भन्छन् : शरीरका कपडाबाहेक सबै कोठामै छ

|

सुर्खेत : कोरोना महामारीले पछिल्लो समय उग्र रुप लिँदै गएको छ।

कर्णाली प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा बाहिर जिल्लाका गरी यहाँ बसोबास गर्न संख्या बाक्लै छ। कर्णालीका अन्य स्थानीय तहमध्ये वीरेन्द्रनगरमा धेरै संक्रमित छन् तीमध्ये धेरैजसो होम आइसोलेसनमा छन्। 

कर्णाली प्रदेशका सुर्खेतबाहेक सबै जिल्लाका प्रायः दुर्गम छन्। स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानीलगायत सेवासुविधा सहजै पाउन मुश्किल छ। कर्णालीका साथै अन्य प्रदेशका मानिस पनि वीरेन्द्रनगर बस्छन्।

दैलेखका देवकुमार बिसी पनि जागिर गर्दै छोराछोरी पढाउन वीरेन्द्रनगर बस्छन्। दैलेख गुराँस गाउँपालिका-७ का बिसी २०७७ असोजमा वीरेन्द्रनगर-१० बसपार्क नजिककै भाडामा बस्दै आएका छन्।  

देवकुमारका पत्नी हीरा बिरामी थिइन्। उनलाई थाइराइड र प्रेसरको समस्या थियो। कोरोना महामारी बढ्दै जाँदा बिसीको परिवार पनि कोरोनाबाट अछुत रहेन। लक्षण देखिन थालेपछि उनीहरूले कोरोना परीक्षण गराए। नभन्दै एन्टिजेनबाट बिसीसहित परिवारका चारै जनाको रिपोर्ट वैशाख २४ गते पोजेटिभ आयो। उनीहरू कोभिड अस्पताल कालागाउँ भर्ना भए। 

बिसी भन्छन्, ‘छोराछोरीलाई सँगै लगें, अस्पतालमा भनेजस्तै बेड पनि पाइयो, सबै राम्रो थियो। डाक्टरहरूले पनि हौसला दिनुहुन्थ्यो।' तर बिसीकी श्रीमती एकदमै कमजोर र अन्य रोगबाट ग्रसित भएकाले थला पर्न थालिन्। अस्पताल भर्ना भएको चार दिनमा उनको मृत्यु भयो। 

बिसी जिन्दगीमा बज्रपात पर्‍यो। एकातिर श्रीमतीको मृत्यु, अर्कोतिर घरबेटीको तिरस्कार। अस्पतालबाट छोरा र छोरी लिएर बिसी कोठा जान्छु भनेर फर्किए, तर घरबेटीले उनीहरूलाई असारभरि नआउनू भनेका देवकुमार बताउँछन्। 'हामीलाई गेटभित्र छिर्न दिइएन,' बिसी दुःख पोख्छन्, ‘पोजेटिभ भएको दुइ दिनपछि मैले मेरो सालोलाई कोठामा राखेको कपडा लिन पठाएँ, त्यतिबेला पनि कोरोना लाग्छ भन्दै कुनै सामान लिन दिएनन्, शरीरमा आजसम्म एक जोर लुगा मात्रै छ। फेर्न पाएको छैन, हामी घरधनीबाट नै तिरस्कृत भयौं।’

गत असोज महिनादेखि एउटै कोठामा बस्दै आएका बिसीको परिवार घरबेटीले निकालेपछि वीरेन्द्रनगर-१० एअरपोर्टचोक नजिक सुसुराली घरमा छन्। 

हालसम्म तीन जनालाई कुनै गम्भीर समस्या देखिएको उनी बताउँछन्। हेल्भेटास नेपाल एक संस्थाका कर्मचारी हुन् देव। आफ्नो तथा छोराछोरीको सबै लुगा, कपडा, भान्साका सामान, बैंकको एटिएम कार्ड अन्य सामानसहित अफिसको सामान र संस्थाको मोटरसाइकलसमेत उक्त कोठामै रहेको र ल्याउन जाँदा पनि घरबेटीले असार महिनाभन्दा पहिला नआउनू भन्ने गरेका बिसी सुनाउँछन्। 

यता घरधनी उदयराज जैसीले भने नराम्रो सोचेर तिरस्कार नै नगरेको बताए। उनले भने, ‘देवकुमार बिसीले केही दिन अगाडी भारतमा पढ्न गएका छोरालाई नबोलाउनुहोस् भन्दाभन्दै बोलाए। त्यसपछि उहाँको परिवारमा त्यस्तो घट्ना भयो। केही समयपछि बिसी सरलाई समेत संक्रमण भएपछि सुरक्षितसँग बस्यौँ भन्ने हिसाबले मात्र बाहिर सुरक्षित सँग बस्नु भनेको हो।’ 

उनले थपे, ‘मेरो त्यस्तो गलत नियत केही पनि गरेको होइन, आठ महिनादेखि मेरो घरमा बस्दै आउनुभएको छ। तर एक महिनासम्म पनि कोरोना भाइरस रहिरहने डाक्टरको भनाइअनुसार त्यस कोठामा कसैलाई पनि जान्न नदिने मेरो मान्यता हो।’

सामान तत्कालै लग्नुपर्ने भए घरको पहिलो तलाको देवकुमार बिस बस्ने दुई कोठामा भएको सबै सामान तेस्रो व्यक्तिले आएर उठाएर लग्न दिने उनले बताए। त्यस कोठा पनि सेनिटाइजरले सफा गरिदिनुपर्ने घरधनी जैसीको माग छ। 

यता प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने कोरोना संक्रमित व्यक्ति कसैलाई पनि भेदभाव तथा हेप्न नमिल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.