|

काठमाडौं : बौद्ध धर्मका संस्थापक शाक्यमुनि बुद्धको जन्म ईसापूर्व ६२३ मा कपिलवस्तुको लुम्बिनीमा भयो।

जन्मेको ७ दिनमै उनकी आमा मायादेवीको मृत्यु भयो। लालनपालन उनकी सानीआमा प्रजापतिले गरिन्।

कौडिन्य ज्योतिषले शाक्यमुनि  जोगी नै हुने भविष्यवाणी गरेका थिए।

बुद्धलाई जोगी हुन नदिन संसारका सबै सुखहरू दरबारभित्रै उपलब्ध गराइयो। कोलीय राज्यकी राजकुमारी यशोधरासँग १६ वर्षको उमेरमा बुद्धको विवाह भयो। छोरा राहुलको जन्म भयो। 

उनले वेद र पुराण लगायत उपलब्ध सबै धर्मशास्त्रहरूको अध्ययन गरे। पारिवारिक जीवन पूर्ण भएपनि बुद्धमा अस्थिरता थियो भनिन्छ।

एकदिन उनले शहरबाट बाहिर जान पिता शुद्धोधनबाट अनुमति प्राप्त गरे। 

बुद्धले गृहत्याग गर्नुका तीन कारण : 

१. रोगी, जोगी, लाश र वृद्ध देखे। यो के रहेछ भनेर संसारबारे बुझ्नका लागि गृहत्याग गरे भनिन्छ।

तर, यो तर्कमा त्यति सहमत हुन सकिँदैन। वेद, पुराण, धर्मशास्त्र आदिमा पारङ्गत भएको व्यक्तिले यसअघि नै यस्ता दृश्य देखिसकेका थिए।

उनलाई आमा मरिसकेको भन्ने जानकारी पनि थियो। आफ्नो अनुहारमा दाह्रीजुङ्गा आएको व्यक्तिले उमेर र बुढ्यौलीबारे नजान्ने कुरै भएन। छोरा राहुलको जन्म भइसकेको र आफ्ना बाबु वृद्ध भइरहेकोे पनि उनले देखिरहेका थिए।

तसर्थ उनलाई रोगी, जोगी, लाश र वृद्धबारे ज्ञान नै थिएन भन्नु बेकारको कुरा हो। यी कुराहरू बुद्धको जीवनसँग जोडेर पछि थपिएका हुन्। यसको कारण पनि छ।

किनकी, कुनै पनि साधारण मानिसले यी चारवटा घटनाबारे जानकारी प्राप्त गर्छ र त्यसलाई हृदयङ्गम गर्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्छ।

बुद्धले पनि यो कुरा बुझेका थिए भन्ने बलियो तर्क इतिहासकारहरूले राख्दै आएका छन्‌। 

२. सुन्दरीहरूसँग नाचगान गर्दा निन्द्रा लाग्यो, ब्यूझिँदा उनीहरू सबै नराम्रा देखे।

३. रोहिणी र कोलीयबीच रोहिणी नदीको पानी बाँडफाँटबारे झगडा हुने गर्थ्यो। सो झगडा हुने सवालमा कपिलवस्तु गणतन्त्रात्मक राज्य भएका कारणले राजा नाममात्रका थिए।

त्यहाँ एउटा सभा थियो, सभाको निर्णय सवैले मान्नुपर्थ्यो, यसविरुद्ध राजा गएमा राजाले राज्य नै छाड्ने अवस्था हुनसक्थ्यो। अर्को राजा बनाइन्थ्यो। त्यही सभामा बुद्धले कोलीयहरूमाथि अन्याय भएको कुरा कुरा उठाएका थिए।

छोरा नियन्त्रण गर्न नसकेको भनेर सो सभाले राजा शुद्दोधनलाई देशनिकाला घोषणा गर्‍यो। सिद्धार्थले आफूले गरेको गल्तीमा बाबुलाई किन दिने भन्दै आफैँले गृहत्याग गर्ने निर्णय लिए। पछिल्लो समयमा यो तर्क पनि अघि आएको छ।

६ वर्षसम्म घोर तपस्या, तर ज्ञान प्राप्तिमा असफल

गृहत्याग गरेपछि बुद्ध विभिन्न प्रकाण्ड विद्वानहरूकहाँ गए, तर, कतैबाट पनि उनले चित्त बुझाउन सकेनन्।

अन्तत : तपस्या गर्ने निर्णय गर्दै ६ वर्षसम्म घोर तपस्या गरे। यसरी तपस्या गर्दा पनि कतैबाट ज्ञान आएन। नखाइकन घोर तपस्या गर्दा शरीरमा हाड र छाला मात्रै बाँकी रह्यो।

लक्ष्य पूरा नभएपछि उनले बाँच्नका लागि केही खानुपर्ने, तर, ठीक मात्रामा खानुपर्ने टुङ्गोमा पुगे। हिन्दु धर्मअनुसार पनि सात गाँस खाए ज्यानलाई पुग्छ भनिन्छ। 

ठिक्क खाने सवालमा उनले प्रतिपादन गरेको सिद्धान्तलाई मिडिल पाथ भनिन्छ। न धेरै, न थोरै खाने, बरु ठीक्क खाने। मिडिल पाथमा लाग्दा मानिस सुखी हुन्छ भनी बुद्धले बोध गरे।

बुद्धले खान थालेको जानकारी पाएपछि उनका सारथीहरूले यो त ढोंगी रहेछ भन्दै छाडेर हिँडे।

त्यसपछि उनले बोधगयाकोे बोधिवृक्षमुुनि गएर एकजना शूद्र कन्या सुजाताको हातबाट बनेको खीर खाए। त्यसपछि पृथ्वीलाई साक्षी राखेर उनले जबसम्म ज्ञान प्राप्त हुँदैन, तबसम्म म उठ्दिन भन्दै ध्यानमा बसे।

'दु:ख छ'

सोही रातको प्रथम प्रहरमा उनलाई पहिलो ज्ञान प्राप्त भयो। संसारमा दुःख छ भन्ने कुरा उनले थाहा पाए।

यो नै उनले प्राप्त गरेको पहिलो ज्ञान थियो। यो नै बुद्धको पहिलो उपदेश पनि हो।

'दु:खको कारण छ'

संसारमा दुःख त रहेछ, तर यसको कारण पनि रहेछ भन्ने ज्ञान बुद्धलाई प्राप्त भयो।

उनका अनुसार मानिसभित्र रहेको इच्छा, चाहना र बासना नै दुःखको कारण हो।

'दु:ख हटाउने उपाय छन्‌'

बुद्धले पाएको तेस्रो ज्ञान दुःख हटाउन उपाय हो।

दुःख छ, दुःखका कारण छन्, दुःख हटाउने उपाय पनि छन्।

अष्टाङ्गिक मार्ग

दुःख हटाउने उपाय अर्थात अष्टाङ्गिक मार्ग (सम्यक संकल्प, सम्यक दृष्टि, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायम, सम्यक स्मृति र सम्यक समाधि) पनि बुद्धलाई बोध भयो।

यो नै बुद्धले पाएको अन्तिम अर्थात चौथो ज्ञान हो। बुद्धको यही चारवटा उपदेशको वरिपरि सम्पूर्ण बौद्ध धर्म र दर्शन घुम्ने गर्छ। 

बुद्धत्व प्राप्त गरिसकेपछि बुद्धले मणिक र तपसुम भन्ने उडिसातिरका दुईजना व्यापारीलाई पहिलो उपदेश दिए। त्यसपछि आफूले प्राप्त गरेको ज्ञानको प्रचारप्रसार सारनाथबाट शुरू गरे।

करिब ८० वर्षको उमेरमा कुशीनगरमा उनले निर्वाण प्राप्त गरे।

बुद्ध धर्ममा साम्प्रदायिकरण

बुद्धले निर्वाण प्राप्त गरिसकेपछि उनका उपदेशलाई मानिसहरूले आफूअनुकुल व्याख्या गर्न थाले। जसकारण बुद्धधर्ममा हीनयान, महायान र वज्रयानका रूपमा सम्प्रदायिकरण भयो।

हीनयान आरम्भिक हो। यसलाई थेरावाद पनि भनिन्छ। महायानीहरूले थेरावादीहरूलाई हीनयान भनी नामाकरण गरिदिएका थिए।

हीनयानको अर्थ थोत्रो जहाज भन्ने हुन्छ। महायान भनेको ठूलो गाडी भन्ने अर्थमा ब्याख्या गरे।

वज्रयानीहरूले आफूलाई चाहिँ उड्ने गाडीकै अर्थमा लिन थाले।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.