|

विराटनगर : चिकित्सकलाई सेम्पलको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधिको अनुचित प्रयोग हुने गरेको पाइएको छ।

विराटनगर–१५ भट्टीचौकमा रहेको रबि मेडिकलका संचालक ३६ वर्षीय रवि रजकले फिजिसियन सेम्पलको दुरूपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारन गरिएको ४६ कार्टुन औषधि आइतबार बरामद गरेको छ।

रजकको घरभित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन सेम्पल औषधि र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बरामद गरेको छ।

औषधि उत्पादन गर्ने कम्पनीले एमआरमार्फत फिजिसियन औषधि सेम्पलको रूपमा चिकित्सकहरूलाई दिने गर्दछ। तर, फार्मेसी संचालक रजकले ठूलो परिमाणमा अनुचित रूपमा फिजिसियन औषधि संचय गरेर राखेको पाइएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए।

‘रजकको घरदेखि बरामद गरिएको औषधिको बिलबिजक पनि छैन। यसरी ठूलो परिमाणमा बिलबिजकबिना फिजिसियन औषधि संचय गरेर राखिनु गैरकानुनी हो,’ विभागका प्रमुख कट्टेलले भने। पक्राउ परेका रजकको विराटनगरमा थुप्रै फार्मेसी छन्।  

फार्मेसीमार्फत फिसिजियन सेम्पल औषधि नयाँ लेबल टाँस गरी बिक्री वितरण गर्ने गरेको सूचना मोरङ प्रहरीमा पुगेपछि छापा मारेको हो। प्रहरीले सुरूमा जितु मेडिको र शिव मेडिकोमा छापा हानेको थियो। फार्मेसीमा उक्त औषधि फेला नपरेपछि घरमा छापा हानेर बरामद गरेको हो। 

प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि पक्राउ परेका रजकले फिजिसयन सेम्पल औषधिमा अर्को कम्पनीको लेबल राखेर पनि बिक्री वितरण गर्ने गरेको खुलेको छ।

‘रजकको घरदेखि फिसिजियन सेम्पल औषधिदेखि विभिन्न कम्पनीको स्टिगर र लेबल पनि बरामद भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘यसरी अनुचित रूपमा औषधिको संचय गरी राख्नुको विषयमा हामीले गहन अनुसन्धान सुरू गरेका छौं।’

प्रहरीले रजकको घरदेखि पाँच काटुन स्टिकर र लेबल पनि बरामद गरेको छ। यसरी स्टिकर र लेबल राख्नुले अन्य कुनै कम्पनीको औषधिमा नयाँ लेबल राखेर औषधि बिक्री वितरण गरेको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धानको दायरा अगाडि बढाएको छ।

‘यतिको परिमाणमा लेबल पनि बरामद हुनुले फार्मेसी संचालक रजकले अन्य कुनै महँगो औषधिमा नयाँ लेबल टास गरी मुनाफा आर्जन गर्न बिक्री वितरण पनि गरेको हुन सक्छ। हामीले सबै कोणदेखि अनुसन्धानको दायरालाई फराकिलो बनाएका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

प्रहरीले रजकको घरदेखि विभिन्न बैंकको १ सय ७० वटा एटिएम पनि बरामद गरेको छ। पक्राउ परेका रजकलाई प्रहरी र औषधि व्यवस्था विभागले छुट्टछुट्टै मुद्दा चलाउने तयारी गरेको छ।

प्रहरीले रजकलाई कालोबजरी ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको एसपी खड्काले जानकारी दिए। विभागले पनि औषधिको अनुचित प्रयोग गरेको भन्दै औषधि ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.