|

लण्डन : गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनिलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन्।

उपाध्यक्ष खड्काले आफूभन्दा अनुभवी र वरिष्ठ भएकाले अध्यक्ष पदमा गाहा मगरलाई आफ्नो समर्थन रहेको बताएका हुन्। आइतबार राति एक वक्तव्य जारी गर्दै खड्काले अब आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन्।

‘नेपाली समाजको एकताका लागि गैर आवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित्रवत र स्वभाविक बनाउने उद्देश्यले संघमा मैले भन्दा पहिलेदेखि कार्य गर्दै आउनु भएका संघमा म भन्दा वरिष्ठ वर्तमान उपाध्यक्ष तथा वर्ष २०२१–२०२३ का लागि अध्यक्ष पदका उम्मेदवार श्री प्रेम गाहा मगरको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दै मैले अध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको छु,’ वक्तव्यमा उनले भनेका छन्, ‘अध्यक्ष पदमा प्रेम गाहा मगरको समर्थन गर्दै संघमा सकारात्मक परिवर्तन ल्याउने तथा समाज सेवामा निरन्तर क्रियाशील हुने उद्देश्यले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गर्दछु।’

एनआरएनए अभियन्ता शेर सुनारको सक्रियतामा भएको बैठकमा खड्काले अध्यक्ष पदमा उम्मेदवारी नदिई आगामी नेतृत्वका लागि प्रेम गाहा मगरलाई समर्थन गर्दै आफू पुनः एक कार्यकाल गाहा मगरको नेतृत्वमा नै उपाध्यक्ष पदमा बस्न सहमति जनाएका हुन्। अध्यक्ष पदका अन्य आकांक्षीहरूबीच पनि सहमतिको प्रयास जारी रहेको सुनारले बताएका छन्।

एनआरएन यूकेको आगामी कार्यकाल(२०२१–२०२३) का लागि खड्का सहित चार जनाले उम्मेदवारी घोषणा गरेका थिए। खड्काले गाहा मगरलाई समर्थन जनाएसँगै अब उम्मेदवारको संख्या तीन भएको छ। अध्यक्षका लागि उपाध्यक्षहरू प्रेम गाहा मगर र रोजिना प्रधान तथा दीपक श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन्।

एनआरएन यूकेको वर्तमान कार्य समितिमा ६ जना उपाध्यक्ष छन्। ती मध्ये पाँच जना एक ठाउँमा उभिएका छन्। प्रेम गाहा मगर, सुनिलबाबु खड्का, नारायण कँडेल, रामचन्द्र पोखरेल र मोहन कार्की एक ठाउँमा रहेका छन् भने महिला उपाध्यक्ष रोजिना प्रधान एक्लै प्रतिस्पर्धामा छन्।

गाहा मगरलाई समर्थन जनाएका खड्काले पदका लागि तछाडमछाड गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसले बेलायतको नेपाली समाजलाई हित नगर्ने पनि तर्क गरेका छन्। उनले सर्वसम्मत रुपमा नेतृत्व छनौट गर्न पनि आग्रह गरेका छन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.