|

धनकुटा : दोस्रो लहरको कोरोना संक्रमण सन्त्रासपछि गरिएको निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटन गतिविधि ठप्प छन्। जसका कारण होटल व्यवसायी संकटमा परेका छन्। धनकुटालगायत प्रदेश १ का पर्यटकीयस्थल होटल यतिबेला मारमा परेका छन्। 

हरेक वर्ष यो समयमा भरिभराउ हुने प्रदेश १ का पर्यटकीयस्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै बराहक्षेत्र–विजयपुर र इलामको कन्याम अहिले सुनसान छन्।

जसको कारण होटल व्यवसाय संकटमा छ। निषेधाज्ञाकै कारण होटल व्यवसाय बन्द भएपछि ती ठाउँमा होटलबाट हुने दैनिक एक करोड बढीको कारोबार ठप्प भएको व्यवसायीहरू बताउँछन्।

कोरोनाको दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र सहज परिस्थिति आए पनि उठ्न निकै समय लाग्ने तेह्रथुमको वसन्तपुरका होटल व्यवसायी हिमराज कटुवालले बताए।

क्षेत्रीय होटल एसोसिएसन धनकुटाका अध्यक्ष तथा होटल हिले भ्युका सञ्चालक खगेन्द्र विष्टले गत वर्ष भएको पहिलो चरणको लकडाउनका थिलथिलो बनेको होटल व्यवसाय पछिल्लो समयमा केही राम्रो हुँदै आएको थियो। तर फेरि दोस्रो चरणको नयाँ भेरियन्टसहित कोरोना भाइरसको सन्त्रासले थप मारमा परेको बताए।

‘गत वर्ष त सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवधारणा ल्याएपछि अबचाहिँ केही होला कि भनेर उत्साहका साथ होटल व्यवसायलाई थप व्यवस्थित गर्दै लगिरहेका अवस्थामा रहेकै बेला यो सन्त्रासले अर्को संकट निम्त्यायो’, विष्टले भने, ‘धेरैले लगानी गरेर व्यवसायलाई आगाडि बढाए। तर यो गत वर्षकै सन्त्रासले गर्दा ठूलो मारमा परेको थियो, यो वर्ष पनि थप भएपछि यहाँ भन्दा होटल र पर्यटन व्यवसायमा कति क्षति भयो अनुमान नै गर्न नसकिने अवस्था आएको छ।’

सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलेको भए पनि अहिले कोरोना उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत गराएपछि अब लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा होटल व्यवसायी रहेका उनले बताए। धनकुटामा होटल एसोसिएसनमा आबद्ध १ सय ३० होटल रहेका दैनिक ४० लाख बढीको कारोबार हुने गरेको उनको भनाइ छ।

विगतका वर्षहरूमा यो समयमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार मानिस घुम्न आएका होटल एसोसिएसन भेडेटारको अनुमान छ। पूर्वी तराईको बढ्दो गर्मीलाई पनि बिर्साइदिने प्रदेश १ कै पर्यटकीय स्थल भेडेटारमा नयाँ वर्षमा पर्यटक खचाखच हुने गरेका थिए।

तर, दोस्रो चरणको कोरोनाको संक्रमणसँगै भएको निषेधाज्ञाका कारण कोही पनि भेडेटार आउन पाएका छैनन्। भेडेटार मात्रै होइन नजिकैको शैलुङ डाँडा, चाल्र्स प्वान्टको भ्यु टावर, नमस्ते झरना, रानी ताल पनि सुनसान छन्। त्यस्तै, भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर पनि सुनसान छन्।

अमेरिकी समाचार संस्था सिएनएनले विश्वको उत्कृष्ट १२ औ गन्तव्य मध्ये ८ औंमा राखेपछि शुरु भएको नाम्जे गाउँको चर्चा कोरोनाले सुनसान बनाएको छ।

कोरोनाको कारण नाम्जेमा सञ्चालित होमस्टे पर्यटक बन्द भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष अनिल राना मगरले बताए। नाम्जेमा सञ्चालित होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत भएको थियो।

अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामा नै कोरोनाको सन्त्रासले आगमन ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन्। 

दैनिक १५ लाखको आर्थिक कारोबार हुने भेडेटारमा कोरोना भाइरसकै कारण ठप्प भएका होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। कोरोनाकै कारणले हालै मात्रै सञ्चालनमा आएको भेडेटार देवीथान जिपलाइन बन्द छ।

यस्तै निषेधाज्ञाले निजी कम्पनी वर्ल्ड वाइड ग्रुपले जनसहभागितासहित करिब २५ करोडको लगानीमा निर्माण गर्न लागेको स्काइ वक निमार्णको काम प्रभावित भएको छ। निषेधाज्ञाले भेडेटार र आसपासका क्षेत्रमा सञ्चालित होटल बन्द हुँदा बैंकको किस्ता तिर्न र होटल मजदुरको तलब दिन समस्या भएको अध्यक्ष राईले बताए।

यता कोरोना भाइरसकै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सीमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, बराहक्षेत्र र इलाम कन्याम पनि सुनसान बनेका छन्।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइने गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा विशेष गरी मङ्सिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्छन्।

फागुनदेखि जेठसम्म ढकमक्क फुल्ने गुराँसले पर्यटकलाई स्वागत गर्न आतुर हुन्छ। टिएमजे क्षेत्र पुगेपछि वनैभरि रातै फुलेको लालीगुराँसले लालीगुराँसको संसारमा पुगेजस्तो अनुभूति हुने भएकाले पर्यटकहरू रमाउने गर्छन्।

यस वर्ष भने गुराँस कम फूले पनि पर्यटक आगमन भने बढ्दै गएको थियो। तर कोरोनाका कारण पर्यटक संख्या शून्य भएको तेह्रथुमको लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोख्रेलले बताइन्।

समुन्द्र सतहदेखि दुई हजार ८ सय २९ मिटरको उचाइमा टिएमजे क्षेत्र छ। टिएमजे क्षेत्रबाट मकालु, कञ्चनजंघालगायत हिमाल देख्न पाइने भएकाले यस क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको भए पनि यतिबेला सुनसान बनेको स्थानीय छिरिङ लामाले बताए।

गएका नयाँ वर्षहरूमा दैनिक पाँच हजारभन्दा बढी आन्तरिक पर्यटकहरू यस क्षेत्रमा आउने गरेका थिए। नयाँ वर्षकै दिन पनि टिएमजेमा १५ हजार बढी पर्यटक आएका लामाले बताए। 

टिएमजेमा मुख्य गरी तराइका जिल्लासहित देशका विभिन्न ठाउँबाट पर्यटकहरू डाँडाकाँडा र भौगोलिक सौन्दर्य हेर्न आउने गरेका थिए। प्रायः आन्तरिक र बाह्यपर्यटक लालीगुराँस हेर्न, फोटो खिच्न र शहर बजारको भीडबाट केही समयलाई तनावमुक्त हुन यहाँ आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.