|

रुकुम (पूर्व) : पूर्वमन्त्री कमला रोका मगर स्वास्थ्य सामग्रीसहित गृहजिल्ला आइपुगेकी छिन्। बुधबार काठमाडौंबाट २० वटा अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्रीसहित पूर्व-खेलकुदमन्त्री रोका जिल्लाका संक्रमित बिरामीको अवस्था बुझ्न र सहयोग गर्न गृहजिल्ला आइपुगेकी हुन्।

माओवादी केन्द्रकी नेतृसमेत रहकी पूर्व-मन्त्री रोका मगरको पहलमा ६ वटा अक्सिजन सिलिन्डर जिल्लामा आइपुगेका छन्। त्यस्तै, अरू ६ वटा अकुसिजन सिलिन्डर पनि जिल्लामा प्राप्त भएका छन्। पत्रकार कुशलव केसीलगायत अन्य व्यक्तिहरूद्वारा संकलन गरिएको रकमबाट ती सिलिन्डर जिल्ला आइपुगेका हुन्।

यी सिलिन्डर जिल्ला अस्पताल तथा गाउँपालिकाका आइसोलेसनमा आवश्यक्ताअनुसार प्रयोग हुने नेतृ रोकाले जानकारी दिइन्। काठमाण्डौंबाटै रिफिल गरेर उक्त असिक्जन सिलिन्डर जिल्ला ल्याइएको हो। सिलिन्डरको साथमा स्वास्थ्य विभागबाट प्राप्त १० लिटरको एउटा कन्सन्ट्रेटरसमेत रोकाले ल्याइकी छिन्।

साथै एउटा डिजिटल थर्मोमिटर, १० वटा इन्फ्रारेट थर्मोमिटर, १० वटा पिपिई सेट, अक्सिजन सिलिन्डरका रेगुलेटर, पल्स अक्सिमिटर, फेस शिल्ड, स्यानीटाइजर, सर्जिकल मास्क तथा ग्लोब्स लगायतका सामग्री पनि ल्याइएको रोकाले बताइन्।

विभिन्न निकायसँग समन्वय गरी उक्त सामग्री जिल्ला ल्याइएको र आवश्यक्ताका आधारमा प्रयोग हुने उनको भनाइ छ।

बुधबार उक्त स्वास्थ्य सामग्री बोकेर जिल्लाका आइसोलेसनमा भर्ना भएका संक्रमितको अवस्था रोकाले अवलोकन गरेकी हुन्। स्थलगत रूपमा संक्रमितको उपचार अवस्था अवलोकन गरिएकोले थप समस्याको पहल गरिने उनले बताइन्।

अगाडिका दिनहरूमा पनि रोकाले नेपालगञ्जबाट केही सिलिन्डर,  पूर्व-मन्त्री गणेशमान पुन मगरले ६ वटा अक्सिजन कन्सन्ट्रेटर जिल्ला पठाएका थिए।

बजारमा सामग्री नपाउने र नक्कली सामान बिक्री भइरहेका बेला जहाजमार्फत आइरहेका ७ वटा कन्सन्ट्रेटरमध्ये ६ वटा विमानस्थलबाटै जिल्लाको लागि पूर्व-मन्त्री पुनको पहलमा आइपुगेका छन्। त्यसअघि कास्की जिल्लाबाट ५ वटा ५० लिटर क्षमताको अक्सिजन सिलिन्डर पुनकै समन्वयमा रुकुमपूर्व ल्याइएको थियो।

यसका साथसाथै जिल्लाको समस्या र समाधानका उपायबारे हरेक दिनजसो जुम बैठकबाट समस्या संकलन र समाधानको पहल तथा प्रयास भइरहेको पुनले बताए।

प्रमुख जिल्ला अधिकारी राजकुमार राईले स्थानीय जनप्रतिनिधि, प्रदेश तथा संघीय माननीयका साथै पूर्व मन्त्री पुनबाट निरन्तर सहयोग र समन्वय भइरहेको बताए। ‘उहाँहरूको ठाउँबाट सक्ने प्रयास र पहल सुरुदेखि नै गरिरहनुभएको छ’ प्रजिअ राईले भने, ‘त्यसैले पनि स्वास्थ्य सामग्री उपलब्धतामा जिल्लामा यतिको व्यवस्थापन हुन सकेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.