|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-५, तल्लो भालुखानकी ५० वर्षीया गनिसरा सार्की हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सडकमै हुन्छिन्।

बिहान सबेरै उठेर घरायसी काम गर्छिन्। अनि, खाना बोकेर सडकतिर लाग्छिन्। ठेलागाडी गुडाएर उनी ९ बजे सडकमै पुगेकी हुन्छिन्। ख प्रायः दिन ठेलागाडी गुडाएरै बित्ने गर्छ। यसरी ठेलागाडीसँग पैंठेजोरी खेलेको तीन वर्ष पुग्न थालिसक्यो । 

सामान्य दिनमा त उनलाई काम गर्ने बानी परिसकेको छ। तर, पछिल्ला दिनहरू भने कठिन बनिरहेका छन्। दोस्रो लहरका रूपमा विश्वभर फैलिएको कोभिड–१९ का कारण आफूले चिनेजानेका केही मानिसको मृत्यु भएको खबरले उनको मन पनि डराइरहेको छ।

‘घरमा साना साना बाबु नानीहरू छन्,’ उनले भनिन्, ‘यसरी दिनभरी सडकमा काम गरेर घरमा जाँदा कोरोना सर्ने हो कि भन्ने पीर लाग्छ।’

सडकमा कोरोना संक्रमित बोकेका एम्बुलेन्सलगायत गाडी गुड्छन्। नचिनेका मानिससमेत ओहोरदोहोर गरेका हुन्छन्। तर, महामारीबीच पनि जोखिम मोलेर काम नगरे विहान-साँझ दुई छाक खान पुग्दैन।

खुला सडकमा यसरी काम गर्दा कोरोनाले कति बेला ज्यान लिने हो भन्ने पिरलो पर्छ उनलाई। १० जनाको परिवार अहिले उनकै भरमा छ। स-साना नातिनातिना पनि छन्।

आफ्‍नै जागिरले सबै परिवार जेनतेन पालिएको उनले बताइन्। उनले महिनामा सरदर १५ हजार रुपैयाँ कमाउँछिन्। शनिबार लगायत सरकारी बिदाका दिनमा भने ज्याला पाउँदिनन्। 

‘जब झमझम पानी पर्छ-तब चिन्ता सुरू हुन्छ,’ भालुखानकै ४५ वर्षीय अणमानसिंह अर्घाली मगरलले भने, 'नाली थुनिएर सडकमा पानी भरियो कि, पहिराले सडक अवरुद्ध भएर गाडी गुड्न पाएनन् कि भन्ने चिन्ताले सताउँछ।'

‘यतिबेला कोरोना महामारी फैलिएको छ। बिरामीलाई बोकेर एम्बुलेन्स आउने जाने गर्छन्,’ उनले थपे, ‘मैले सडकको ख्याल गरिनँ भने बिरामीको अकालमा बाटोमै मृत्यु हुन पनि सक्छ। त्यसैले आकाशबाट पानी पर्न थालेपछि सडक हेर्न पुग्छु।’ साना पहिरो आफूहरूले हटाउने गरेको र ठूला पहिरा झरेमा सडक विभाग तथा नजिकको प्रहरीलाई खबर गर्दै आएको अणमानसिंहले जानकारी दिए। 

अरूको चिन्ता गर्ने उनले स्वास्थ्य मापदण्डको पालना गर्न पाएका छैनन्। न त हातमा ग्लोब्स, न मुखमा लगाउन भरपर्दो मास्क, शरीरमा समेत सुरक्षित कपडा लगाएका छैनन्। सेनिटाइजर मात्र प्रयोग गर्दै आएको उनले बताए।

‘दिनभरि सेनिटाइजर घस्दै काम गर्छु,’ उनले भने, ‘साँझपख घरमा गएर साबुन पानीले हात धोएर घरपरिवारसँग बस्नेगरेको छु।’ स्वास्थ्य सुरक्षा सामग्री भए ढुक्क भएर काम गर्न पाइने उनले सुनाए।

छिमेकमा कोरोना लागेको खबरले आफूलाई पनि डर लागेको अर्की लेन्थमेन रमा खत्रीले बताइन्। सेनिटाइजर मात्रै प्रयोग गरेर सडकमा काम गर्नु परेको उनले बताइन्। घरमा श्रीमान बिरामी छन्। ५ वर्षकी छोरीसहित तीन जनाको परिवार छौं। कोरोनाको डरले घर भित्र बसेमा खान छैन। जसोतसो दुई छाक खानकै लागि जोखिम मोलेर सडकमा काम गर्नु परेको बाध्यता उनले सुनाइन्। सुरक्षित भएर काम गर्न स्वास्थ्य सामग्री पाए बाँचिने उनको आशा छ। 

उनीहरूले रैनादेवी छहरा गाउँपालिका–४, छहरा बजारदेखि रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीको बतासेसम्मको सडक खण्डमा लेन्थमेनको काम गर्दै आएका छन्।

सडकमा काम गर्ने लेन्थमेनलाई सेनिटाइजर र मास्क दिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका लेन्थमेनको काम हेर्ने ल्याब टेक्निसियन नवीन कार्कीले बताए। उनीहरूलाई पिपिइ लगायत अन्य सुरक्षा सामग्रीको भने व्यवस्था नभएको उनले बताए। 

लेन्थमेनले काम गरेबापत दैनिक ६६० रुपैयाँ ज्याला पाउँछन्। सरकारी कार्यालयको काम भएपनि नखटिएको दिनको ज्याला भने पाउँदैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.