|

झापा : ७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) को आरोपमा एक किशोर पक्राउ परेका छन्। 

अर्जुनधारा नगरपालिका ७ निवासी बालिकालाई जबरजस्ती करणी गरेको आरोप त्यही ठाउँ बस्ने १४ वर्षीय किशोर पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ती किशोरलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो। 

प्रहरीका अनुसार गत वैशाख १६ गते छिमेकी दाजु पर्ने ती किशोरले बालिकालाई ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेका थिए। बालिकालाई करणी गरेको उनका परिवारजनले समेत थाहा पाएनन्।

घटना भएको तीन दिनपछि मात्र बालिकाको दिदीले घटनाबारे थाहा पाइन्। दिदीले घटना थाहा पाएपछि गाउँभरि हल्ला हुने डरले छरछिमेक र पीडकका परिवार घटनालाई ढाकछोप गर्नतर्फ लागे।

बालिकाको परिवारको आर्थिक अवस्था कमजोरसँगै विपन्न समुदायको रहेकोले छरछिमेक र पीडकका परिवारले उल्टै परिवारजनमाथि दबाब दिए। छरछिमेकले दबाब दिँदा उनका आमाबुबा पनि केही बोल्न सकेनन्।

करणी गर्ने ती किशोरलाई गाउँमा एक भेलाको आयोजना गरी पीडकका हजुरआमाले बालिकाको खुट्टा ढोकेर माफी माग्न लगाएर घटना सामसुम बनाएको स्थानीयको दाबी छ।

घटना सेलाइसकेको झन्डै एक महिना बित्न लागेको थियो।  तर, घटनाको बारेमा चौतर्फी हल्ला फैलिँदै गएपछि नगरपालिकाभित्र कै केही स्थानीय युवाले घटनाबारे थाहा पाए।

त्यसपछि ती युवाहरूले घटनालाई प्रहरीसम्म पुर्‍याउने योजना बनाए। पीडित परिवारलाई संरक्षण दिएर ती युवाले प्रहरीसम्म लगेर किटानी जाहेरी दिन लगाए। पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय अनारमनिमा सोमबार दिउँसो किटानी जाहेरी दिएको डिएसपी थापाको भनाइ छ। प्रहरीमा किटानी जाहेरी परेपछि ती किशोरलाई आज पक्राउ गरिएको डिएसपी थापाले बताए।

यता बालिकाको मेडिकल परीक्षणका लागि हिजै प्रहरीले मेची अञ्चल अस्पताल भद्रपुर पठाइसकेको छ। पक्राउ परेका किशोरलाई झापा जिल्ला अदालतमा लगेर आजै म्याद थप गरिने उनको भनाइ छ।

‘घटना महिना दिन अघिको भएकोले त्यसबारे प्रहरीले स्थलगत अनुसन्धान थालेको छ,’ उनले भने, ‘किशोरीमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाइनेछ।’ त्यति मात्र नभई बालिकाको आफ्नै २५ वर्षीय दाजुले पनि यौन दुर्व्यवहार गरेको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन्।

दाजुले पटक–पटक गुप्तांग खेलाएको बालिकाको बयानमा उल्लेख छ। दाजुबारे पनि बालिकाको परिवारजनले मंगलबार इलाका प्रहरी कार्यालय अनारमनिमा किटानी जाहेरी दिने तयारीमा रहेको बुझिएको छ।

‘अहिलेसम्म परिवारजनबाट दोस्रो किटानी जाहेरी परेको छैन,’ डिएसपी थापाले भने, ‘किटानी जाहेरी परेपछि घटनामा संलग्न व्यक्तिलाई प्रहरी पक्राउ गर्छ, कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.