तहमा गरी ९ सय १० जना सक्रिय संक्रमित भए पनि संस्थागत आइसोलेसनमा भने १ सय २८ जना मात्रै बसेका छन्। यहाँका सबै स्थानीय तहमा  गरी ४ सय बेडको आइसोलेसन तयार भएको छ। 

जिल्लाको डिलाशैनी गाउँपालिकामा-१० बेडको आइसोलेसन भए पनि संक्रमित सबै होम आइसोलेसनमै बसिरहेका छन्। यस्तै दोगडाकेदार गाउँपालिकाले २४ बेडको आइसोलेसन तयार पारेको भए पनि २ जना मात्रै आइसोलेसनमा बसिरहेका छन्।

दशरथचन्द नगरपालिकामा १ सय २१ बेडको आइसोलेसन सेन्टरमा ५७ जना,  पाटन नगरपालिकामा ६० बेडको आइसोलेसनमा २७ जना, मेलौली नगरपालिकामा ५ बेडको आइसोलेसनमा एक जना, सिगास गाउँपालिकाको ४७ बेडमा १३ जना मात्रै छन्। 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६४ बेडको आइसोलेसन बनाइए पनि ४ जना मात्र छन्। सुर्नया गाउँपालिकामा ३२ बेडको आइसोलेसन कक्ष तयार छ। तर यहाँ पनि ५ जना मात्र छन्। यसैगरी शिवनाथ गाउँपालिकामा ३० बेडको आइसोलेसन भए पनि ११ जना र  पुर्चौंडी नगरपालिकामा ७ बेडको आइसोलेसन रहेकोमा ७ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

संस्थागत आइसोलसनमा नबसेका संक्रमित होम आइसोलेसनमा बस्ने सर्तमा घरै बसेका भए पनि उनलीहरूले होम आइसोलसनमा बस्दाको मापदण्ड पालना भने नगरेका पाइएको छ।

होम आइसोलसनमा बस्नेहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा समुदायमा संक्रमणको जोखिम बढ्दै गइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

'होम आइसोलेसनमा बस्नेले स्वास्थ्य मापदण्ड पालना गर्न सकिरहेका छैनन्, उनले भने, ‘घरमा सबै कुराको व्यवस्था हुँदैन, एउटै शौचालय, एउटै धाराको प्रयोग गरिएको पाइएको छ।’

होम आइसोलेसनमा बसेकाहरूलाई स्वास्थ्यका मापदण्ड अपनाउन गाह्रो हुने भएकाले यसले समुदायमा संक्रमण जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशी पनि बताउँछन्। 

'होम आइसोलेसनको नाममा घरमै बस्न खोज्छन् तर स्वास्थ्य मापदण्ड भने पालन गर्दैनन्। एउटै शौचालय, एउटै धारा प्रयोग गर्छन्, सरसफाइमा ध्यान दिँदैनन्,' उनले भने। घरपरिवारसँगै घुलमिल हुन खोज्दा जोखिम बढ्दै गएको उनको भनाइ छ। साथै यसतर्फ  स्थानीय तहले चासो दिनुपर्ने पनि उनले सुझाव दिए। 

कोरोना संक्रमण न्यूनीकरणका लागि संस्थागत आइसोलेसनमा बस्नु आवश्यक रहेको समेत उनले बताए। 

आइसोलेसनको अनुगमन

यसैबीच संक्रमितहरूले घरमै बस्दा पनि स्वास्थ्य मापदण्ड पालना गरे/नगरेकोबारे सरोकारवाला निकायले अनुगमन गरिरहेका छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर आइसोलेसनको अनुगमन गरिरहेको छ।

होम आइसोलेसनमा बस्ने संक्रमितले स्वास्थ्यमा खेलाँची गरिरहेको गुनासो बढेपछि अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। 'जिल्लामा संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेका छन्,' उनले भने, ‘हामीले जिल्लाका विभिन्न स्थानीय तहका आइसोलेसनको  स्थलगत अनुगमन  गर्यौ, तर आइसोलेसन रित्ता छन्।’

होम आइसोलसनमा बसिरहेका संक्रमितलाई पनि स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिरहेको उनले बताए। 

अनुगमनका क्रममा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दा संक्रमितले संस्थागत आइसोलेसनमा बस्न नमान्दा संस्थागत आइसोलेसन रित्ता भएका बताएा छन्। 

संक्रमितलाई संस्थागत आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्न स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको  जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  जेठ १७ गतेसम्म निषेधाज्ञा समेत जारी गरिसकेको छ। 

कोरोनाकै कारण बैतडीमा हालसम्म १४ जनाको  मृत्यु भइसकेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.