|

रुकुम (पूर्व) : वरिपरि अग्ला पहाड । नजिकै पुथा र सिस्ने हिमाललगायत अन्य बुकी पाटनमा सेताम्य हिउँ । हिमालको हिउँसँग, वरिपरि बाक्लो मगर खाम बस्ती टल्लक्कै टल्किने गाउँ। तल निरन्तर बग्ने उत्तरगंगा। उत्तरगंगाको सिरमा चिटिक्कै मिलेको कोल गाउँ।

पुथाउत्तरगंगा गाउँपालिका–१२ कोल गाउँकै युवाहरूले सोही वडाको छमारीमा सामूहिक कृषि कार्य सुरु गरेका छन्। पुथा हिमालयन अर्गानिक कृषि प्रालि फर्म दर्ता गरी पुथाउत्तरगंगा–१२ कोलका युवाहरू सामूहिक कृषि कार्यमा लागेका हुन्।

पुथा हिमालयन अर्गानिक कृषि प्रालिका ११ जना युवाहरूको समूहले कोलस्थित छमारीमा एक सय रोपनी जग्गा भाडामा लिई सामूहिक कृषि कार्यमा लागेका छन्। उक्त जग्गा वार्षिक दुई लाख रुपैयाँको भाडामा लिइ सामूहिक कृषि कर्ममा लागिएको कृषि प्रालिका अध्यक्ष सुजन पुन मगरले बताए।

कृषि फर्म सञ्चालनका लागि सबै कानुनी प्रक्रिया पूरा गरी हाल पहिलो पटक कागती खेती र बंगुर पालनबाट काम सुरुवाती गरिन लागिएको अध्यक्ष पुनले जानकारी दिए।

पहिलो पटक दुई हजार पाँच सय बोटको कागती रोप्नका लागि हाल खाडल खन्ने र बंगुर पालनका लागि खोर निर्माणको काम भइरहेको प्रालिले जनाएको। ‘यही महिनामा दुई हजार पाँच सय कागतीका विरुवा रोप्नका लागि खाडल खनि सक्नुपर्नेछ’ पुनले भने, ‘यसैगरी १५ वटा बंगुर पालनका लागि खोर पनि तयार गरिसक्ने भनी हाल काम भइरहेको छ।’

गाउँपालिकाको प्रोत्साहन

कागती खेतीको लागि यस आर्थिक वर्षमा गाउँपालिकाबाट १२ लाख रुपैयाँ अनुदान र बंगुर पालनका लागि गाउँपालिकाबाट नै १० लाख रुपैयाँ अनुदान पाएको अध्यक्ष पुनले बताए।

कागती खेती र बंगुर पालनका गरी दुई कार्यक्रमको अनुदानमै प्रालिको ५० प्रतिशत लगानी रहेकोले यस आर्थिक वर्षको दुई कार्यक्रमको योजनामा ६४ लाख रुपैयाँभन्दा बढीको लगानीमा काम हुने भएको छ।

युवाहरूको सामूहिक पौरखी कार्यलाई थप प्रोत्साहन दिनका लागि वडाले गाउँपालिका र प्रदेश मातहतका कार्यालयसँग पहल भइरहेको वडाध्यक्ष गंगाबहादुर पुन मगरले बताए। अहिले युवाहरूको ऊर्जाशील परिश्रमलाई निरन्तरता पाइ राख्यौँ भने त्यसैअनुसारको सरकारले प्रोत्साहनस्वरूप अनुदान एवं उत्पादनको बजारी करणमा साथ सहयोग रहने वडाध्यक्ष पुनको भनाइ रहेको छ।

आत्मनिर्भरका लागि सामूहिक कृषि

कागती खेती र बंगुर पालनलगत्तै भैँसी र मौरी पालनको योजना पनि रहेको प्रालिले बताएको छ। पशु पालनबाट मासु, दूध र मल तयार हुने भएको छ। पशु पालनबाट मल पनि तयार हुने भएकोले पशु पालनसँग–सँगै फलफूल तथा तरकारी खेती पनि गरिने प्रालिका अध्यक्ष पुनले बताए।

हाल सुरुवातीको चरणमा बंगुर पालन र कागती खेती गर्न लागेका छन्। क्रमशः उक्त ठाउँ थप उत्पादन हुन सक्ने फलफूल, तरकारी खेती र पशु पालन गरी गाउँपालिकालाई मासु, दूध र फलफूलको आत्मनिर्भर बनाउने उद्देश्य राखेका छन्।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वलाई प्रदेश सरकारले अर्गानिक कृषि उत्पादन घोषणा गरी विभिन्न कार्यक्रम लागू गरेको छ। तर, हाल उक्त कार्यक्रमबाट खासै प्रतिफल आउन नसकेको स्थानीयले बताएका छन्।

युवाहरूको सामूहिक कृषि कार्यले अर्गानिक कृषि उत्पादनमा गतिलो उदाहरण दिने स्थानीय बुद्धिजीवी गणबहादुर बुढा मगरले बताए। हाल आगन्तुक पाहुना आउँदा स्थानीय लोकल फलफूल र मासुलगायत अन्य परिकारमा बिक्री वितरण गर्ने अवस्थाको उत्पादन हुन नसकिराखेको बुढाको भनाइ रहेको छ।

स्थानीय अर्गानिक लोकल परिकार उत्पादन गरेर बिक्री वितरण गर्न सकिएमा मात्र पनि हिमाली जिल्लाका मगर खाम बस्तीका आयस्तर माथि उकस्ने बुढाले बताए।

मगर खाम समुदायको आकर्षण

पुथाउत्तरगंगा गाउँपालिकासँगै भूमे गाउँपालिकामा ८० प्रतिशत समुदाय मगर खाम बस्ती रहेकोले यहाँको छुट्टै रहन–सहन र लवाइ–खुवाइ रहेको छ। जसको लागि जिल्लामा आउने आगन्तुक जो कोही पाहुना भूमे र पुथाउत्तरगंगाका बस्तीमा रमाउने गर्ने गरेका छन्। हाल मगर खाम समुदायसँग घुलमिल गर्न धेरैले रुचाउने गरेका छन्। यी समुदायमा मगरहरूको आफ्नो मातृभाषाको बोलिचाली रहेकोले छ। जो सबैको आकर्षक बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.