काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण सबै सर्वसाधारण यतिखेर घरभित्रै बसिरहेका छन। काम गर्न नपाउँदा मानिसहरूलाई हातमुख जोर्न सकस भइरहेको छ।
यही बेला खाने तेलको मूल्य आकासिएको छ। जसले निषेधाज्ञाको बेला उपभोक्ता मारमा परेका छन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्ण प्रभा गुरागाईंका अनुसार निषेधाज्ञा हुनु अघिसम्म सनप्लावर खाने तेलको मूल्य प्रतिलिटर दुई सय ३० थियो। अहिले त्यसको मूल्य बढेर दुई सय ४५ पुगेको छ।
त्यस्तै, धारा तेल लकडाउनअघि सम्म प्रतिलिटर दुई सय ३५ थियो भने अहिले बजारमा दुई सय ७० सम्ममा बिक्री वितरण भइरहेको छ। ‘तोरीको तेल पहिला एक सय ८० देखि दुई सय सम्ममा थियो,’उनले भनिन्,‘अहिले दुई सय ९० रुपैया पुगेको छ, एकै महिनामा ९० रुपैयाँसम्म बढाउनु चानचुने कुरा होइन।’
तेल उत्पादकले एकै प्रकारको तेलको मूल्यमा समेत फरक-फरक राखेको पाइएको छ। सनप्लावर तेलमा प्रतिलिटर एउटा दुई सय ३५ र अर्को तीन सय मूल्यको तेल रहेको बजारमा फेला परेको छ। तेलमा यतिधेरै मूल्य वृद्धि हुँदा पनि सरकार न अनुगमनमा लागेको छ न बोल्न सकेको छ।
‘लकडाउनमा मूल्य बढाउनु लुटको व्यापार’
लकडाउनको समयमा मूल्य घटाएर उपभोक्तालाई सहज बनाउनुपर्ने बेला मूल्य बढाउनु लुटको व्यापार भएको मञ्च नेपालका उपाध्यक्ष गुरागाईंले बताइन्। भनिन्, ‘अहिले कोरोना जोखिम छ, संक्रमणबाट बच्न सबै घरभित्रै बसिरहेका छन,काम गर्न पाएका छैनन् सर्वसाधारण, यही बेला तेलको मूल्य बढाउनु राम्रो होइन,मूल्य बढाएर लुटको व्यापार भइरहेको छ।’
मन्च नेपालले जति सम्बन्धित निकायमा मूल्य घटाउन ध्यानाकर्षण गरे पनि सरकारी निकायले नै चासो नदेखाएको उनको भनाइ छ। ‘माथिल्लो स्तरकाले त जति मूल्य तिरेर पनि तेल किनेर भान्छामा तरकारी पकाउलान्, गरिब, मजदुरले कसरी तेल किन्न सक्छौं? सरकारले यस विषयमा तत्काल ध्यानकेन्द्रित गर्नुपर्याे,’गुरागाईंले माग गरिन्।
उनका अनुसार यी तेलबाहेक अन्य सबै प्रकारका खाने तेल, चिनीलगायत अतिआवश्यक खाद्यान्नको पनि मूल्य बढेको छ। तर, बढी भने अहिले खाने तेलकै मूल्यवृद्धि भएको छ।
मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेन
यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी निषेधाज्ञाका कारण प्रभावकारी अनुगमन गर्न नसकिएको बताउँछिन्। भनिन्,‘बाहिर देशमा नै कच्चा पदार्थको मूल्य बढेकाले तेलको मूल्य बढेको भन्ने कुरा आएको छ, पहिला जस्तो निषेधाज्ञाका कारण अनुगमन हुन सकेको छैन, तै पनि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेलाबेला अनुगमन गरेर बढी पैसा लिने व्यापारीहरूलाई कारबाही गरिरहेको छ।’
के भन्छ तेल उत्पादक संघ ?
तेलको मूल्य वृद्धिबारे बुझ्न खाने तेल उत्पादनहरुको छाता संगठन वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष र सदस्यलाई पटक-पटक फोन सम्पर्क गर्दा पनि उनीहरुले फोन उठाएनन्।
यद्धपि सोमबार संघले प्रेस विज्ञप्ति जारी गरी अनुचित ढंगले खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ। अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा केही मूल्य बढेको संघले जनाएको छ।
जारी विज्ञप्तिमा भनिएको छ- ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल,अर्जेन्टिना,क्यानडा,अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ,यसरी मुख्य कच्चा पदार्थ अन्तरराष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तरराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ,१६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।