सिडिओ जानकारीविहीन

|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ मा रहेको घटाल थानको मसान घाटमा कोरोना संक्रमितको शव नजलाउँदा दुर्गन्धित भएको छ। गाउँको बीचमा रहेको मसान घाटमा मृतकको शव आधा मात्र जलाउने गरिएको पाइएको छ। 

डडेल्धुरामा दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा मृतक संख्या पनि बढ्दै गएको छ। अहिले डडेल्धुरामा मृत्यु भएकाहरूको शव घटाल थानमा लैजाने गरिएको छ।

संक्रमितको शव आधा जलाएर उत्तिकै छोड्ने गरेकोले कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीय चिन्तित भएका हुन्। घटाल क्षेत्र विकास समाजले दाउराको व्यवस्था गर्दागर्दै पनि चरम लापरवाही हुने गरेको स्थानीय राजेन्द्र जोशीले बताए।

‘शव नजलाएर खाडलमा हाल्दा समस्या भएको छ। खाडलको शव कुकुर र स्यालले निकालेर खान्छन्। यसले घटाल क्षेत्रमा दुर्गन्ध फैलाएको छ,’ उनले भने, ‘एकातिर रोगको जोखिम छ। अर्कोतिर सरोकारवालाको चरम लापरबाही।’

संक्रमितको शव राम्रोसँग व्यवस्थापन नगरेर उत्तिकै छोड्ने गरेको भन्दै स्थानीय चक्र साउदले रोष प्रकट गरे। ‘कोरोनाले मान्छे आक्रान्त छन्। सक्रमण भएर मृत्यु भएकाको शव त्यसै छोड्ने, दुरगामी असरको जिम्मेवारी कसले लिने?,’ उनले प्रश्न गरे।

आफूहरू प्रतिकार गर्ने दिन नआओस् भन्दै सम्बन्धित निकायको उनले ध्यानाकर्षण गराए।

पत्र पठाउँदा पनि मौन

कोरोना अगाडि घटाल थानमा सीमित गाउँका मात्रै शवहरू आउने गर्थे। तर, कोरोना महामारीपश्चात् अन्य क्षेत्रका शवहरू पनि घटाल थानमा जलाउने गरिएको छ।

१७ गाउँको बीचमा रहेको मसानमा बाह्य क्षेत्रका शवहरू पठाउँदा समस्या भएको छ। सीमित क्षेत्रबाहेक अन्यत्रको शव नपठाउन आग्रह गर्दै घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई पत्र पठाएको छ, भने अमरगढी नगरपालिकालाई बोधार्थ लेखेको छ।

तर, यी दुबै निकाय मौन रहँदा सो क्षेत्रका स्थानीयले सास्ती भोग्नुपरिरहेको गुनासो गरेका छन्। घटाल थानमा शव राम्रोसँग व्यवस्थापन नगर्दा समस्या भएको भन्दै शव नलैजानुभन्दा पनि प्रहरी लगाएर शव लैजाने गरेको वडाध्यक्ष गोविन्दराज बोहराले बताए। ‘क्षेत्र विकासका मान्छेलाई यो रोक्नुस् भनेको छु। म पनि प्रजिअसँग कुरा गर्छु,’ उनले भने।

नेपाल सरकारको कार्यविधिमा नै चलनचल्तीमा रहेको मसानमा शव व्यवस्थापन गर्नुपर्ने रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। उनले तत्काल अन्यत्र मसानघाट बनाउने अवस्था नभएको बताए। ‘शवलाई राम्रोसँग व्यवस्थापन गर्न हामी समन्वय गरिरहन्छौ,’ उनले भने।

सिडिओ घिमिरे जानकारीविहीन

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यस बारेमा आफू जानकारी नभएको बताए। घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदा समेत सिडिओ घिमिरे भने जानकारीविहीन छन्।

‘सर्वपक्षीय निर्णयअनुसार घाटमा लगेर शव जलाउने भनेको हो। प्रशासनले पठाउने पनि होइन,’ घिमिरेले भने, ‘स्थानीय तहले देखाउने हो। आर्मीले शव व्यवस्थापन गर्ने हो। अहिले म बाहिर छु। जानकारी छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.