महिलाभन्दा पुरुषको संख्या धेरै

|

काभ्रे : विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट आक्रान्त बनेको काभ्रेमा दोश्रो लहरमा पहिलोभन्दा दोब्बर बढी संक्रमितको मृत्यु भएको छ। बिहीबार साँझसम्म दोस्रो लहरको कोरोनाबाट जिल्लामा १ सय २१ जनाको मृत्यु भइसकेको छ। 

यसअघि पहिलो लहरको कोरोनाबाट १४ महिला र ३१ पुरुष गरी ४५ जनाको मात्रै मृत्यु भएका थिए। जिल्ला स्वास्थ्य कार्यालयले पहिलो र दोस्रो गरी हालसम्म कोरोनाबाट जिल्लामा मृत्यु हुनेको संख्या १ सय ६६ जना पुगिसकेको जनाएको छ।

जसमा जिल्लाभित्रका १ सय १९ जना र अन्य जिल्लामा स्थायी घर भई काभ्रेमा उपचार क्रममा मृत्यु हुनेमा ४७ जना छन्। अधिकांशको अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ।  

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले पहिलो लहरको तुलनामा दोश्रो लहरमा मृत्यु हुनेको संख्या धेरै बढेको बताए।

उनका अनुसार जिल्लामा दोस्रो लहरको कारोनाका कारण २० वर्षदेखि ८७ वर्षसम्मका व्यक्तिहरूको मृत्यु भएको छ। त्यस्तै कोरोनाकै कारण मृत्यु हुनेमा महिला भन्दा पुरुषको संख्या धेरै छ।

दोश्रो लहरको कोरोनामा सबैभन्दा धेरै धुलिखेल नगरपालिकामा २५ जनाले मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा ३ जनाको घरमै र २२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हुन्।

धुलिखेलपछि बनेपामा १३ जना पुरुष र ७ जना महिला गरी २० जनाको मृत्यु भएको छ। त्यस्तै पनौतीमा ७ पुरुष र ६ महिला गरी १३ जनाको मृत्यु भइसकेका छन्। संक्रमणबाट मृत्यु हुनेहरूको शवलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलले पशुपतिको विद्युतीय शवगृह तथा स्थानीय तहहरूले तोकेको स्थानमा लागेर अत्येष्टि गर्दै आइरहेका छन्।

कोरोना गाउँगाउँ फैलानुका साथै लक्षण मिल्ने व्यक्तिहरूले पनि कोरोनालाई गम्भीरतापूर्वक नलिई परीक्षणसमेत नगर्ने अनि स्वास्थ्य स्थिति एकदमै जटिल भएपछि मात्रै अस्पतालन जानले पनि मृत्यु हुनेको संख्या बढिरहेको छ।

यदिसम्म कि परिवारका सदस्यहरू, आफन्त र छिमेकीहरूमा संक्रमण देखिँदासमेत कोरोना परीक्षण गर्न मान्दैनन्। जसले गर्दा स्थानीय तहहरूले गरेका प्रयासले पनि संक्रमण दर बढ्नबाट कम गर्न सकिरहेको छैन।

विशेष गरी पहिलो चरणमा अन्य रोग भएका व्यक्तिहरूमा संक्रमण देखिएको भए पनि दोश्रो लहरले भने कुनै रोग भएका नभएका व्यक्तिसमेत संक्रमित भएका छन्। जिल्लास्थित धुलिखेल र बनेपाका दुई अस्पतालसँगै प्रादेशिक अस्पताल मेटिनकोट, कोभिड डेडिकेट भोमी अस्पताल, अस्थायी कोभिड अस्पताल लगायतमा काभ्रेसँगै विभिन्न जिल्लाबाट आएका संक्रमितहरूको उपचार भइरहेका छन्। 

सक्रिय संक्रमित स्थानीय तहमा कति ?

जिल्लामा दोस्रो लहरको संक्रमितहरू ४ हजार ८ सय ५७ जनामध्ये २ हजार १ सय ५४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य प्रमुख डा. झाले जिल्लामा हाल दोस्रो लहरको सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ८२ जना रहेका जानकारी दिए। 

जसमा बनेपा नगरपालिकामा ४ सय ९९ जना सक्रिय संक्रमित छन्। जुन जिल्लामै धेरै संक्रमण भएको नगरपालिका हो। पनौतीमा ४ सय ३३ जना, धुलिखेलमा ४ सय १, पाँचखालमा ३ सय ३७, मण्डनदेउपरमा १ सय ७७, नमोबुद्धमा १ सय ४८, भुम्लु गाउँपालिकामा १ सय २७, रोशीमा १ सय २६, बेथानचोकमा १ सय २१, तेमालमा एक सय, चौरीदेउरालीमा ६३, महाभारतमा ३० र खानीखोला गाउँपालिकामा २१ जना छन्। जिल्ला १३ वटा स्थानीय तहमध्ये खानीखोलालाई सुरक्षित मानिएको छ। 

डा. झाका अनुसार सक्रिय संक्रमितमध्ये अस्पतालमा १ सय ३० जना र होम आइसोलेसनमा २ हजार ४ सय ५२ जना छन्। हालसम्म काभ्रेमा कोरोनाविरुद्ध खोप पहिलो मात्रा २९ हजार ५ सय ३३ जना र दोश्रो मात्रा १२ हजार २ सय १७ जनाले लगाएका छन्।

त्यस्तै पहिलो लहर १ हजार ३ सय ७२ महिला र २ हजार ४२ पुरुष गरी कुल संक्रमित ३ हजार ४ सय १४ रहेकोमा १ एक ३ सय ५९ महिला र २ हजार ५५ पुरुष गरी ३ हजार ३ सय ६९ जनाले कोरोना जितेका थिए।  

कोरोना जित्नेको संख्या बढे

जिल्लामा पछिल्लो ३ दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमित हुनेभन्दा जित्नेको संख्या बढेका छन्। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ३ दिनयता कोरोना जित्ने संख्या नौ सय पुगेको छ। 

जसमा जेठ ११ गते ४ सय ९९ जना, जेठ १२ मा ३ सय ३ र जेठ १३ मा ९८ जनाले कोरोना जितेका हुन्। त्यस्तै यसबिचमा ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्। यसअघि कोरोना निको हुनेभन्दा संक्रमित हुने संख्या बढिरहेको थियो। 

३ दिनभित्र १२ जनाले ज्यान गुमाए

दोस्रो लहरको कोरोनाबाट काभ्रेमा पछिल्लो ३ दिनभित्र १२ जनाले ज्यान गुमाएको छ। जेठ ११ देखि १३ गतेसम्ममा ५ महिला र ७ पुरुषले ज्यान गुमाएका हुन्। 

उनीहरू सबैको जिल्लास्थित धुलिखेल समुदायिक अस्पतालमा मृत्यु भएको हो। जेठ ११ मा ५ जना, जेठ १२ मा ४ र १३ मा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाभित्रका ८ जना र अन्य जिल्लाका ४ जना छन्।

जसमा पनौती नगरपालिकाका ३ जना, धुलिखेलका २ जना, नमोबुद्ध, बनेपा र रोशी गाउँपालिकाका १/१ जना छन्। त्यस्तै जिल्लाबाहिर भुक्तपुरका ३ जना र ललितपुर १ छन्। पछिल्लो दिन मृत्युदर पनि कम भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.