|

‘हजारौं  युद्द  जित्नुभन्दा  महत्त्वपूर्ण  कुरा  हो  आफैंलाई  चिन्नु। आफ्नो  चेतनालाई  जान्नु। तिमीले  आफैंलाई जित्न सक्यौ भने कसले  हराउन सक्छ र?’ बुद्धकै  प्रेरक सन्देश हुन्। कोरोनाको यो  महामारीमा पनि सत्ता र स्वार्थमा लिप्त भएकाले बुद्धका सन्देश उल्लेख गर्न भने छोडेका छैनन्।

प्रत्येकवर्ष बुद्ध जयन्ती आउँदा बुद्ध हाम्रो देशमा जन्मेका हुन्I नेपाल बुद्धको भूमि हो, अरूले बुद्ध हाम्रो देशमा जन्मेका हुन् भन्न मिल्दैन भन्ने कुरालाई हामी सधैँ आवाज उठाउने गर्दछौँI यो पटक्कै नराम्रो छैन, बुद्ध मार्फत आफ्नो देशको साख उच्च राख्न पाउनु हाम्रो सौभाग्य पनि होI तर, यतिमै मात्र बुद्धलाई सीमित राख्यौं भने बुद्धप्रति नै अन्याय हुन जान्छI हो, राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट नेपालकै लुम्बिनीमा ई.पु. ५६३ मा सिद्धार्थ गौतमको रूपमा जन्मेका राजकुमारले बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्ध बनेर चिनिएI तर, बुद्ध कुनै व्यक्ति नभएर चेतनाको शिखर होI 

बुद्धले आफ्नो जीवन सत्य प्राप्ति र निर्वाणमा उपलब्ध हुने खोजीमा बिताए अनि मानव मनोविज्ञानलाई जान्दै जीवन दु:ख हो र दु:ख छ भने निवारणका उपाय पनि छन् भन्ने समाधानको बाटो पत्ता लगाएI हामी उनका अनुयायी बनेर उनका देशनालाई सार्थक पार्न चाहन्छौँ भने धर्म, धार्मिकता, योग र ध्यानलाई नजानी सुखै छैनI

सत्यतालाई साक्षात्कार गरेको बोध हो, बुद्धत्वलाई जानेको व्यक्ति होI हामीले गर्वका साथ नेपाललाई बुद्ध भूमिको रूपमा चिनाउन चाहन्छौँ भने हामीभित्रको बुद्ध चेतनालाई नजानी कसरी चिनाउने? त्यो बुद्ध चेतनालाई जान्न हामीमा सर्वप्रथम समझको विकास हुनुपर्छI

त्यसपछि स्वयंको बोधमा अन्तर्मुखी भएर आफू को हूँ र मेरो चेतनाको स्तर कहाँ छ जान्दै ध्यान साधनाको अभ्यासले बुद्धले जसरी ज्ञान प्राप्त गरे, जसरी अन्तिम सत्यलाई जाने त्यहि क्षमता हामी सबै मानिसमा छ भन्ने बोधको अवस्था बुद्ध चेतनाको अवस्था होI

बुद्धलाई कुनै धर्म, सम्प्रदाय र मान्यताबाट मात्र  चिनाउन र चिन्न खोज्दा अपूर्ण हुन्छI बुद्धको जीवनीलाई आत्मसात गर्दै प्रत्येक मानिस जन्मनुको उद्देश्य र मृत्यु अगाडि उसले बोध गर्नुपर्ने कुरा जानेन भने, जीवन व्यर्थमै संसारकै सुखसयल, इच्छा आकांक्षा, सफलता, असफलता, मायाँ, मोह र दु:ख अनि संघर्षका कथामा बित्नेछI जान्नुपर्ने मुलभूत कुराबाट नै बन्चित हुन पुग्दछI

बुद्धले आफ्नो जीवन सत्य प्राप्ति र निर्वाणमा उपलब्ध हुने खोजीमा बिताए अनि मानव मनोविज्ञानलाई जान्दै जीवन दु:ख हो र दु:ख छ भने निवारणका उपाय पनि छन् भन्ने समाधानको बाटो पत्ता लगाएI हामी उनका अनुयायी बनेर उनका देशनालाई सार्थक पार्न चाहन्छौँ भने धर्म, धार्मिकता, योग र ध्यानलाई नजानी सुखै छैनI

व्यक्तिगत विकास, सामाजिक, राजनीतिक र राष्ट्रिय समृद्धिको ख्याल राख्न, शान्तिप्रिय र स्थिर बुद्धको देश अनि मानिस भनेर चिनिनको लागि पनि सबैले बुद्धको देशनालाई व्यवहारिकरुपमा अपनाउनु आवश्यक छI

बुद्ध चेतनालाई जान्नको लागि घर, नोकरी, परिवार, आफ्नो मान्यता र संस्कार छोडेर भगौडा बन्नु पर्दैनI सबै काम र प्रचलनलाई यथास्थानमा राख्दै केवल आफूभित्र हेर्ने कला जाने पुग्छI  त्यसको लागि बुद्धकै अनुभवको आधारमा, हाम्रो अभ्यासको आधारमा केहि आयामलाई जान्ने र बोध गर्ने प्रयास गरौँI

चेतना

बुद्ध चेतनालाई जान्नको लागि चेतना जान्नु जरूरी छI जब हामी हरेक घटना, परिवेश, परिस्थिति र मनस्थितिलाई साक्षी अर्थात् द्रष्टा भएर हेर्ने अभ्यास गर्दै जान्छौं तब हामी विचारभन्दा पर स्वकेन्द्रमा प्रतिष्ठित हुन पुग्दछौं। भगवान बुद्ध यसलाई ‘शून्यता’ भन्नुहुन्छ। 'साक्षी' या उन्मनी दशाको अनुभूति गर्ने कला हाम्रो स्वभाव हो। संसारबाट मुक्त, संस्कारबाट मुक्त मन चेतना होI चेतनामा मनको कुनै भूमिका रहदैंनI चेतना जागृत हुन कुनै कारण आवश्यक पर्दैनI

जसरी विनाकारण सूर्यले सारा जगतलाई आफ्नो दिव्य प्रकाश प्रदान गरिरहेको छ त्यसैगरी हाम्रो चैतन्यरुपी आत्माबाट विनाकारण सबैलाई प्रकाश छर्न सक्छौंI यो चेतनाको काम होI  मनको शुद्ध रूप चेतना भएको कारणले विनाकारण प्रष्फुटन हुने प्रेम, ध्यान, भक्ति र सुमिरन चेतनाका उपज हुन्। जसरी काठको बोक्रालाई मेशिनको सहायताले पेलेर कागज तयार गरिन्छ त्यसैगरी, मनरूपी बोक्रालाई पेलेर ध्यान, प्रेम, भक्ति र सुमिरनमा परिणत गर्ने काम चेतनाले गर्दछI

बुद्ध दर्शनलाई आत्मसात र प्रयोग गर्दै अध्यात्म उपनिषदमा परमगुरु ओशोले व्याख्या गर्नुभएको छ-तिम्रो जीवनमा आइपरेका घटना र परिस्थितीहरुलाई केवल साक्षी भएर अर्थात द्रष्टा, देख्नेवाला, गवाह भएर हेर तब मात्र जीवनप्रति राम्रो नराम्रो अर्थ लाग्दैन र हरेक परिस्थिती र घटनालाई तिमी स्वीकार्न सक्ने हुन्छौ। आफ्नो भित्रको संगीत सुन, भित्रको प्रकाशलाई जान, मौनतामा डूब, अन्तराकाशको अनुभूति गर, भित्रको जान यही परम चैतन्यको बोध तिम्रो स्वभाव हो भनेर ओशोले प्रकाश पार्नुभएको छ। गुरु स्मरण र गुरुको सहायताले चेतना विकासमा प्रत्यक्ष सघाउ पुग्छ|

चेतना विकासको परिणाम हो हामी आफ्नै स्वभावसंग परिचित हुनुI चेतनाको विकास हुनासाथ जीवनमा प्रेम र आनन्द मात्र अनुभूति हुन थाल्दछI आजभन्दा सय वर्ष अगाडिसम्म विज्ञानले यो जगतमा केही छ भने त्यो हो पदार्थ भनेर व्याख्या गर्ने गर्दथ्योI  त्यसैले हामीले विज्ञानवाद अर्थात् भौतिकवाद अध्यात्मभन्दा अलग रहेछ भनेर बुझ्यौंI सय वर्ष पछाडिको कुरा हो विज्ञानले पनि अनुसन्धान गर्दै जाँदा, ऊर्जाको स्वरूप अणु, परमाणु सम्म पत्ता लगाउँदै जाँदा थाहा पायो कि परमाणुको सूक्ष्म तत्वमा त झनै अदृश्य ऊर्जा शक्ति छिपेको हुँदोरहेछI 

ध्यान कसरी गर्ने भन्ने प्रश्नको अलावा दिनमा कम्तिमा १ घण्टा केही नगरी मौनमा कसरी बस्ने भन्ने जान्न खोज्यो भने सार्थक हुनेछ। हामी मानिस कर्मयोगी हौँ २४ घण्टा समय केही न केहि नगरी हामी बस्नै सक्दैनौं र बस्न हुँदैन पनि। तर २४ घण्टा मध्ये १ घण्टा आफ्नो लागि छुट्टयाएर केही नगरी प्राणायामका साथ आफ्नो आउँदै जाँदै गरेको स्वासलाई ध्यान दिएर बस्नु नै ध्यानमा उपलब्ध हुनु हो।

गजबको कुरा यहि हो कि पदार्थ देखिन्छ, भौतिक वस्तु देखिन्छ, चेतना अदृश्य हुन्छI परमगुरु ओशोले यसलाई खुलेरै बोल्नुभयो- ऊर्जाको सघन रुप पदार्थ हो भने चेतनाको सघन रुप ऊर्जा होI भौतिकवादले पत्ता लगाएको नयाँ सिद्धान्त- अनिश्चितताको सिद्धान्तले पनि यहि प्रमाणित गरेको छ कि देख्न र प्रयोग गर्न मिल्ने अणु, परमाणुभन्दा पर पनि देख्न नसकिने, नाप्न नसकिने र बताउन सकिने ऊर्जा रहेछ त्यो हो चेतनारुपी ऊर्जाI

आजका हामी मनुष्य शौभाग्यशाली छौं कुनैपनि जीवित गुरूको सानिध्यमा रहेर या निरन्तर स्व-भाव, अंतर्तममा डुब्ने अभ्यासबाट सहजै आफ्नो चेतनामा स्थिर हुने कला जान्न सक्दछौंI

जागरूकता

बुद्धले दिएका धेरै देशना र सूत्रमध्ये जागरूकतालाई आत्मसात गर्दै ध्यानमा डुब्ने अभ्यासलाई निरन्तरता दिन सकेमा बुद्ध चेतनाको अनुभूति गर्न सकिन्छI होश अर्थात् जागृति, कम्तीमा आफूले के गरेको छु थाहा पाउनु नै जागरूकता हो।

बुद्धकै भाषामा, अनुभवमा भन्नुपर्दा जीवन जिउने महत्वपूर्ण कला मध्य एक हो जागरूकता। एक द्रष्टा झैं आफैंले आफैंलाई हेर्ने एक मूलमन्त्र हो जागरूकता। आफूले गरिने कर्महरु जस्तै -हिँड्दा, बोल्दा, कुराकानी गर्दा, खाँदा, पढ्दा, स्वास लिँदा -छोड्दासमेत सबै कामहरूमा भित्रबाट आफैं द्रष्टा भएर हेर्ने कला। आफ्ना शरीरका क्रियाकलापहरुप्रति होशपूर्ण हुनु, आफ्नो आउँदै जाँदै गरेको श्वासप्रति होशपूर्ण हुनु, स्वाद, गन्ध, ध्वनि, दृष्य र स्पर्शप्रति होशपूर्ण रहनु सबै जागृत अवस्थाका लक्षणहरु हुन्।

आफूले व्यक्त गर्ने र अरुबाट प्राप्त गर्ने हार्दिक अनुभूति जस्तै प्रीति, स्नेह, श्रद्धा जस्ता संवेदनाप्रति होशपूर्ण हुनु पनि जागृत अवस्था हो। दिव्य नाद, अकारण खुसी या दु:खी, शान्ति या अशान्ति सबै विचारहरूप्रति होशपूर्ण हुनुपनि जागृत व्यक्तिका गुण हुन्।

जागृत व्यक्ति कहिल्यै दु:खी बन्नु पर्दैन। ऊ सधैँ प्रेमभाव र समभावमा जिइरहेको हुन्छ। कसरी, के, किन, कसको लागि गरिरहेछु र यसले आफूलाई या अरूलाई सकारात्मक ऊर्जा दिन्छ या नकारात्मक त्यो जान्न सक्नु जागरूकता हो। प्रत्येक व्यक्ति, राजनेता र राष्ट्र विकासका सरोकारवाला सबैले यो अभ्यासलाई व्यवहारिकता दिनु आवश्यक छI

जागरूकताको कला जानेपछि जीवनमा चाहेको सबै कुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो त्यसको मात्र चाहना हुन्छ। हरेक विचार प्रतिको द्रष्टा भाव, प्राकृतिक स्वभाव र सहजताको परिणाम हो जागरूकता। जागरूकताले आत्मविश्वास बढाउँछ र आनन्दपूर्ण जिउने कला प्राप्त हुन्छ।

ध्यान

ध्यानको अभ्यासविना बुद्ध चेतनालाई जान्न सकिन्नI ध्यान कुनै कठिन अभ्यास र विधि होइन, ध्यान हो आफ्नो स्वभावI मनले अनेक अनुभव सँगालेर जीवनमा पटक पटक सुख, दु:खका कथा रचेको हुन्छ भने सबै अनुभवबाट मुक्त भएर शान्त चेतनामा स्थिर रहने अवस्था ध्यान हो। अनुभव बाहिरको विषय वस्तुसँग सम्बन्धित हुन्छ भने ध्यान विषयवस्तु रहित चेतना हो।

जतिबेला बुद्धिले हार खान्छ, मन थकित हुन्छ तब ध्यान घटित हुन्छI जसको अधीनमा बस्नुपर्छ त्यो हाम्रो स्वभाव होइनI जसको मालिक हुन सकिन्छ त्यो हाम्रो स्वभाव होI ध्यान हो विश्रामI प्रायजसो मानिसको प्रश्न हुने गर्दछ ध्यान कसरी गर्ने? ध्यान गर्ने कुरा होइन। सबै भावदशा र मनका वृत्तिहरुबाट खाली भएको अवस्था ध्यानस्थ अवस्था हो।

ध्यान कसरी गर्ने भन्ने प्रश्नको अलावा दिनमा कम्तिमा १ घण्टा केही नगरी मौनमा कसरी बस्ने भन्ने जान्न खोज्यो भने सार्थक हुनेछ। हामी मानिस कर्मयोगी हौँ २४ घण्टा समय केही न केहि नगरी हामी बस्नै सक्दैनौं र बस्न हुँदैन पनि। तर २४ घण्टा मध्ये १ घण्टा आफ्नो लागि छुट्टयाएर केही नगरी प्राणायामका साथ आफ्नो आउँदै जाँदै गरेको स्वासलाई ध्यान दिएर बस्नु नै ध्यानमा उपलब्ध हुनु हो।

केही नगर्नु, विश्रामपूर्ण बस्नु र हाम्रो आन्तरिक ऊर्जालाई प्रस्फुटन हुन दिनु ध्यान हो। यही आन्तरिक ऊर्जाको मस्तीलाई जान्नु बुद्ध चेतनालाई जान्नु पनि हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.