विज्ञ भन्छन् : अभिभावकले ख्याल गर्नुपर्‍यो

|

काठमाडौं : नेपालमा कोरोनाको नयाँ भेरियन्टसहित दोस्रो लहर सुरु भएसँगै यसको उच्च जोखिममा बालबालिका परेका छन्। एक महिनामै झण्डै ६ हजार बालबालिका संक्रमित हुन पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड तथ्यांक केलाउँदा वैशाख १२ गतेदेखि जेठ १२ गतेसम्म एक महिनाको अवधिमा मात्रै ९ वर्षमुनिका पाँच हजार पाँच सय ५१ जना बालबालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ। वैशाख १२ गते ६२ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो। वैशाख १७ गतेदेखि यो संख्या ह्वात्तै बढेको पाइन्छ। त्यस दिन एक सय ३९ जनामा संक्रमण देखिएको थियो।

वैशाख २८ गते मात्र दुई सय ४६ जनामा कोरोना संक्रमण देखिएको थियो। एक महिनाको अवधिमा ३२ जना बालबालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

बालबालिकामा यसकारण बढ्यो जोखिम

बाल रोग विशेषज्ञ एवं ईशान बाल तथा महिला अस्पतालका निर्देशक प्रा.डा.आरपी चौधरी बालबालिकाको इम्युनिटी पावर कम भएकाले उनीहरुमा धेरै संक्रमण हुने गरेको बताउँछन्। 

उनी भन्छन,‘पहिलो लहरको कोरोना धेरै संक्रामक थिएन,तर यो नयाँ प्रजातिको कोरोना बढी संक्रामक छ,छिटो नै एक अर्कामा सर्छ,अर्को कुरा बालबालिकामा इम्युनिटी पावर कम हुन्छ, त्यसैले उनीहरुमा बढी संक्रमण देखिएको हो।’

उनका अनुसार बालबालिका जन्मिएपछि एक वर्षसम्मको अवधिमा धेरै एन्टीबडी बनेको हुँदैन। त्यस्तै,पौष्टिक आहारको कमी हुँदा कुपोषण भई उनीहरुको शारिरिक अवस्था नै कमजोर हुन्छ,यस्तो बेला यस्ता रोगले छिट्टै संक्रमण गर्ने गर्छ।

‘बालबालिकामा साबुन पानीले हात धुने मनस्थिति हुँदैन,मास्क लगाउँदैनन्,जो सुकै ठूला व्यक्तिसँग झम्टिन्छन्,अँगालो मार्छन्,त्यसैले अहिले उनीहरुलाई बढि कोरोना संक्रमण देखिएको हो,’चौधरीले भने।

कसरी जोगाउने ?

अहिलेको यो कोरोना संक्रमणबाट बालबालिकालाई बचाउन स्वास्थ्य सुरक्षा सावधानी नै अपनाउनुपर्ने विशेषज्ञ चौधरी सुझाउँछन्। भन्छन्,‘बालबालिकालाई दिइने खोपको ट्रायल हुँदैछ,त्यसैले औषधि नै छैन,उनीहरुलाई कोरोनाबाट बचाउन बेला-बेला साबुन पानीले हात धुनुपर्छ,बाहिर पठाउनु हुँदैन,लानै पर्ने भए मास्क अनिवार्य लगाउनुपर्छ,यसका लागि बढि सचेत अभिभावक हुनुपर्छ।’

उनले भीडभाडमा बालबालिका लैजान नहुने पनि बताए। ‘अभिभावक बाहिरबाट घर पुगेपछि साबुन पानीले हात धोएर सेनिटाइज गरेर एकैछिन पछि मात्रै बालबालिकालाई छुनुपर्छ,’उनले भने,‘सकभर घरमा नै सामाजिक दुरी कायम गर्ने,गराउनुपर्छ,पोसिलो खानेकुराहरु खुवाउनुपर्छ।’

संक्रमणबाट जोगाउन बाल संगठनमा राखियो स्वास्थ्यकर्मी

घरमा रहेका बालबालिका मात्र नभई विभिन्न बाल गृहहरूमा बस्ने बालबालिकाहरूमा पनि कोरोना संक्रमण देखिएको छ। नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेका अनुसार अहिलेसम्म ७ वर्ष उमेरका ५७ जना बालबालिकामा कोरोना संक्रमण भएको छ।

हाल उनीहरुलाई कीर्तिपुरको एक आइसोलेसनमा राखिएका छन्,आज पाँच जना डिस्चार्ज हुँदै छन्। अस्पतालबाट आएका स्वास्थ्यकर्मीबाट संक्रमण फैलिएको हुन सक्ने उनको अनुमान छ।

उनले मित्रपार्क सिफल र भक्तपुरको बालमन्दिर गरी २० वर्ष उमेर समूहसम्मका तीन सय बढी बालबालिका रहेको जानकारी दिइन्। कोरोना जोखिमबाट बालबालिकालाई जोगाउन उच्च सावधानी अपनाइरहेको उनको भनाई छ।

‘हाम्रो संगठनमा राखिएका बालबालिकालाई कोरोनाबाट जोगाउन धेरै स्वास्थ्य सुरक्षा अपनाएका छौ,’उनले भनिन्,‘स्वास्थ्य जाँचका लागि दुई जना स्वास्थ्यकर्मी राखेका छौँ,बालबालिकालाई बाहिर जान दिएका छैनौँ।’

उनले बालबालिकाको इम्युनिटी पावर बढाउन पोसिलो खानेकुरा खुवाइरहेको बताइन्। भनिन्,‘कोरोना संक्रमण भएपनि अहिलेसम्म कसैको मृत्यु भएको छैन,यो नै राम्रो पक्ष हो,हामीले जंकफुड खानमा रोक लगाएकाले बढी पोसिलो खानेकुरामा ध्यान दिएका छौ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.