|

जनकपुरधाम : जनकपुरधाममा सडिसकेको अवस्थामा एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार धेरै दिनदेखि बन्द जनकपुरधाम उपमहानगरपालिका ७ बसहिया स्थित एक घरमा शव फेला परेको हो।

जिप्रका धनुषाका डीएसपी मकेन्द्र मिश्रले शव फेला परेको घर वैद्यनाथ झाको रहेको बताए। शव फेला परेको घरको बाहिरी मुलगेट र कोठाको ढोकामा समेत ताल्चा लागेको थियो।

केही दिन बन्द रहेको घर भित्रबाट केही दुर्गन्ध फैलिएपछि स्थानीयलाई शंका लागेर आज बुधबाबार प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेर घरको बाहिरी गेट र भित्र कोठाको समेत ताल्चा फुटाएपछि शव भेटिएको डिएसपी मिश्रले जनाए।

घरभित्र सिरकमा बेरेर राखेको अवस्थामा फेला परेको शवको प्रायजसो भाग सडेर किराले खाइसकेको छ। अन्दाजी २६–२६ वर्षजस्तो देखिएको शव कुहिएको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

२ धुर जग्गामा बनेको शव फेला परेको घरको घरधनी वैद्यनाथ झा सपरिवार उदयपुरको गाईघाट बस्दै आएका छन्। उनीहरु कहिलेकाहीँ मात्र जनकपुर आउने गरेका र आउँदा जनकपुरधामकै पेठिया बजारस्थित अर्को घरमा बस्ने गरेका स्थानीयले बताए।

लामो समयदेखि बाहिर र भित्र बन्द रहेको घर भित्र शव भेटिएको घटना रहस्यमय र शंकास्पद रहेको डिएसपी मिश्रले बताए। उनले कसैले हत्या गरेर शव लुकाएको हुन सक्ने आशंका व्यक्त गरे।

घटनास्थलको प्रकृति मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.