|

धनकुटा : देशका कतिपय ठाउँमा भेन्टिलेटर र आइसीयू बेड अभाव भएका खबरहरू आइरहेका छन्‌। तर, प्रदेश १ का विभिन्न जिल्ला अस्पतालमा सरकारले गत वर्ष उपलब्ध गराएको भेन्टिलेटर र आइसीयू त्यत्तिकै थन्किएको छ।

जिल्ला अस्पताल धनकुटा, उदयपुर, इलाम, पाँचथर र मेची अस्पतालका लागि गत वर्ष नै भेन्टिलेटर किन्न बजेट विनियोजन गरिएको थियो। जिल्ला अस्पतालहरूले सोही बजेटबाट भेन्टिलेटर र आइसीयू किनेको भएपनि अहिलेसम्म सो सेवा सञ्चालनमा छैन। 

कोरोना महामारीमा संक्रमितहरू भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेको बेला सरकारले करोडौँ रुपैयाँ खर्चेर किनेका भेन्टिलेटर भने थन्किएर बसेका हुन्‌।

सरकारले गत वर्ष धनकुटा र पाँचथर जिल्ला अस्पताल तथा मेची अस्पताल लाई ४–४ वटा साथै उदयपुर र इलाम जिल्ला अस्पताललाई २–२ वटा भेन्टिलेटर किन्न बजेट पठाएको थियो। 

बजेट अनुसार भेन्टिलेटर र आवश्यक पूर्वाधार निर्माण गरेपनि ती जिल्लामा राख्ने ठाउँ नहुँदा र आवश्यक प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको हो।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले नौ महिनाअघि चारवटा भेन्टिलेटरसहित १० बेडको आइसीयू कक्ष निर्माण गर्न जिल्ला अस्पताल धनकुटालाई २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, मेसिन खरिद गरिएको लामो समयसम्म सञ्चालनको काम अघि बढेको छैन। 

जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर र आइसीयू बेड राख्न ल्याइएका उपकरण जडान नहुँदा अलपत्र परेका छन्‌। ती उपकरण ल्याएको डेढ महिनाभन्दा बढी समय बितिसकेको छ। स्थान अभावकै कारण जडान हुन नसक्दा भेन्टिलेटर र आइसीयूका उपकरणहरू अलपत्र परेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पुजन विश्वकर्माले बताए।

अस्पतालको दोस्रो तलामा ती उपकरणहरू त्रिपालले छोपेर राखिएको छ। नेपाल सरकारको जनसुरक्षा कोषको सहयोगमा ४ वटा भेन्टिलेटर सहितको १० वटा आइसीयू बेड संचालन गर्न करिव १ करोड ६५ लाख रुपैयाँ लागतको खरिदमा उपकरणहरू ल्याइएको डा. विश्वकर्माले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केही सेवा सहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटर सहितको आइसीयू बेडका लागि आवश्यक उपकरण जडान गर्ने प्रक्रिया अघि बढाइएको थियो।

तर, प्रदेश १ को सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको बैठकले हालको स्वास्थ्य कार्यालय धनकुटा–४ देव्रेबासस्थित महिला विकास कार्यालयको नयाँ भवनमा सार्ने निर्णय गरेको थियो। प्रदेश १ का तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएर स्थान छनौट गरी कात्तिक ६ गतेका दिन उक्त निर्णय गरिएको थियो। 

केहीदिन अघिमात्रै स्वास्थ्यको कार्यालय सरेको र उपकरण जडानको काम शुरू गरिएकोले दुई हप्तासम्ममा जडान हुुने विश्वकर्माले बताए। अस्पतालले भेन्टिलेटर सहितको आइसीयू बेड राख्न आवश्यक पूर्वाधार निर्माणको लागि ठेक्का समेत लगाइसकेको छ। डा. विश्वकर्मा भन्छन्‌, ‘ठेक्का लागिसक्यो, ठेकेदारले काम शुरू गरेको छ।’ असारसम्म निर्माण सम्पन्न गरिसक्ने गरी ३० लाख रुपैयाँमा ठेक्का लागेको हो।

यता, भेन्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ट र फिजिसियनको आवश्यकता हुन्छ। तर, जिल्ला अस्पतालमा एनेस्थेसियोलजिष्ट, फिजिसियनको दरबन्दी नै कायम गरिएको छैन।

जिल्ला अस्पताललाई विशेषज्ञ सेवा तर्फको विज्ञापन र पदपूर्ति गर्ने अधिकार नभएको कारण हालसम्म पदपूर्ति गर्न नसकेको अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताए।

‘प्रदेश १ सरकारको सहयोगमा गत आर्थिक वर्षको असार मसान्तमा ४ वटा भेन्टिलेटर प्राप्त भएको छ, जडानको काम भइरहेको छ तर, जडानपछि पनि सञ्चालनमा आउनसक्ने अवस्था नै छैन,’ उनले भने, ‘भेन्टिलेटर सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन सकेको छैन, तर जनशक्ति माग गर्ने काम भइरहेको छ। जडान भइसक्दा जनशक्ति आउने अपेक्षा गरेका छौँ।’

हाल कोभिड १९ सङ्क्रमणको भयावह अवस्थामा यसको आवश्यकता धेरै नै रहेको छ। कोभिड–१९ सम्बन्धी उपचारको लागि आउने बिरामीहरूलाई आइसीयू र भेन्टिलेटरमा समेत राखेर उपचार गर्नुपर्ने हुन्छ। तर, जिल्ला अस्पतालमा उपकरण भएपनि जडान नहुँदा सेवाग्राहीहरू छिमेकी जिल्ला सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुपर्ने बाध्यता रहेको छ।

जिल्ला अस्पताल उदयपुरमा पनि प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट पठाएकोमा २ वटा भेन्टिलेटर ५ वटा आइसीयू बेड निर्माण गरिएको छ। भेन्टिलेटर र आइसीयू बेड सञ्चालन गर्न सक्ने अवस्थामा भए पनि जनशक्ति नभएका कारण सञ्चालन गर्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियारले बताए।

उनका अनुसार आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि एनस्थेसिया र पारामेडिक्स डाक्टरको आवश्यकता रहेको छ। उनले भने, ‘हामीले पटक–पटक जनशक्ति माग गर्यौँ, तर अहिलेसम्म सरकारले पठाएको छैन।’ 

यसैगरी, जिल्ला अस्पताल इलाममा पनि जनशक्ति अभावका कारण भेन्टिलेटर  सञ्चालनमा आउन सकेको छैन। दुईवटा भेन्टिलेटर र पाँचवटा आइसीयू सञ्चालन गर्न सकिने अवस्थामा भएपनि जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको हो।

‘दुई महिनाअघि नै जडान गरेर सञ्चालन गर्न सकिने हालतमा राखेका छौँ,’ जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष  गणेशप्रसाद बरालले भने, ‘जनशक्ति माग गरिरहेका छौँ, नपठाएका कारण सञ्चालन गर्न सकेनौँ।’ कम्तिमा पाँचजना प्राविधिक जनशक्तिको आवश्यकता रहेको भन्दै उनले त्यति जनशक्ति प्रदेश सरकारले पठाए धेरैको ज्यान जोगिनसक्ने बताए। 

दुई करोड रुपैयाँमा गत वर्ष खरिद गरिएका ४ वटा भेन्टिलेटर र २ वटा आइसीयू बेड पाँचथरमा पनि सञ्चालन नभई थन्किएका छन्‌। प्रदेश र संघीय सरकारलाई सञ्चालनका लागि आवश्यक जनशक्तिको माग गरिएको र चाँडै व्यवस्था मिलाउने आश्वासन पाएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विमल सापकोटाले बताए। उनले एक–दुई दिनभित्रमै जनशक्ति पठाउने आश्वासन पाएको बताए। 

मेची अस्पतालाई पनि सरकारले ४ वटा भेन्टिलेटर किन्न बजेट पठाएको थियो। बजेट अनुसार भेन्टिलेटर खरिद गरेपनि सो भेन्टिलेटर ननकोभिडका बिरामीका लागि सञ्चालनमा छन्‌। 

दोस्रो चरणको कोरोना भाईरस तीव्र रुपमा समुदायस्तरमा फैलिँदै गई संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा समेत भेन्टिलेटर सहितको आइसीयू कक्ष स्थापना नहुँदा र स्थापना भएका ठाउँमा पनि सञ्चालनमा नआउँदा आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.