आफन्तबाट हौसला अत्यावश्यक

|

म्याग्दी : बेनी बजारस्थित वीरेन्द्रचोक निवासी हिराकुमारी शर्मा (६१) आफ्नो पाँच तले घरको सिरानको कोठामा १० दिनसम्म होम आइसोलेशनमा बसिन्।

स्वाब परीक्षण गर्दा आफू संक्रमित रहेको थाहा भएपछि उनी वैशाख २२ गतेदेखि जेठ १ गतेसम्म होम आइसोलेसनमा बसेकी थिइन्‌। शर्मालाई परिवारका सदस्य, आफन्त, इष्‍टमित्र र अस्पतालका चिकित्सकहरूले फोन गरेर वा प्रत्यक्ष भेटेर यति धेरै माया र हौसला दिए कि उनलाई आफू बिरामी भएको महसुस नै भएन। 

'म सबैकी प्यारी मान्छे रहेछु भन्ने कुरा कोरोनाले बुझाइदियो.' यस सम्वाददातासँग टेलिफोनमा कुरा गर्ने क्रममा हर्षविभोर हुँदै शर्माले भनिन्‌, ‘परिवार, आफन्त, इष्‍टमित्र र भगवानरूपी डाक्टरहरूको शुभेच्छाअघि कोरोना टिक्न सकेन, १० दिनमै भाग्यो।’

उनले थपिन्‌, ‘बिरामी भएर ओछ्यानमा परेपछि मनले नानाभाँती कुरा सोच्न थाल्दोरहेछ, त्यतिबेला परिवार र आफन्तको साथ, सहयोग, माया, हौसला र समयसमयमा औषधी तथा पोषणयुक्त खानेकुरा पाएपछि रोगलाई जित्न सकिँदोरहेछ।’

विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) गरेका बेनी नगरपालिका-२, बगरफाँटका हरि घिमिरेको अनुभव पनि हिराकुमारी शर्माको अनुभवसँग ठ्याक्कै मेल खान्छ। सामान्य खोकी लागेर स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि गत वैशाख १८ गतेदेखि घिमिरे पनि होम आइसोलेशनमा बसे।

त्यसअघिसम्म बगरफाँट गाउँमा कसैले पनि स्वाब परीक्षण गराएका थिएनन्। बेनी अस्पतालमा स्वाब दिएर घर आएपछि उनी घरमै एकान्तवास बसे। फेसबुकमा स्टाटस पोष्ट गर्दै आफूले स्वाब दिएर आएको र रिपोर्ट नआउन्जेलसम्म कसैसँग पनि सम्पर्कमा नआउने बताए।

चार दिनपछि रिपोर्ट आयो। पोजेटिभ देखियो। त्यसपछि उनले आफू कोरोना पोजेटिभ भएको र चार दिन अघिसम्म आफ्नो नजिक बसेका (कन्ट्याक ट्रेसिङ) मा रहेकाहरूलाई सचेत रहन फेसबुकमार्फत नै सबैलाई जानकारी गराए।

‘जब मैले आफू कोरोना संक्रमित रहेको र सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गर्दै फेसबुकमार्फत जानकारी गराएँ, मेरो घरको बाटो भएर मानिसहरू हिँड्नै छाडे,' घिमिरेले भने, ‘परिवारको हार्दिकतापूर्ण साथ, बेनी अस्पतालका डा. नवराज बस्ताकोटी र केही साथीहरूबाहेक गाउँका मानिसहरूले के कस्तो छ भनेर सोधपुछसम्म गरेनन्, गाउँलेहरूको सान्त्वना र हौसला नपाएपनि परिवार र चिकित्सकको आत्मीय व्यवहार र मायाले मैले ८ दिनमै कोरोनालाई जितेँ।’

बगरफाँट गाउँमा अहिले १९ जना कोरोना सङ्क्रमित छन्। ती सङ्क्रमितहरूलाई घिमिरेले सान्त्वना र हौसला दिँदै कोरोनालाई जित्न सकिने उपायहरू सिकाइरहेका छन्। आफ्नो अनुभव सुनाइरहेका छन्। 

घिमिरे भन्छन्‌, ‘कोरोना दैवी श्राप, दुःसाध्य र घृणित रोग होइन, कोरोना सङ्क्रमितहरूलाई छिः छिः र दूरदूर गर्ने होइन, उनीहरूलाई माया र प्रोत्साहन दिनुपर्छ। आत्मबल बढाउने खालका कुराहरू गर्नुपर्छ, देख-भेट, कुराकानी वा नजिक हुँदा कोरोना सरिहाल्छ भन्ने मानसिकतालाई त्याग्दै आफूले स्वास्थ्य सावधानी अपनाउँदै उनीहरूलाई सहयोग गर्न तयार रहनुपर्छ।’

त्यसैगरी, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र सचिव क्याप्टेन मीनबहादुर कार्की पनि कोराना जितेर सामाजिक र राजनीतिक काममा फर्किएका छन्। म्याग्दी कांग्रेसका सचिव क्या. कार्की भन्छन् ,‘नियमित खानपान, औषधी सेवन, चिकित्सकको परामर्श, पारिवारिक तथा सामाजिक सदस्यहरूको रेखदेख, माया र हौसला प्राप्त गर्नसक्ने हो भने कोरोनाले सङ्क्रमण गरिहाले पनि आत्तिइहाल्नुपर्ने अवस्था हुँदैन।’

शर्मा, घिमिरे, रेग्मी र कार्की जस्तै म्याग्दीका ३ सय १९ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार म्याग्दीमा बुधबारसम्म सङ्क्रमितको संख्या १ हजार ६ सय ३४ पुगेको छ भने बेनी अस्पताल र पोखरा लगायत अस्पतालमा गरी ३२ जना संक्रमितले ज्यान गुमाएका छन्‌।

स्वास्थ्य कार्यालयका प्रमुख लम्सालका अनुसार मृत्यु भएकाहरूमा दीर्घ रोग, समयमा नै उपचारको अभाव, शरीरमा अक्सिजनको अत्यधिक मात्रामा कमी लगायतका समस्याहरू देखिएको थियो।

चिकित्सकहरूका अनुसार कोरोना सङ्क्रमणको गम्भीर प्रभाव देखिन थालेकाले अझ बढी सजग एवम् सचेत हुनुपर्ने अवस्था छ। त्यसमाथि दीर्घरोगीलाई संक्रमणपछि जटिल समस्या पनि आउने गरेको पाइएको छ।

खासगरी कोरोना मुक्त भएका दीर्घरोगीहरूले आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्नुपर्ने बेनी अस्पतालका मेडिकल कोओर्डिनेटर डा. नवराज बस्ताकोटीले बताए। उनका अनुसार पहिलो साता ठीक भएजस्तो हुने, तर दोस्रो सातामा अक्सिजन निकै घट्ने, ज्वरो, खोकी बढ्ने, जीउ दुख्ने, चिलाउने, कमजोर हुने, निमोनिया र अन्य लक्षण थपिनेजस्ता समस्या देखिने गरेको पाइएको छ। यस्तो अवस्थामा चिकित्सकसँग तुरुन्त सम्पर्क गरेर उपचार थालिहाल्नुपर्ने उनको भनाइरहेको छ। 

कोरोना नयाँ रोग भएको र दीर्घरोगीलाई यसले अलि बढी असर गर्ने भएकाले आफूले खाइरहेका सम्पूर्ण औषधीको विवरण, कुनै औषधी रोक्नुपर्ने वा थप्नुपर्नेछ कि भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गराइरहनुपर्ने चिकित्सकहरूको भनाइ छ।

कोरोनाले जुनसुकै बेला संक्रमित बनाउन सक्ने हुँदा उच्च मनोबल, एकआपसको आत्मीय सहयोग र साथले सजिलै कोरोनालाई जित्न सकिने बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुवँरले बताए।

उनका अनुसार कोरोना सञ्‍चो हुँदै जाँदा पनि लामो समयसम्म यसले असर गर्न सक्छ। महिनौंसम्म जीउ दुख्ने, एकदम कमजोरी हुने, आँखा धमिलो हुने, उठ्न गाह्रो हुने, सुगर बढ्ने, मानसिक समस्या आउने, स्मरणशक्ति घटे जस्तो हुनेलगायत अन्य असर देखिन सक्छन्। त्यसैले सङ्क्रमण मुक्त भइसकेपछि पनि  चिकित्सकको परामर्श निरन्तर लिँदा राम्रो हुन्छ।

मनोविज्ञानका अध्येता एवम् मनोपरामर्शदाता जीवराज आचार्यका अनुसार कुनै पनि रोग वा समस्याको आधा उपचार भनेको आफ्नो सम्पर्कमा रहेका व्यक्ति (घरपरिवार, आफन्त, साथी, समाज आदि) को सौहार्दपूर्ण व्यवहार, माया, हौसला र हेरचाह नै हो। त्यसैले भोलि मलाई पनि यस्तै पर्न सक्छ भनेर बिरामीप्रति व्यवहार गर्नुपर्दछ।

चिकित्सकसँग परामर्श लिने बेला अत्यावश्यक कुरामा मात्र केन्द्रित हुनुपर्ने अनुभवीहरूको सल्लाह रहेको छ। सङ्क्रमित व्यक्तिले कुनै कुरामा पनि तनाव नलिने, मनोबल खस्कने खालका श्रव्य, दृश्य सामाग्रीहर नहेर्ने, सामाजिक संजालबाट सकेसम्म टाढै रहने गर्‍यो भने कोरोनालाई जित्न सघाउ पुग्ने चिकित्सकहरू बताउँछन्।

कोरोनाको लक्षण देखिनासाथ सबैभन्दा पहिला स्वास्थ्य केन्द्रमा गएर स्वास्थ्य जाँच गराउने, सकेसम्म घर बाहिर ननिस्कने, घरमै बस्दा पनि आफ्नो स्वास्थ्यमा विशेष ख्याल र सजगता अपनाउने, मास्कको प्रयोग गर्ने, हात धुने, सेनिटाइज गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

रोगलाई परास्त गर्न बिरामीको आत्मबलसँगै परिवारको अझ बढी साथ, सहयोग, माया र ममता आवश्यक हने शुक्रबारमात्र सङ्क्रमण मुक्त भएका तीर्थराज सिग्देलले बताए। उनका अनुसार बिरामी भएका परिवारका सदस्यलाई यस्तो बेला अझै बढी माया, ममता र हौसला दियो भने कोरोना विरुद्धको लडाइँमा अझै बलियो हुन सकिन्छ।

नियमित ध्यान, प्राणायाम, प्रार्थना र सकिन्छ भने योगाभ्यास गर्ने हो भने शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त हुने चिकित्सकहरू बताउँछन्‌। त्यसका साथै आध्यात्मिक प्रवचन, भजन तथा आनन्द आउने संगीत सुन्ने र परिवारसँगै समय बिताउने प्रयास गर्नुपर्दछ।

त्यसैगरी, सकेसम्म तातोपानी, झोलिलो खानेकुरा र अन्य पौष्टिक खाना बढी खानुपर्छ। आफूखुसी र अरूको लहैलहैमा अनावश्यक एन्टिबायोटिक र अन्य औषधी प्रयोग गर्नुहुँदैन।

डा. बस्ताकोटीका अनुसार अक्सिजन लेभल सन्तुलित राख्न नियमित घोप्टो परेर सुत्ने गर्नुपर्छ। यसो गर्दा शरीरमा अक्सिजन लेभल बढाउन र सन्तुलित राख्न सहयोग पुग्छ।

चिकित्सकहरूका अनुसार, दह्रो आत्मबल, औषधी र पौष्टिक खानेकुरा, आफन्त र घरपरिवारको हौसला, प्रोत्साहन र हेरचाह अनि चिकित्सकीय परामर्शबाट कोरोनालाई जित्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.