|

काठमाडौं : कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकसहित झण्डै १४ लाख बढीलाई सरकारले अब दोस्रो मात्रा खोप भने अष्ट्राजेनेका र जाेन्सन एण्ड जोन्सनको लगाउने तयारी गरेको छ। 

पैसा तिरिसके पनि भारतले १० लाख डोज खाेप दिन ढिलाई गरेपछि झण्डै तीन महिनाअघि पहिलो डोज खोप कोभिसिल्ड खोप लगाएकाहरू अझै दोस्रो डोजको पर्खाइमा छन्। त्यसैले सरकारले कोभ्याक्स सुविधामार्फत पाउने थप खोप अष्ट्राजेनेका र जाेन्सन एण्ड जोन्सनको माग्न लागेको हो।

हालसम्म १८ लाख ७ हजार ८०७ जनाले कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन। त्यसमध्ये हालसम्म ३ लाख ८१ हजार ९४ जनाले मात्रै दोस्रो डोज लगाएका र अब १४ लाख भन्दा बढीले दोस्रो डोज लगाउन बाँकी रहेको छ।

यसअघि कोभ्याक्सले कोभिसिल्डको विकल्पमा अन्य खोप रोज्नु भन्ने पत्र पठाए पछि सरकारले अस्ट्राजेनेका र जोन्सनको माग्ने तयारी गरेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि कोभ्याक्स सुविधाबाट भारतको सेरम इन्सटिच्युटले कम्पनीबाट आएको कोभिसिल्ड खोप तत्काल दिन नसक्ने र कोभ्याक्स सुविधामार्फत पाउने खोप पनि नआएपछि नेपालको खोप अभियान प्रभावित भइरहेको छ। 

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा कोभिसिल्डको विकल्पमा कोभ्याक्ससँग अस्ट्राजेनेका र जोन्सनको खोप माग्न लागिएको हो। पहिलो डोज खोप कोभिशिल्ड लगाएकालाई दोस्रो डोज लगाउन मिल्ने भएकाले कोभ्याक्ससँग अस्ट्राजेनेका र जोन्सनको खोप माग्ने तयारी गरिएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा श्यामराज उप्रेतीले बताए।

उनले भने ‘ हाम्रो भण्डार क्षमता अनुसार पनि मिल्ने हुँदा कोभ्याक्सलाई अस्ट्राजेनेकाको खोप माग्ने तयारी छ यो कोभिशिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनेकाको खोप मिल्छ जसले गर्दा हामीलाई सजिलो हुन्छ ।’

उनले त्यसका लागि कोभ्याक्सलाई पत्र पठाउने तयारी भइरहेको समेत बताए। अहिले अस्ट्राजेनेकाको खोप भारतबाहेक दक्षिण कोरिया, बेलायतलगायतका देशहरुले उत्पादन गरिरहेका छन् ।

 यो खोप अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् । सरकारले जोन्सनको खोपका लागि पनि कोभ्याक्सलाई अनुरोध गर्ने तयारी गरिरहेको उप्रेतीले बताए। कोभ्याक्स सुविधाअन्तर्गत नेपालको ६० जनसंख्यालाई खोप दिने घोषणा गरिएको थियो ।

पहिलो लटमा कोभ्याक्सले १९ लाख डोज दिने भनेपनि नेपालले ३ लाख ४८ हजार डोज मात्रै पाएको छ । यस अघि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज, खरिदबाट १० लाख डोज र कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज र नेपाली सेनाका लागि भारतीय सेनाले दिएको १ लाख डोज गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल भित्रिएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.