|

जाजरकोट : कोरोना महामारीको समयमा प्राणवायु भनेर चिनिने अक्सिजन उत्पादन गर्ने अक्सिजन पलान्ट खरिद तथा जोड्न नै समस्या भएपछि कोभिडका बिरामीहरु समस्यामा परेका छन्।

जाजरकोट, रुकुम पश्चिम, डोल्पा र सल्यानमा अक्सिजन पलान्टमा खरिददेखि जोड्नेसम्मका समस्या आइरहेका छन्। सल्यानमा अक्जिजन पलान्ट भनेर फरक सामग्री खरिद गरी ल्याएको भन्दै छानविन भइरहेको छ।

कर्णाली प्रदेशले यही जेठ ५ गते  कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले सल्यान अस्पतालको अनुगमन गरेको थियो।

​स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडानलगायत अन्य विषयमा पनि समस्या आएपछि टोलीले अनुगमन गरेको थियो।

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुस १३ गते अक्सिजन प्लान्ट जडानका लागि गरेको टेन्डरअनुसार ड्रयागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन कन्सन्ट्रेटर जडान गरेको थियो। प्रदेश सरकारले विनियोजन गरेको ५८ लाख रकममध्येबाट ४० लाखको अक्सिजन प्लान्ट जडान गर्ने र १८ लाखको पाइप लाइन जडान गर्ने कार्यक्रम रहेको थियो।

त्यस्तै, जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गए पनि  अक्सिजन प्लान्ट जडानको काम नहुँदा मुख्य मेसिन अस्पतालको गोदाममा थन्किएको छ । जिल्ला अस्पतालमा ४० एलपीएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमता) को मुख्य मेसिन आइपुगेको लामो समय भए पनि गोदाममै थन्किएको हो।

मेसिन आयो काम भएन

कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँ बजेटबाट मेसिन आए पनि पाइपलाइनलगायतको काम अझै पूरा भएको छैन। अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम झन्डै ५० प्रतिशत सकिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए।

उनका अनुसार बाँकी काम भने एक सातायता ठप्प छ। मुख्य मेसिनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइपलाइन जडानको काम रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जसका लागि प्रदेश सरकारले १८ लाख रुपैयाँ पठाइसकेको छ।

पाइप खरिद प्रक्रियामा ढिलाइ हुँदा अक्सिजन प्लान्ट जडानमा समस्या भएको हो। प्लान्ट जडानका लागि अरू थप सामग्री पनि आइपुगेको छ, तर प्राविधिक नआउँदा पनि काममा ढिलाइ भयो,’ व्यवस्थापक बुढाथोकीले भने, ‘अन्यत्र पनि अक्सिजन प्लान्ट जडानको काम भइरहेकाले प्राविधिक आउन ढिलाइ भएको जानकारी आएको छ।’ संकटका बेला आवश्यक सामग्री र जनशक्ति नपाइँदा पनि समस्या भइरहेको उनले गुनासो गरे।

शनिबारसम्म जिल्ला अस्पतालमा ४६ कोरोना संक्रमितको उपचार भइरहेको छ । सबै जना अक्सिजन दिनुपर्ने अवस्थाका छन्। अस्पतालमा दैनिक ३० सिलिन्डर अक्सिजन चाहिने अस्पतालका डा राजकुमार भुजेलले बताए । ‘अक्सिजन पूर्ति गर्नै मुस्किल भयो, सिलिन्डर रिफिल गर्न नेपालगन्ज पुर्‍याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यहाँ पनि समयमै रिफिल गर्न पालो नआउँदा अभाव चुलिएको हो ।’

अस्पतालमा प्लान्ट सञ्चालनमा आउँदा त्यसले उपचारमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

जाजरकोटमा आइपुगेन अक्सिजन प्लान्ट

त्यस्तै जाजरकोटमा अक्सिजन पलान्ट खरिदको लागि सम्झौता गरेको कम्पनीले अहिलेसम्म अक्सिजन पलान्ट अस्पतालमा ल्याइपुर्‍याएको छैन। सांसददेखि प्रमुख जिल्ला अधिकारीलाई ठेकेदारले फरक-फरक कुरा गरिरहेको बताएको छ।

अक्सिजन पलान्ट कहिले आउँछ अझै कुनै समय निर्धारण भएको छैन। जाजरकोट अस्पतालको आइसोलेसन कोरोना संक्रमितले भरिएको छ । अक्सिजन अभावमा बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । अहिले अस्पताल तथा होमआइसोलेशनमा  उपचार  गरिरहेको विरामीहरुको संख्या ३७७ जना रहेको छ।

अक्सिजन अभावकै कारण अस्पतालको आइसोलेसनमा नयाँ संक्रमितलाई भर्ना पाउने अवस्था छैन। जिल्लाभरि अहिले ९० वटा अक्सिजन सिलिन्डर मात्र मौज्दात छ । जनशक्ति अभावमा जाजरकोट अस्पतालको भेन्टिलेटर प्रयोगमा ल्याउन सकेको छैन। गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभई अस्पतालको एक कोठामा थन्किएको छ।

अस्पतालमा भेन्टिलेटरसहितको उपचार नभएपछि संक्रमितलाई जिल्लाबाहिर लैजानुपर्ने बाध्यता छ।

भेन्टिलेटर सञ्चालन गर्न तालिमप्राप्त विशेषज्ञ चाहिने तर नहुँदा सेवा सञ्‍चालनमा ल्याउन नसकिएको डा.अमिन शाहले बताए। बेहोस बनाउन एन्थेसियालगायतका विशेषज्ञ चिकित्सक नहुँदा भेन्टिलेटर सञ्‍चालन गर्न नसकिएको उनको भनाइ छ।

डोल्पामा यत्तिक्कै थन्कियो

त्यस्तै, डोल्पामा अक्सिजन पलान्ट आए पनि दुई हप्तादेखि थन्किएको छ। जोड्नका लागि प्राविधिक नहुँदा उक्त पलान्ट सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापनक अमर सिंह शाहीले जानकारी दिए। धेरै पटक प्राविधिक पठाउन भनिएको छ तर आउन ढिलाइ भइरहेको उनले जानकारी दिए।

नेपालगञ्‍जबाट अक्सिजन सिलिण्डर

अहिले यी सबै जिल्लाका अस्पतालहरुले नेपालगन्जबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याई बिरामीको उपचार गरिरहेको बताएका छन्। यो समस्या हल गर्न तुरुन्तै अस्पतालमा रहेका अक्सिजन पलान्टहरु सञ्चालनमा ल्याउन सके बिरामी तथा अस्पताललाई राहत पुग्ने विश्वास लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.