काठमाडाैं विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिने

|
फाइल तस्बिर

काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सञ्चालन हुँदै आएको वार्षिक परीक्षा वैशाख १४ गते सूचना जारी गरी अनिश्चितकालका लागि स्थगित गर्‍याे। त्यहीबेला स्नातक तहका मानविकी,व्यवस्थापन, शिक्षा संकायका वार्षिक परीक्षा सञ्चालन हुँदै आएका थिए।

परीक्षा स्थगित गरेको एक महिना वितिसक्दा पनि अहिलेसम्म त्रिविले रोकिएको परीक्षाको अन्योलता हटाउन सकेको छैन। जसकारण परीक्षार्थी चिन्तित छन्। आगामी साउनसम्ममा स्नातक तहका सबै संकायका प्रथम र दोस्रो वर्षको परीक्षा सक्ने लक्ष्य लिएको छ।

तर,यो महामारीमा कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भनी अहिलेसम्म केही निर्णय लिन सकेको छैन। परीक्षाको विषयमा त्रिविका रजिस्ट्रार पेशल दाहाल भन्छन,‘विए प्रथम वर्ष र निषेधाज्ञा अघि लिएर रोकिएको सबै परीक्षा साउन सम्ममा लिइसक्ने भनेर छलफल भइरहेको छ,तर कुन विधिमा सञ्चालन गर्ने अहिले सम्म केही निर्णय हुन सकेको छैन,छलफलकै चरणमा छ।’

उनका अनुसार भौतिक उपस्थितिमा परीक्षा गराउने भन्ने अहिले विकल्प छैन। ‘अझै संक्रमणको जोखिम उच्च छ,त्यसैले भौतिक उपस्थितिमा तत्काल परीक्षा हुँदैन,अनलाइनबाट गर्न पनि सबैको पहुँचमा प्रविधि छैन,’दाहालले भने।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार कोभिडका कारण अहिले ३ लाख बढी विद्यार्थीको परीक्षा रोकिएको छ।

केयुको परीक्षा अनलाइनबाट सञ्चालन गरिने

काठमाडौं विश्वविद्यालय(केयु)ले भने भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भावना नभएपछि अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको छ। केयुका प्रवक्ता एक्कु माया पुनले केयु अन्तर्गतका सात वटै स्कुलले अनलाइनबाट परीक्षा सञ्चालन गर्ने बताइन्।

‘यो परिस्थितिलाई हेरेर भौतिक रुपमा नभई स्नातक तहको सबै परीक्षा अनलाइनबाट गर्ने निर्णय भएकाले यही अनुसार सबै स्कुललाई निर्देशन दिएका छौ,’उनले भनिन्।

उनका अनुसार अहिले अनलाइनबाट दोस्रो सेमेस्टरको पढाई भैरहेको छ। उनले इन्जिनियरिङ साइन्सको भने उपयुक्त समयमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने जानकारी दिइन। 

‘परीक्षा सञ्चालन गर्ने समय तोकेका छैनौं,’उनले भनिन्,‘सबै पाठ्यक्रमको पढाइ सकिएपछि स्कुलले नै समय तोकेर परीक्षा लिन सक्नेछन्।’ साउनबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने केयुको तयारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.