|

चितवन : आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा चितवनमा राम मन्दिरदेखि पानी जहाजको टर्मिनल सहितका पूर्वाधार निर्माणसम्मलाई समेटिएको छ।

शनिबार अर्थमन्त्री विष्णु पोडेलले आगामी आवको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट भाषण गरेका हुन्।

अध्यादेशमार्फत आएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरेको जानकारी दिए। माडीमा अहिले अस्थायी राम मन्दिर निर्माण गरेर राम, सिता, लक्ष्मण र हनुमानको मूर्ती स्थापना गरिएको छ।

त्यसैगरी, जल यातायातका लागि नारायणी नदिको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगालाई मदन आश्रित जलमार्ग नामाकरण गरिने उनले बताए। आगामी आवमा नारायणी सहित कोसी र कर्णालीमा पानी जहाज सञ्चालन गर्न टर्मिनल सहितका पूर्वाधार निर्माणको लागि बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।

भरतपुर विमानस्थलको स्तरोन्नती गर्न पनि बजेटको व्यवस्था गरिएको छ। त्यसैगरी, क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शुसिल कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहत सञ्चालन गरिने व्यवस्था गरिएको छ।

भरतपुर क्यान्सर अस्पतालसहित ६ वठा ठूला अस्पतालको पूर्वाधार निर्माण गर्न एक अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ। चितवनको रत्ननगर नगरपालिकासहित मेचीनगर, रंगेली, कागेश्वरी, मनहरा, सन्धिखर्कलगायतका १७ स्थानमा सरकारले कृषि थोक बजार स्थापना गर्ने भएको छ।

आगामी आवमा समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमअन्तर्गत चितवन, नवलपरासीलगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न ५ हजार स्यालो ट्युबेल र २ सय डिप ट्युबेल जडान गरिने उनले बताए। त्यसका लागि २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

निजी क्षेत्रसँगको सहकार्यमा चितवन, कन्चनपुर, बर्दिया, नुवाकोट र दोलखामा प्रकृतिमा आधारित पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए। चितवन, पर्सालगायत तराई मधेशका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ। जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्युनिकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उनले बताए।

आगामी आवमा अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार प्रारम्भ गरी तीन वर्षभित्र सञ्चालनमा ल्याइने उनले बताए। चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गको पुनः रेखांकन गरी निर्माण सम्पन्न गरिने बजेटमा भनिएको छ। त्यसैगरी, चितवन जिल्ला अदालतको भौतिक पूर्वाधार विकासका लागि पनि बजेट विनियोजन गरिएको छ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणी नदीको पुललाई आकर्षक सिग्नेचर पुलले प्रतिस्थापन गरिने कुरा बजेटले समेटेको छ। सिग्नेचर पुलको डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइने उनले बताए। आगामी आवमा भरतपुरलगायत पाँच ठूला शहरमा विद्युतीय तारहरु भूमिगत गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.