|

काठमाडौं : बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले प्रतिवद्धतापत्र अर्थात् चुनावी घोषणापत्र तथा उम्मेदवारका छनाेटका लागि कार्यविधि र मापदण्ड तयार पारेको छ।

माओवादी नेता देव गुरुङको संयोजकत्वमा गठित १३ सदस्यीय निर्वाचन परिचालन समितिले स्थानीय तहमा चुनाव प्रचारका लागि चाहिने प्रतिवद्धतापत्रका साथै उम्मेदवारका लागि चाहिने कार्यविधि र मापदण्डसमेत तयार गरेको हो।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' साताव्यापी चीन भ्रमणमा निस्किनु अघिल्लो दिन बालुवाटारमा बसेको कार्यालय सदस्यको बैठकमा आफूले तयार पारेको प्रतिवेदन बुझाएर समितिले तल्ला कमिटीका लागि परिपत्र पनि जारी गरिसकेको सदस्य गिरिराजमणि पोख्रेलले जानकारी दिए।

'निर्वाचनसम्बन्धी प्रतिवद्धतापत्र र मापदण्ड समेटिएको प्रतिवेदनलाई छलफलको लागि तल्लो कमिटीमा पठाएका छौं', थाहा खबरसँग कुरा गर्दै नेता पोखरेलले भने, 'तल्ला कमिटीबाट आएका सुझावलाई समेटेर परिमार्जनसहित चैत अन्तिमसम्म प्रतिबद्धतापत्र छापिनेछ।'

उम्मेदवार तय गर्दा ध्यान दिनुपर्ने

स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिने तहको इकाईमा पार्टीको एकल विजय हुनसक्छ कि सक्दैन भन्ने समीक्षा गरेर मात्र उम्मेदवार तय गर्न निर्वाचन परिचालन समितिले स्थानीय तहका पार्टी कमिटीलाई सुझाएको छ। सम्बन्धित तहमा अन्य पार्टीको अवस्था के छ, प्रमुख प्रतिद्वन्द्वी कुन पार्टी हो र उसका विरुद्ध मोर्चाबन्दी गरेर जाँदा एक वा एकभन्दा बढी शक्तिसँग सहकार्य गरेमा जीतको सुनिश्चितता हुन्छ कि हुँदैन भन्नेबारेमा गम्भीर विमर्श गरेर निर्णय लिन पनि समितिले स्थानीय तहका नेता कार्यकर्तालाई कार्यविधिमार्फत् सात बुँदामा निर्देशन गरेको छ।

के छ मापदण्डमा?

छलफलका लागि भनेर सबै स्थानीय कमिटीहरूमा पठाइएको प्रतिवेदनमा उम्मेदवार कसरी चयन गर्ने भनेर केही बुँदाहरू बनाइएको नेता पोखरेलले जानकारी दिए। आगामी निर्वाचनका लागि ‘सिंहदरबारकेन्द्रित जनताको अधिकारलाई गाउँ, नगरमा पुर्‍याऔं, स्थानीय तह निर्वाचनमा माओवादीलाई जिताऔं’ भन्ने मूल नारा तय गरिएको नेता पोखरेलले बताए।

जम्मा नौवटा बुँदा तय गरिएको उम्मेदवारीको मापदण्डमा पार्टीको नीति मान्ने, पार्टीको विचारप्रति प्रतिवद्ध, लोकप्रिय छवि भएको, आर्थिक-सामाजिक रूपमा स्थापित व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकताका साथ उल्लेख गरिएको नेता पोख्रेलले जानकारी दिए।

निर्वाचन परिचालन समितिका संयोजक गुरुङका अनुसार उम्मेदवारको लागि जनताको सेवक बन्न तयार हुने, विचार र राजनीतिमा प्रतिवद्ध, इमान्दार, जनताको मन जित्न सक्ने, आर्थिक अनियमिततालगायतका मुद्धाबाट मुक्त र जनतामा स्थापित पात्रको चयन गरिनेछ।

त्यसैगरी कार्यविधिमा स्पष्ट वर्ग दृष्टिकोण भएको, न्यायपूर्ण आन्दोलनमा भूमिका निर्वाह गरेको, इमान्दार, अनुशासित  र चुनावी रणनीतिमा दख्खल भएको पात्रले सजिलै उम्मेदवारी पाउन सक्ने गरी आधार बनाइएको गुरुङ बताउँछन्।

यस्ता पात्र चयन गर्ने कुरामा स्थानीय पार्टी कमिटीले नै बढी भन्दा बढी ध्यान दिनुपर्ने गुरुङको तर्क छ। युद्ध लडेर आएका र शान्ति प्रक्रियामा पार्टी प्रवेश गरेकाहरू सबैलाई मिलाएर उम्मेदवार चयन गरिने पनि नेता गुरुङले बताए। उनले भने, 'हामीले सबैलाई समेटेर लैजाने गरी कार्यविधि बनाएका छौं, कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी होइन।'

तीन हजार ९९९ केन्द्रीय सदस्य रहेको पार्टीमा इमान्दार, योग्य जनताको सेवक हुन तयार हुने एक से एक व्यक्तिहरू रहेको पनि उनले दावी गरे। यदि आफ्नो पार्टी सदस्यभन्दा राम्रो उम्मेदवार पार्टीको शुभचिन्तक वा समर्थक अथवा साधारण जनता नै छ भने उसैलाई उम्मेदवार बनाएर भए पनि चुनावमा जीत आफ्नो पक्षमा पार्ने रणनीति पार्टीको रहेको अर्का नेता पोखरेलले बताए।

पार्टी कमिटीको जिम्मेवारी लिएर अगाडि जाने क्रममा केही ‘सिनियारिटी’ र ‘जुनियारिटी’को ख्याल गरिए पनि निर्वाचनको सवालमा यो कुरा लागु नहुने नेता गुरुङको टिपपणी छ। उनका अनुसार पार्टीमा को पहिला लाग्यो, कसले युद्ध लड्यो वा को पछि आयो भन्ने कुरा मूल्यांकनको एउटा पाटो हो, सम्पूर्ण पाटो होइन।

सम्बन्धित कमिटीले उम्मेदवार छनोट गर्दा एकदेखि तीन जनासम्म सिफारिस गर्ने र अन्तिम निर्णय गर्दा सम्बन्धित कमिटीको स्वामित्व रहने गरी निर्णय गरिने कुरा स्पष्ट उल्लेख गरिएको नेता पोखरेलले बताए। महिला, दलित महिलाको कोटामा दाँयाबायाँ नगरी समावेशी सिद्धान्तलाई पूर्णत: पालना गर्न पनि विधि तथा मापदण्डमा स्पष्ट निर्देशन गरिएको नेता गुरुङले बताए।

यस्तो छ उम्मेदवार छान्ने विधि

वडाको प्रमुख र उपप्रमुखको उम्मेदवारको लागि वडा पार्टी कमिटीले गाउँ वा नगर कमिटीलाई सिफारिस गर्नेछन्। गाउँ वा नगर पार्टी कमिटीले त्यसको टुंगो लगाउने र जिल्ला पार्टीले अनुमोदन गर्नेछन्। त्यसैगरी गाउँ वा नगरको प्रमुख वा उपप्रमुखको लागि गाउँ वा नगर कमिटीले सिफारिस गर्नेछ। 

जिल्ला कमिटीले उम्मेदवारको टुंगो लगाउनेछ र प्रदेश कमिटीले त्यसको अनुमोदन गर्नेछन्। महानगरपालिकाको हकमा जिल्ला पार्टीले सिफारिस गर्ने, प्रदेशले निर्णय गर्ने र केन्द्रीय कार्यालयले त्यसलाई अनुमोदन गर्ने गरी आन्तरिक निर्देशिका बनाइएको नेता पोखरेलले जानकारी दिए।

चुनावी तालमेलबारे यस्तो छ कार्यविधिमा

चुनावी तालमेलबारेमा कार्यविधिले आठ बुँदामा आफ्नो मत स्पष्ट गरेको छ। यसमध्ये स्थानीय तहको कुनै एकाइमा एकल अवस्थामै जित्न सकिने भए आफ्नो एकल प्यानललाई प्राथमिकता दिन निर्देशन छ। मुख्य प्रतिद्वन्द्वी भएमा अरू शक्तिसँग तालमेल गरेरै भए पनि चुनावमा बढी सिट ल्याउन प्रयत्न गर्ने र कसैसँग पनि सहकार्य गर्न नसकिने अथवा कुनै पनि स्थान लिन नसकिने अवस्था भएमा विचार, राजनीतिको प्रचारका लागि र संगठनको संरक्षणका लागि मात्र भए पनि सक्दो उम्मेदवारी दिने गरी कार्यविधि ल्याइएको नेता पोखरेलले जानकारी दिएका छन्।

यदि प्रतिकूल अवस्था रहेमा वा तत्कालै केही निर्णय गर्नुपरेमा उम्मेदवार निर्णय गर्ने कमिटी भन्दा माथिल्लो कमिटीको निर्णय वा जिल्ला पार्टीले तय गरेको निर्वाचन प्रमुखको अनुमति अनिवार्य हुने कुरा पनि कार्यविधिमा उल्लेख गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.