|
फाइल तस्बिर

काठमाडौं : सरकारले कक्षा-८, १० र १२ को परीक्षा विकल्पबारे निर्णय गरी परीक्षा सञ्चालन भइसकेकाे भए नयाँ शैक्षिक सत्र आगामी असार १ गतेबाट सुरु हुने थियो। तर, निषेधाज्ञा जारी भएको एक महिना पुग्दा पनि यी परीक्षाबारे सरकारले केही निर्णय लिन सकेको छैन्। जसकारण नयाँ शैक्षिकसत्रमा असर पुग्ने निश्चित देखिएको छ। 

कोभिड-१९ कहरका कारण २०७७ सालको शैक्षिक सत्र वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र सरकारले लम्ब्याएर जेठ मसान्तसम्म ​ पुर्‍याइएकाे छ।

०७८ सालको नयाँ शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गर्ने निर्णय सरकारले यसअघि गरेको थियो। जसअनुसार नयाँ शैक्षिक सत्र आगामी असार १ गतेबाट सुरु भई चैत मसान्तमा सकिने थियो। तर,जेठ महिनाको आधा समय वितिसक्दा पनि अझै परीक्षाबारे केही निर्णय नहुँदा शैक्षिकसत्रमा अन्याैलता कायमै छ।

के भन्छ प्याब्सन ?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरी स्थानीय तहले तत्काल कक्षा-८ को परीक्षा विषयमा निर्णय गरे नयाँ शैक्षिकसत्र सहज रुपमा अगाडि बढाउन सकिने बताउँछन्। 

उनले भने,‘कक्षा–८,१० र १२ को परीक्षा आन्तरिक वा वैकल्पिक विधिबाट गर्ने विकल्प बाहेक याे समयमा अरु केही विकल्प छैन,त्यसैले यसबारे सरकारले छिटो निर्णय लिए शैक्षिक सत्रमा क्षति हुँदैन,सबै बाँकी परीक्षा असार महिनाभर सकाएर साउनमा नतिजा प्रकाशित गरी वैकल्पिक माध्यामबाट भएपनि सिकाइ सुरु गर्न सकिन्छ।’

उनका अनुसार कक्षा‍-८ र १० बाहेक अरु कक्षाका परीक्षा केही  विद्यालयले सकाइसकेका छन् भने अरुले वैकल्पिक विधिबाट मुल्यांकन गर्न सुरु गरेका छन्, यी कक्षामा भने भर्चुअल माध्यामबाट पढाइ सुचारु गरिने छ। 

मन्त्रालय पनि अन्याैलमा

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा अहिलेको परिस्थितिबारे अनुमान गर्न नसकिने भएकाले अहिले नै नयाँ शैक्षिक सत्रबारे केही भन्न नसकिने बताउँछन्। 

बुधबार ‘गल्ली गल्ली डटइन्फो’ले आयोजना गरेकाे भर्चुअल छलफल कार्यक्रममा उनले भने,‘यो परिस्थिति कहिलेसम्म जान्छ भन्ने अनुमान गर्न सकिएको छैन,कक्षा–८,१० र १२ काे परीक्षा विकल्पबारे टुंगोमा पुगेपछि मात्रै नयाँ शैक्षिक सत्रको समयसीमा तोक्छौ।’

उनका अनुसार पहिला तोकिएको नयाँ शैक्षिक सत्र समय कोभिडले धक्का दिने देखिएकाले फेरि नयाँ शैक्षिक सत्रबारे थप निर्णय लिने मन्त्रालयको तयारी छ। उनले विभिन्न कक्षाका सबै परीक्षा सकिएमा पठनपाठन सुचारु गर्न पाइने बताए।

‘केही ठाउँमा परीक्षा सकाइसकेको अवस्था छ,’शर्माले भने,‘हामी पढाउन थाल्छौ भन्ने जानकारी पनि हामीकहाँ आएको छ,सिकाइमा विद्यार्थीलाई जोड्नुपर्छ,शैक्षिक सत्रलाई कुर्नुपर्छ भन्ने छैन्।’

उनका अनुसार ८,१० र १२ कक्षा बाहेक अरु तहका परीक्षा विद्यालयले वैकल्पिक विधिबाट लिन पाउने छन्। कक्षा –८ को भने स्थानीय तहले परीक्षाबारे निर्णय लिनुपर्ने र कक्षा-१० र १२ काे हकमा परीक्षा बोर्डले लिएको निर्णयलाई मानी मन्त्रालयले दुई साताभित्रमा परीक्षाबारे निर्णय लिने उनले बताए। 

यस वर्ष पनि भौतिक उपस्थितिमा पठनपाठन गर्ने वातावरण नभएको भन्दै उनले गत वर्ष जारी भएको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’लाई टेकेर सिकाई अगाडि बढाइने बताए। यसका लागि नयाँ पाठ्यक्रम सम्बन्धित ठाउँमा पुर्‍याउन मन्त्रालयले पहल गरिरहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.