|

काठमाडौं : सोमबार बिहान ११ बजेतिर निषेधाज्ञा अवधि शुरू भइसकेको थियो। बाहिर सुनसान थियो। फाट्टफुट्ट मात्रै सवारीसाधन चलिरहेका थिए।

तर, चावहिलको गोपीकृष्ण हल अगाडीको फोहोर संकलन केन्द्र ‘परिवर्तन सेवा प्रालि’ भित्र होहल्लासँगै निकै चहलपहल थियो।

करिब २० कामदार संकलित फोहोर भटाभट छुट्याइरहेका थिए। कसैले गाडीमा फोहोर ल्याइरहेका थिए त कसैले फोहोरको बोरा ओसारिरहेका थिए। तिनैमध्येकी एक महिला थिइन्‌ - ओखलढुंगाकी बालिका मगर। 

यतिखेर विश्व नै कोरोना संक्रमणले आक्रान्त भएको छ। नेपाल पनि यसबाट अछुतो छैन। त्यसैले वैशाख १६ गतेदेखि देश निषेधाज्ञामा छ। संक्रमणबाट बच्न अधिकांश सर्वसाधारण घरभित्रै बसिरहेका छन्।

तर, बालिकालाई यसो गरेर सुख छैन। भन्छिन्, ‘कोरोना भन्दै घरमा बस्दा त्यसै खाना आउँदैन, खानाको लागि पनि काम त गर्नै पर्‍यो नि!’ 

संक्रमणबाट बच्न मास्क र पञ्‍जा लाउने गरेको उनी बताउँछिन्। ‘हुन त फोहोरबाट धेरै रोगका संक्रमण हुन्छ भनी विज्ञ भन्छन्‌, झन्‌ कोरोना लाग्ने जोखिम छ, तै पनि काम नगरी सुख छैन,’ फोहोरको बोरा ओसार्दै उनले सुनाइन्‌।

४५ वर्षीया बालिका मगर सुकेधारामा बस्छिन्। यसरी फोहोर टिप्ने र छुट्याउने काम गरेको १० वर्ष भैसक्यो। उनका श्रीमान, दुई छोरी र एक छोरा छन्‌। उनी कुहिने र नकुहिने फोहोर छुट्याएर दैनिक १० देखि १२ सय रुपैयाँसम्म कमाउँछिन्‌। सोही रकमबाट पैसाले घरपरिवार चलाइरहेका छिन्। उनका श्रीमान पनि फोहोर व्यवस्थापनमै काम गर्छन्‌।

‘यही काम गरेर छोराछोरीलाई बोर्डिङ स्कुलमै पढाइरहेको छु,’ उनले भनिन्, ‘अब पनि यही काम गरेर स्नातक सकेमा मास्टरसम्म नै पढाएर राम्रो जागिर पाओस् भन्ने मेरो सपना छ, अवश्य नै उनीहरूको भविष्य उज्ज्वल बनाउनेछु।’ 

वर्षा लिम्बु पनि फोहोर केन्द्रमै काम गर्छिन्। इलामकी वर्षा कोरोना संक्रमणको उच्च जोखिम मोलेर भएपनि आफ्नो पेटसँगै परिवारको भोको पेट भर्न लागिपरेकी छिन्। चावहिलमा बस्दै आएका उनी भन्छिन्, ‘कोरोनाको डर त छ नि! तर के गर्नु? रोगसँग डर मानेर नहुँदो रहेछ, काम गर्नु मेरो बाध्यता छ, स्वास्थ्य सावधानी अपनाउँदै काम गरिरहेको छु।’ 

सफाइकर्मीमाथि समाजको द‍ृष्ट्रिदोष

समाजले अझै पनि फोहोर टिप्ने कामलाई नराम्रो अर्थले हेर्ने र व्यवहार गर्नेगर्छ।

तर, पनि पुरुषसँगै पछिल्लो समय महिलाहरू पनि फोहोरसम्बन्धी काममा सक्रिय हुँदै आएका छन्‌। सामान्य व्यक्ति दुर्गन्धले फोहोरको नजिक पनि जान हिचकिचाउँछन्। तर, फोहोरको काम गर्नेहरू दिनभरी त्यही ठाउँमा बिताउँछन्। यी काम गर्दै गर्दा समाजबाट तिरस्कृत व्यवहार वर्षाले पनि भोगेकी छिन्।

भनिन, ‘समाजमा शहरमा गएर छोरी त फोहोर टिप्ने काम गर्छ रे नी भन्ने गर्छन्, त्यसैले बिहे नगर्दासम्म त यो काम गर्न लाज लाग्थ्यो, घरमा एक वर्षसम्म यो कामबारे केही भनिनँ, पछि घरमा थाहा भयो, तर अरूले जे सुकै भने पनि बिहे गरेपछि त केही लाज लाग्दैन, अरू महिला चाहिँ लजाउँछन्, जे भनेपनि फ्याँकिएका फोहोर उठाएर शहर सफा राख्ने त हामी नै हौँ नि!’ 

२९ वर्षीय वर्षा काठमाडौं छिरेको ८ वर्ष भैसक्यो। ‘काठमाडौं छिरेदेखि नै यही काम गरेँ, तीन जनाको परिवार छ, कहिले दिनको १८ सयसम्म कमाउँछु, यसैमा म र मेरो छोराछोरीको भविष्य देखेको छु, यही काम गरेर छोराछोरीलाई मास्टरसम्म पढाउने मेरो इच्छा छ,’ वर्षाले भनिन्। 

ज्यामी काम भन्दा फोहोर टिप्ने र छुट्याउने काममा बढी कमाइ हुने भएकाले महिलाहरू यही काम गर्नमा प्रेरित भएको उनको भनाई छ। फोहोर संकलन, टिप्ने र छुट्याउने गर्दा सुन, चाँदी र पैसा भेट्ने गरेका समाचारहरूमा सुनिन्छ।

वर्षाले पनि दुई वर्ष अघि दुई आनाको सुन भेटेकी थिइन्‌। ‘काम गर्दा कसैले सुन, चाँदी र पैसा भेटाउँछन्,’ उनले हाँस्दै भनिन्, ‘मैले पनि सानो सुन भेटेको थिएँ, अहिले त भेटेको छैन।’ 

सबै तस्वीर : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.