|

काठमाडौं : बौद्ध धर्म मान्नेहरूबीच पूर्वजन्म र पुन:जन्म हुने विश्वास अटूट छ। तिब्बतीयन बुद्धिज्ममा त यो विश्वास अझ गहन र व्याप्त छ।

काभ्रेको नमोबुद्ध पूर्वजन्मको विश्वास र महादानको यथार्थसँग जोडिएको यस्तै महत्वपूर्ण बौद्ध तीर्थस्थल हो। 

नमोबुद्धको कथा

पौराणिक कथा (माइथोलोजिक स्टोरी) का आधारमा नमोबुद्धको इतिहास हजारौं वर्ष पहिलेको हो।​

अहिले नमोबुद्ध रहेको क्षेत्र तत्कालीन पाञ्चाल राज्यअन्तर्गत पर्दथ्यो। त्यही पाञ्चाल राज्यका राजकुमारको जीवन त्यागसँग यो तीर्थस्थल सम्बन्धित छ। उनै राजकुमारको अस्तु संकलन गरी त्यहाँ स्तूप बनाइएको परम्परागत कथा पाइन्छ।

नमोबुद्धको कथालाई सत्य युगमै पुर्‍याउन सकिन्छ। शाक्यमुनि बुद्धभन्दा धेरै पहिलेको कथा त्यहाँ छ। शाक्यमुनि बुद्धभन्दा अघिका ३१ वटा बोधिसत्वहरूमध्येका एक महासत्व हुन्।  

परापूर्वकालमा भगवान बुद्ध जन्मनुअघि बोधिसत्वचर्या गर्ने क्रममा ५४७ पटकसम्म जन्मेका थिए भनिन्छ। यहाँको राज्यमा त्यतिखेर राजाका तीन भाइ छोरामध्ये महासत्व कान्छो थिए।

उनीहरू वनविहार गर्न त्यहाँ आएका थिए। यो क्षेत्रमा बघिनी र उनका ५ वटा बच्चा खान नपाएर अलपत्र र मरणासन्न अवस्थामा थिए।

नमोबुद्धको डाँडामा भएको ओढारमा बघिनी र भोका बच्चाहरू देखेपछि राजकुमार महासत्वले आफ्नो शरीरको रगत र मासु दान गरे। नमोबुद्धमा सो स्थान अहिलेसम्म छ। सो ओढार रगत र मासुदान गरिएको स्थान हो।

पछि राजकुमारका परिवार आएर बाँकी रहेको हाडखोर जम्मा पारे। सो भन्दा केही तल उनको अस्तु राखेर स्तूप बनाए।  स्तूप तल छ। सो स्तूपमा हाडखोरहरू छोपेर बनाइएको चैत्य छ। 

तिब्बती बौद्ध मत

आज भन्दा करिब ६ हजार बर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे।

उनका ३ भाई छोराहरु क्रमसः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेल्पो थिए। जेठा र माईला राजकाज एवं युद्धकलामा निपूर्ण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए।

उनै कान्छा छोरा सेमचेन छेल्पोले आफ्ना पाँच ओटा डमरु सहितको बघिनी भोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको पाइन्छ।

साथै, उक्त राजकुमार नै पछि गएर गौतम बुद्ध बनेको र पाँचवटा बघिनीका बच्चाहरु शिष्य भएको साथै तिनै राजकुमारको नामबाट यस नगरपालिकाको प्रमुख धार्मिक स्थलको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ।

छैठौं शताब्दीदेखिको प्रमाण

काठमाडौंबाट करिब ४० किलोमिटर टाढा र करिब ८००० फिटको उचाइमा रहेको नमोबुद्धलाई नामुराबुद्ध, नाम्राबुद्ध र नमोबुद्ध लगायत नामले चिनिन्छ।

स्वयं शाक्यमुनि बुद्धले नमन गरेको हुनाले पनि यसको नाम नमोबुद्ध भएको भन्ने चलन छ। तर, बुद्ध नेपाल (काठमाडौं उपत्यका) मा आएका थिए भन्ने अकाट्य प्रमाण भने भेटिएको छैन।

मासिँदै सम्पदा

यहाँ अहिले भएका भौतिक संरचनाका आधारमा चाहिँ यसको इतिहास लिच्छिवीकालसम्म मात्रै पुर्‍याउन सकिन्छ।

लिच्छवीकालका अभिलेखहरू नभएपनि केही चैत्यहरू भने त्यहाँ छन्। यस हिसाबले नमोबुद्ध लिच्छिवीकाल अर्थात छैठौ–सातौं शताब्दीमा नै बौद्ध तीर्थका रूपमा विकास भइसकेको देखिन्छ। स्तूपको चार कर्नरमा चारवटा स–साना चैत्यहरू छन्। 

अभिलेख नभेटिए पनि त्यहाँ लिच्छिवीकालीन केही मूर्तिहरू पनि छन्। १०/११औं शताब्दीतिर बनेका मञ्जुश्री, अमोघसिद्धी, लोकेश्वरजस्ता पञ्चबुद्धका मूर्तिहरू त्यहाँ भेटिएका छन्।

ती सबै मूर्तिहरू बौद्ध धर्मसँग सम्बन्धित छन्। तसर्थ, लिच्छिवीकालदेखि नै सो क्षेत्र एउटा धार्मिक क्षेत्रको रूपमा विकास हुँदै आएको देखिन्छ। 

नमोबुद्धको संरचना हेर्दा यो स्तूपभन्दा पनि छोर्तेनजस्तो देखिन्छ। स्वयम्भु या बुद्धको जस्तो स्वरूप त्यहाँ छैन। वि.सं. १९९० सालको भूकम्पमा भत्किएको र त्यसपछि पुनःनिर्माण गरिएको जानकारी पाइन्छ।

सम्भवतः यो शुरूमा स्तूपकै स्वरूपमा भएको र पछि पुनःनिर्माण हुँदा यस क्षेत्रमा तिब्बतीयन बुद्धिज्मको प्रभाव बढी परेकाले छोर्तेनको स्वरूपमा निर्माण भएको आंकलन गर्न सकिन्छ। अहिले पनि यो क्षेत्रमा बिहार नभइ गुम्बाहरू छन्। त्यसैले यो क्षेत्र अहिले तिब्बतीयन बुद्धिज्मको केन्द्रका रूपमा विकास हुँदै गइरहेको छ। 

काठमाडौंका बौद्ध धर्मालम्बीले श्राद्ध गर्ने स्थान

काठमाडौंमा बौद्ध धर्म मान्ने नेवारहरूले जीवनमा एकपटक आएर श्राद्ध गर्नुपर्ने हुन्छ।

यो परम्परालाई विश्लेषण गर्दा शुरूका दिनमा यस क्षेत्रमा बज्रयान बुद्धिज्मकै प्रभाव भएको देखिन्छ। पछिल्लो समयमा क्रमश: तिब्बतीयन बुद्धिज्मको प्रभाव बढ्दै गएको पाइन्छ।

स्तूपको आकार र डाँडाकाँडामा विस्तार हुँदै गरेका गुम्बाका कारणबाट पनि यो क्षेत्रमा अहिले तिब्बती बौद्धमार्गीहरूको प्रभाव बढ्दै गएको छ। 

लिच्छवीकालपछि त्यहाँ १९/२०औं शताब्दीका मूर्तिहरू पनि पाइन्छन्। नमोबुद्धको महत्वपूर्ण स्मारक भनेकै यही चैत्य या स्तूप या छोर्तेन हो। त्यहाँ वरिपरिका अन्य संरचनाहरू ५० देखि ६० वर्ष पुराना मात्र हुन्। 

स्त्री शक्तिको स्तन समातेका नामुरा बुद्धको मूर्ति

यहाँ नामुरा बुद्धको मूर्ति छ। यहाँको तोरण र गर्भ गृहमा पनि यही मूर्ति छ।

तोरणमा भएको मूर्तिमा दायाँबायाँ दुईवटा स्त्री शक्ति छन्। माथिल्लो हातमध्ये एउटामा त्रिशुल र अर्कोमा चक्रजस्तो देखिन्छ। तल्ला दुईवटा हातमा स्त्री शक्तिको स्तन समातेको देखिन्छ।

माथिल्लो हातमा त्रिशुल र चक्र भएकाले यसलाई हरिहरको मूर्ति पनि भन्छन्। दायाँबायाँका स्त्री शक्ति चाहिँ पार्वती र लक्ष्मी पनि भनिन्छ। यदी यो मूर्ति हरिहरकै हो भने अहिलेसम्म यस्ता मूर्ति पाइएको छैन।

यसलाई धेरैले चाहिँ मञ्जुश्रीको मूर्ति पनि भनेका छन्। मञ्जुश्रीका दुईवटा शक्तिहरू केशनी र उपकेशनीको मूर्ति हो पनि भनिन्छ। तर, पुरुष मूर्तिको माथिल्लो हातमा त्रिशुल र चक्र भएकाले मञ्जुश्रीको हातमा त्रिशुल र चक्र कतै पनि देखिँदैन।

यहाँको मूर्तिबारे विरोधाभाष छ। यद्यपी: यो मूर्ति त्यति पुरानो भने होइन। १८/१९ औं शताब्दीको मूर्ति भएको अनुमान छ। 

पर्या-पर्यटनको उत्कृष्ट गन्तव्य

यो क्षेत्र नेचर टुरिज्मका लागि प्रसिद्ध छ।

नमोबुद्धलाई केन्द्र बनाएर छोटो र लामो दूरीको पदयात्रा गर्न पनि सकिन्छ। गाउँ पर्यटनका लागि पनि यो क्षेत्र प्रख्यात छ।

जिकका तामाङ बस्तीहरूको गाउँले जीवन र संस्कृतिले जो-कोहीलाई सम्मोहित गराउँछ। नगरकोट जाने, पनौती हुँदै लाकुरीभञ्ज्याङबाट काठमाडौं निस्कने ट्रेकिङ रुटहरू पनि त्यहाँ छन्। डाँडाकाँडाबाट उत्तरतिरका हिमाल देखिन्छन् भने ठूलाठूला फाँटहरू पनि देखिन्छ।

तीनवटा तीर्थ धाउने परम्परा

तीर्थयात्राका लागि काठमाडौं आउने चिनियाँ लगायत हिमाली मुलका मानिसहरू एकैदिन तीनवटा तीर्थ धाउँछन्।

उनीहरूले बौद्ध, नमोबुद्ध र स्वयम्भु एकैदिनमा दर्शन गर्छन्। यी तीनवटै तीर्थ एउटै रूटमा पर्छन्।

यहाँका स्थानीय तामाङहरूले पनि बौद्धमा लाग्ने तिमाल जात्राका बेला सर्वप्रथम त्यहाँ आएर दर्शन गर्ने, त्यसपछि बौद्ध र स्वयम्भु एकैदिन पुग्ने र गाउँ फर्किने गर्छन्। 

पाटनका मानिसहरूले महासत्वको त्यो त्यागलाई दर्शाउने गरी त्यहाँ पूर्वाधार तयार गर्दैछन्। बघिनी र उनका पाँचवटा बच्चा तथा महासत्वको मूर्ति त्यहाँ राखिँदैछ।

शान्तपूर्वक ध्यान गर्ने पर्यटकहरूका लागि नमोबुद्ध निकै राम्रो ध्यान केन्द्र मानिन्छ।

काठमाडौं उपत्यकामा बौद्धनाथ, स्वयम्भुनाथ र नमोबुद्ध गरी तीनवटा प्रशिद्ध बौद्ध तीर्थस्थलहरू छन्। यी तीर्थस्थलहरूमा हरेक धर्मावलम्बीले एकपटक आउने इच्छा व्यक्त गर्छन्। त्यहाँ आएमा सबै किसिमका पापहरूबाट मुक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ।

बहुजन हिताय: बहुजन सुखायको अवधारणालाई बलियो पार्ने एक बुद्ध तीर्थस्थलका रूपमा नमोबुद्धलाई लिइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.