|

कोरोना महामारीको अघिल्लो भेरियन्ट रोक्न भारतका विभिन्न राज्यमा लकडाउन घोषणा गरिएको थियो। लकडाउनको समय बढ्दै जाँदा आप्रवासी कामदार जो भारतका विभिन्न राज्यमा थुनिन बाध्य भए, ती कामदारहरू आफ्नो गाउँ फर्कन चाहन्थे।

तर, पूर्ण लकडाउन र यातायात बन्द भएपछि उनीहरू पैदलै आफ्नो गाउँ फर्किरहेका थिए। फर्किएकाहरूमध्ये अधिकांश मजदूरी गर्न भारतका विभिन्न राज्यमा पुगेका भारतीय नै थिए। कतिपय गर्भवती महिलाहरू थिए त कतिपय वृद्ध। उनीहरू पैदल नै लामो यात्रा तय गर्दै थिए।

मजदुरहरू पैदलै सयौं किलोमिटर दूरी छिचोल्दै आफ्नो घरतर्फ जाँदै गर्दा सञ्‍चारमाध्यमहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। यो दृश्य भारतीय अभिनेता सोनू सूदका लागि कारुणिक मात्र होइन, जीवनमा देखिएको सबैभन्दा पीडादायी दृश्य लाग्यो।

विभिन्न राज्यमा अड्किएका कामदारलाई गन्तव्यमा पुर्‍याउन सूद मैदानमा उत्रिए। उनले एक अन्तरवार्तामा भनेका छन्, 'मलाई यो स्थानमा पुर्‍याउन यिनै व्यक्तिहरूको ठूलो हात छ। उनीहरूलाई पीडा हुँदा म चुपचाप बसिरहन सक्दिनथेँ।'

उनले बस, रेल र हवाई माध्यमबाट देशका विभिन्न क्षेत्रमा खाद्यान्नको व्यवस्था सहित यात्रुहरूलाई घर पुर्‍याएका थिए, जुन निरन्तरता आज पनि छ।

विदेशमा रहेकी एक छात्रालाई स्वदेश फर्काउन पनि उनले पहल गरेका थिए। अहिले सोनूलाई दिनभर फोन र मेसेज आउन थालेको छ। उनी यो कामका लागि दैनिक १८ घन्टासम्म खटिने गरेका छन्। शुरूवातमा यो कामका लागि एक्लै भए पनि अहिले उनको टीम बनिसकेको छ। तीनवटा टीमले यो काम व्यवस्थापन गरिरहेको उनले एक टेलिभिजन कार्यक्रममा बताएका थिए।

‘हामीले उनीहरूलाई कसरी जान्छौ भनेर सोधेका थियौँ, उनीहरूले हिँडेर जाने जवाफ दिएका थिए। तपाईंको घर जानको निम्ति सबै प्रबन्ध गर्नेछु भनेर महाराष्ट्रबाट अनुमति लिएको थिएँ,’ अभिनेताले सूदले स्मरण गर्दै भनेका थिए, '२०० मानिसहरूको पहिलो टोली बोकेका बसहरू त्यस क्षेत्रबाट हिँडेका थिए, जब तिनीहरू घर हिँड्न बस चढेका थिए। उनीहरूको अनुहारमा मुस्कान थियो।'

हरेक दिन असहाय र पीडित जनताको सेवामा खटिएका सोनूले १० करोड रुपैयाँ ऋण लिएको भारतीय मीडियाले उल्लेख गरेका छन्। उनले आफ्ना विभिन्न ८ वटा सम्पति बैंकमा राखेर १० करोड ऋण लिएको बताइएको छ।

केहि समय महिनाअघि आन्ध्र प्रदेशस्थित चित्तूर जिल्लाको मदनपल्लीका एक किसान परिवारलाई आफूले घोषणा गरेको २४ घण्टाभित्र एक खेत जोत्ने ट्याक्टर उपलब्ध गराएपछि उनको चर्चा पुन: उचाइमा पुगेको थियो।

सामाजिक सञ्‍जालमा उक्त प्रदेशका एक किसानले आफ्ना छोरीको काँधमा हलो राखेर खेत जोतेको तस्वीर सार्वजनिक भएको थियो। उक्त तस्वीर सार्वजनिक भएपछि अभिनेता सूदले एक हल गोरु किनिदिने घोषणा गरेका थिए। तर, केही समयपश्चात् ती किसान परिवारहरू ट्याक्टरको हकदार रहेको भन्दै सूदले ट्याक्टर उपहार दिएका थिए।

उनले भारतीय नागरिकलाई मात्र होइन, नेपाली नागरिकलाई पनि सहयोग गरेका छन्।

अभिनेता सूदलाई उनका एकजना नेपाली फ्यानले शल्यक्रियाका लागि रकम जुटाउनुपर्ने र त्यसका लागि सहयोग गरिदिन ट्वीटरमार्फत आग्रह गरेका थिए। नेपाली प्रयोगकर्ताले आफू १० वर्षदेखि एङ्किलसिङ स्पोनडाइलिटिज (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको समस्या मेन्सन गरेका थिए।

जवाफमा सूदले ट्वीट गरे : अतिथि देवो भवः हिन्दुस्तानबाट नेपाल बिना लठ्ठी दौडँदै पुग्नेछौ। जय हिन्द!’ भन्दै तत्कालै सहयोग गरेका थिए।

त्यस बेलादेखि अहिले कोरोनाको दोस्रो भेरियन्टमा पनि उनले हजारौं प्रवासी कामदारहरू र उनीहरूका परिवारहरूलाई भारतभरका राज्यहरूमा पुग्न सहयोग गरिरहेका छन् र मद्दत माग्न आग्रह गरिरहेका छन्।

उनको सामाजिक सञ्‍जालमा, दिनहुँ फोनमा हजारौं मेल र सन्देशहरूमार्फत मानिसहरूले सहयोग माग्दै आइरहेका छन्। हजारौंले सामाजिक सञ्जाल ट्वीटर, फेसबुक र इन्स्टाग्राममा पनि सम्पर्क गरिरहेका छन्।

सूदले गरिरहेको यो मानवीय सहायताबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। धेरैले उनलाई धन्यवाद दिँदै प्रशंसा पनि गरिरहेका छन्।  भारतको रियालिटी शो 'द कपिल शर्मा शो'मा आएका उनले कतिपयले उनलाई चुनावमा लड्न र नेतृत्वमा आउन अनुरोध गरेको बताएका थिए।

'कलाकारिताको माध्यमबाट मैले धेरै काम गर्न बाँकी छ, मलाई धेरै राजनीतिज्ञले राजनीतिमा आउन अप्रत्यक्ष रुपमा अपिल गरिरहनुभएको छ। तर, म कलाकार भएर नै बाँच्न चाहन्छु', उनले भने।

हिन्दी, तेलुगु र तमिलका कयौं चलचित्रमा काम गरेका सूद अब कलाकार मात्र रहेनन्। उनलाई समाजसेवीको रुपमा हेरिन थालेको छ।

उक्त कार्यक्रममा सोधिएको थियो। समाजसेवाको कर्म कसरी शुरू भयो? सूदले आफ्नी स्वर्गीय प्राध्यापक आमाले भनेको वाक्य स्मरण गरेका थिए।

'जब म पहिलो चोटी मुम्बईको लागि घरबाट हिँड्न लागेको थिएँ, त्यसबेला आमाले भन्नुभएको थियो - सूद ! तिमी तब मात्र सफल हुनेछौ, जब ती व्यक्तिहरूलाई सहयोग गर्नेछौं। जसले तिमीबाट कहिल्यै अपेक्षा गरेका हुँदैनन्', आमाको भनाई स्मरण गर्दै उनले भने, 'यदि कसैले तिमीसँग मद्दत माग्छन्, तिमीले मद्दत गर्छौ। उनीहरूलाई सहयोग गर्‍यौ भने मात्र तिमी सफल हुनेछौ।'

पन्जाबको एक शहर मोगामा जन्मिएका उनी अहिले देशकै असल छोरा बनेका छन्। उनलाई अहिले पनि सामाजिक सञ्‍जालमा देशभरबाट शुभकामना, प्रेम र आशीर्वाद मिलिरहेको छ।

हरेक विपत्तिले नायक र खलनायकको जन्म गराउँछ। कोरोना विपत्तिमा हजारौं प्रवासी कामदारहरू र उनीहरूका परिवारहरूलाई भारतभरका राज्यहरूमा पुग्न सोनू सूद अहोरात्र खटिए। 'रिल लाइफ भिलेन' उनी कोरोना विपत्तिमा 'वास्तविक नायक' सावित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.