|

सल्यान : प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ। विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन्।

बजारसम्म तरकारी पुर्‍याउन र पुर्‍याएको तरकारी पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए। १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उनको भनाइ छ। उनले भने, ‘बजार सबै बन्द छन् को आएर हाम्रो तरकारी किनिदिने हो र? किन्ने मान्छे नै आउँदैनन्।’

गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्‍याएको उनको भनाइ छ। यो वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उनको भनाइ छ।

१४ रोपनीमा लगाएको मुला, काक्रो, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएका भण्डारीले बताए। गत वर्ष लकडाउन भएपनि ८ लाख आम्दानी भएको भए पनि यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ।

निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको अर्का किसान प्रदीप वलीले बताए। उनले भने ‘सिमी, बन्दा, धनियाँ, काक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन्।’

तरकारीको बिक्रीले नै घरखर्च टार्ने किसानहरु आम्दानी नभएपछि मर्कामा परेको वलीको भनाइ छ। उनले भने ‘तीन रोपनीमा लगाएको तरकारी अहिलेसम्म बिक्री भएको छैन। अबको एक हप्ताभित्र तयार भएको तरकारी बजार पठाउन नसकिए काटेर फाल्नुपर्ने हुन्छ।’

जिल्लाबाट वार्षिक ३० देखि ३५ करोडको तरकारी जिल्ला बाहिर निकासी हुने गर्दछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.