|

बाँके : स्वास्थ्यकर्मीमाथि हातपात र आक्रमण भएको भेरी अस्पतालमा प्रहरीले सुरक्षा बढाएको छ। महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरूको मनोबल खस्किने चिन्ता र सुरक्षा चासोका कारण प्रहरी सुरक्षा थप गरिएको हो।

बाँके प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए। उनका अनुसार महामारीको अवस्था सामान्य रूपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए। प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघि देखि नै भेरीमा परिचालित छन्।

७ जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा तीन गुना सुरक्षाकर्मी बढाइएको हो। भेरी अस्पतालमा शनिवार २५ जना सुरक्षाकर्मी थपिएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए।

उपचारार्थ भर्ना भएका दाङ तुलसीपुर उपमहानगरपालिका-११, उरहरीका ५२ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए। आक्रमणमा सत्तारूढ नेकपा (एमाले) कै नेता संलग्न रहेको तथ्य सार्वजनिक भएको छ।

अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि सर्वत्र निन्दा गरिएको छ। आम नागरिक, विभिन्न राजनीतिक दल, स्वास्थ्य सम्बद्ध संस्था, नागरिक समाज, पेशागत संघ-संगठन लगायतले स्वास्थ्यकर्मीको पक्षमा खुलेर वकालत गर्दै सुरक्षा व्यवस्था र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

घटनामा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। बाँके प्रहरीले मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउँदैछ।

भेरी अस्पतालमा पछिल्लो तीन हप्ताको अवधिमा चिकित्सक र नर्समाथि आक्रमण भएको यो चौंथो पटकको घटना हो। यसअघि पनि आकस्मिक कक्ष र कोभिड कक्षमै पसेर विरामीका आफन्त लगायतले स्वास्थ्यकर्मी माथि आक्रमण गरेका थिए।

ती सबै घटना कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर भएका थिए। उपचाररत बिरामीको मृत्यु हुँदा आफन्तले डाक्टर र नर्सहरूलाई नै आइसीयुमा पसेर आक्रमण गर्न थालेपछि आफूहरू त्रासमा काम गर्न बाध्य भएको डाक्टर तथा नर्सहरूले बताएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.