नेताहरु भन्छन् :  छलफल भइरहेको छ, सम्भावना टरेको छैन

|

काठमाडौं : आन्तरिक विवादले नेकपा एमाले पार्टी फुटको संघारमा पुगेपछि दोस्रो तहका नेताहरूले एकताको पहल थालेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई एक्ल्याएर जान खोजेपछि पार्टी विभाजनको संघारमा पुगेको हो।

खनाल नेपालप्रति आक्रमक रुपमा प्रस्तुत भइरहेका ओली पछिल्लो समय दोस्रो तहका नेताहरूको दबावको कारण लचिलो बन्न बाध्य भएका छन्। यता, ओलीलाई सत्ताबाट हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गर्न हस्ताक्षर गरेका नेपाल समूहका नेताहरूसमेत पार्टी एकतालाई जोगाउन लागिपरेका छन्।

माधव नेपालसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यबाट हटाइसकेको संस्थापन पक्षको मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताको लागि अन्तिम सम्म प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। ‘पार्टी एकताको लागि विभिन्न कोणबाट छलफल भइरहेको छ। विवाद समाधान कार्यदल अहिले अस्तित्वमा छैन। कार्यदलमा रहेका साथीहरू कारबाहीमा परिसक्नु भएकाले आवश्यकता भए अर्को बन्नसक्छ’ उनले भने।

दोस्रो तहका नेता फेरि सक्रिय

पार्टी एकताका लागि दोस्रो तहका नेताहरू सक्रिय भएर लागेका छन्। पार्टीलाई २०७५ जेठ २ कै संरचना अनुसार चलाउन संस्थापन पक्षबाट शुवास नेम्वाङ, विष्णु पौडल, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले सोमबार मध्यरातसम्म पनि छलफल गरे।

होटल याक एण्ड यतिमा भएको दोस्रो तहका नेताहरूबीचको छलफलमा पार्टीलाई मध्यमार्गी भूमिकाबाट अघि लगेर एकता जोगाएर लाग्नुपर्ने विषयमा छलफल भएको बुझिएको छ।

यसअघि पनि सोही होटलमा दोस्रो तहका नेताहरूबीच सहमति बनेको थियो। तर, माधव नेपालले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेपछि सहमति भाँडिएको थियो। देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए।

तर, ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका योगेश भट्टराई र गोकर्ण विष्टले भने देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। पार्टी एकता जोगाउन कै लागि तटस्थ बसेको उनीहरूले बताएका थिए।

फागुन २८ गते र तत्पश्चात बसेको बैठकको निर्णय फिर्ता लिनुका साथै २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै पार्टीको बटमलाईन माधव पक्षको छ।

एकताको सम्भावना

दोस्रो तहका नेताहरूको वार्तापछि एकताको सम्भावना कायमै रहेको निष्कर्षसहित स्पष्टीकरण सोधिएका सांसदहरूमाथि कारबाही प्रक्रिया अघि नबढाएको प्रवक्ता ज्ञवाली बताउँछन्।

‘हामीले एकताको लागि सबै विकल्प खुला गरेर लागेका छौँ। एकताको सम्भावना अझैं छ। त्यसमा दुवै पक्षबाट लचकता अपनाउन आवश्यक हुन्छ’ उनले भने।

पार्टी एकताको लागि विभिन्न कोणबाट छलफल भइरहेको माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण बिष्ट बताउँछन्। उनी भन्छन्, ‘हामी एकताकै पक्षमा छौँ। एकताको लागि माध्यमबाट प्रयास गरिरहेका छौँ। एकताको लागि अन्तिम समयसम्म प्रयास रहन्छ।’

त्यसो त ओलीविरुद्ध संघर्ष गर्दै अर्को पार्टी दर्ता गरेर अघि बढ्नुपर्ने आवाज उठाउँदै आइरहेकी अष्टलक्ष्मी शाक्यलेसमेत एकताको लागि अन्तिम समयसम्म हेर्ने बताइरहेकी छन्।

उनले केही दिनअघि थाहाखबरसँग भनेकी थिइन, ‘उहाँ (ओली) सच्चिने मान्छे त होइन। अझै पनि थोरै आशावादी छौँ। उहाँ सच्चिएर अगाडि बढ्नुहुन्छ कि भनेर। कार्यदललाई पनि हामीले विघटन गरेर कुराकानी नै नगरौँ भन्ने अवस्थामा पुगेको छैनौँ। तर, उहाँकै सर्वसत्तावाद, तानाशाह र निरङ्कुश चरित्र बोकेर अगाडि बढेपछि सच्चाएर अघि बढ्छौँ भन्न धेरै गाह्रो हुन्छ।’

ओलीको रणनीति

ओली नेपाललाई एकपछि अर्को गर्दै कमजोर बनाउने रणनीतिका साथ प्रस्तुत भइरहेका छन्। नेकपाको एकता भंग गरेपछि नेता नेपालसँग करिब ४० सांसद रहेका थिए। तर, नेपालले चालेको पछिल्लो कदममा साथ दिने बेलामा २३ जना मात्रै देखिए।

ओलीले संसदमा विश्वासको मत लिने बेलामा नेपाल पक्षमा २७ सांसद् खुलेकामा देउवाकाे पक्षमा हस्ताक्षर गर्दा सम्म २३ जनामात्रै देखिए। ओलीले देउवालाई प्रधानमन्त्रीको रुपमा हस्ताक्षर गरेका ११ जनालाई पार्टीबाट हटाए। तर, १२ जनालाई स्पष्टीकरण सोधिएको भएपनि कारबाही प्रक्रिया अघि बढाउन अलमल गरिरहेका छन्।

तर, माधव नेपाललगायत पक्षका नेताहरू संस्थापन पक्षमा फर्काउने प्रयास भइरहेको प्रवक्ता ज्ञवालीले बताए।  उनले भने, ‘उहाँहरूको गतिविधि र पार्टी एकताको पहल गर्ने विषय नै अलगअलग भइसकेको छ।

त्यसैले एकता जोगाएर संस्थापन पक्षमा धेरैलाई फर्काउने प्रयास भइरहेको छ।’ उनकाे अभिव्यक्तिले माधव नेपालसहित कारबाही गरेका ११ नेतालाई पार्टीबाट अलग्याएर एकता गर्ने प्रयास भइरहेको संकेत गरेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.