|

बलिउड अभिनेत्री जुही चावला फाइभ-जी प्रविधिविरुद्ध उजुरी लिएर दिल्ली उच्च अदालत पुगेकी छिन्।

अन्य दुई निवेदनकर्ता सहित अदालत पुगेकी जुहीले ‘फाइभ–जी प्रविधि मानव–स्वास्थ्यका लागि सुरक्षित भए-नभएको जाँच गर्नका लागि सरकारलाई आदेश दिन’ माग गर्दै अदालत गुहारेकी हुन्। उक्त जाँचमा कुनै पनि निजी कम्पनी र व्यक्तिको प्रभाव हुन नहुने मागसमेत गरिएको छ।

झण्डै पाँच हजार पृष्ठ लामो निवेदनमा सञ्चार विभाग विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड भारतीय मेडिकल रिसर्च काउन्सिल प्रदुषण नियन्त्रण बोर्ड आदिलाई सरोकारवालाका रुपमा प्रस्तुत गरिएको छ।

जुहीका वकिल दीपक खोसलाले भने‚‘फाइभ–जी प्रविधिबाट गम्भीर खतरा छ। उक्त प्रविधि खतरामुक्त रहेको पुष्टि नहुञ्जेल फाइभ–जीमाथि रोक लगाइयोस् भन्ने हाम्रो माग छ।’

मोबाइल टावर रेडिएसनबारे जुहीले दश वर्षदेखि आवाज उठाउँदै आएकी छन्।

अमेरिका यूरोप, चीन र दक्षिण कोरियामा फाइभ–जी सेल्युलर नेटवर्क प्रयोगमा आइसकेको छ भने भारतमा परीक्षणको क्रममा छ। द्रुत गतिको इन्टरनेटका साथै टेलिसर्जरी‚ आर्टिफिसियल इन्टेलिजेन्स‚ बिनाचालक कार चलाउने कार्य आदिका लागि यो प्रविधि महत्वपूर्ण मानिन्छ।

तर‚ रेडिएसनको एक्सपोजर बढ्ने हुँदा फाइभ–जीका कारण कैयौं रोगहरू पैदा हुनसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। यस्तै चर्चाका कारण गतवर्ष स्थानीयले बेलायतमा जडान गरिएका फाइभ–जीका टावरमा आगो लगाइदिएका थिए।

बेलायतमा त्यतिबेला फाइभ–जी टावरका कारण कोरोना भाइरस तिव्र गतिमा फैलिएको हल्ला चलेको थियो।

भारतमा पनि यस्तै हल्ला चल्दा सरकारले सफाइ दिनुपरेको थियो।

के छ निवेदनमा ?

निवेदनमा फाइभ–जीका कारण उत्पन्न हुनसक्ने सम्भावित खतराबारे उल्लेख गरिएको छ। उक्त प्रविधि विरुद्ध बेल्जियममा जारी विरोधको वर्णन गरिएको छ। सन् २०१९ मा बेल्जियमको पर्यावरण मन्त्री रहेकी सेलीन फ्रेमांलाई उधृत गर्दै निवेदनमा भनिएको छ‚‘फाइभ–जी होस् वा अरू केही, म त्यस्तो प्रविधिको स्वागत गर्न सक्दिन जसले नागरिकको सुरक्षाका लागि तय गरिएका रेडिएसन मानकको इज्जत गर्दैन। ब्रसेल्सका मानिसहरू गिनी पिग होइनन्। हामी आफ्नो फाइदाका लागि नागरिकको जीवनलाई दाउमा लगाउन सक्दैनौं।’

निवेदनमा भनिएको छ‚‘टेलिकम्युनिकेसन उद्योगको फाइभ–जी प्लान सफल भएको खण्डमा आज दशमा रहेको रेडिएसनको स्तर सय गुणाले बढ्नेछ कुनै पनि व्यक्ति‚ जनावर‚ पक्षी र बोटबिरुवासमेत रेडिएसनबाट बच्नेछैनन्।’

फाइभ–जी प्रविधिमा थ्री–जी वा फोर–जीको तुलनामा अधिक फ्रिक्वेन्सीको प्रयोग हुन्छ।  पुरानो प्रविधिको तुलनामा ज्यादा ट्रान्मिटरको आवश्यक पर्छ‚ जसलाई जमिनको सतहको सक्दो नजिक राख्नुपर्छ।

के भन्छन् अन्तर्राष्ट्रिय रिपोर्ट ?

सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको रिपोर्टमा मोबाइलको प्रयोगका कारण हालसम्म मानव–स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएको उल्लेख छ। तर‚ उक्त रिपोर्टमा इन्टरनेसनल एजेन्सी फर रिसर्चलाई उधृत गर्दै मोबाइल फोनबाट उत्पन्न हुने इलेक्ट्रोम्याग्नेटिक फिल्डस्‌ले मानव शरीरमा क्यान्सर समेत पैदा गर्न सक्ने बताइएको छ। तर‚ त्यसलाई पुष्टि गर्ने प्रमाण भने भेटिएको छैन।

अमेरिकाको एक सरकारी रिपोर्टले रेडियो फ्रिक्वेन्सी रेडिएसनको अधिक एक्सपोजरका कारण मुसाको मुटुमा क्यान्सरजस्तै ट्युमर उत्पन्न भएको पाइएको उल्लेख छ। उक्त अनुसन्धानका क्रममा दुई वर्षसम्म दिनको नौ घण्टाका दरले मुसाको शरीरमा रेडिएसन एक्सपोज गरिएको थियो।

के मोबाइल फोन स्वास्थ्यका लागि हानिकारक छ ? यसबारे अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनको रिपोर्ट भन्छ- 'अध्ययनका क्रममा मानव शरीरमा क्यान्सर पैदा गर्ने किसिमको कुनै प्रमाण भेटिएन।'

सन् २०२० मा प्रकाशित विश्व स्वास्थ्य संगठनको एक रिपोर्टमा भनिएअनुसार‚ फाइभ–जीसहित सबै किसिमका रेडियो फ्रिक्वेन्सीको एक्सपोजरबाट स्वास्थ्यमा उत्पन्न हुनसक्ने खतराबारे सन् २०२२ मा विस्तृत रिपोर्ट प्रकाशित गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.