'सांसद खरिद-बिक्री भएका छन्,आउँदा दिनमा हामी सार्वजनिक गर्छौं'

|

काठमाडौं : सत्तापक्ष र विपक्षमा विभाजित जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सक्नेगरी अध्यादेश ल्याएपछि रातारात मिलेको जसपा एक वर्षमै फुट नजिक पुगेको हो। 

अहिले जसपमा शिर्ष नेताबीच नै एकले अर्कालाई पार्टीबाट निष्कासन गर्ने होडबाजी चलिरहेको छ। यसको मुख्य जड गत पुस ५ गतेको संसद् विघटन थियो। त्यसपछि उत्पन्न घटनाक्रमले जसपालाई दुई टुक्रा बनाउँदै छ।

पार्टी  फुटको नजिक पुग्दै गर्दा केही संवैधानिक अड्चन भने छन्। पार्टी दुई टुक्रा भइहालेको छैन। त्यसबाहेक दुई समुहमा विभाजित पार्टीका शीर्ष नेताहरूले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको निर्णय निर्वाचन आयोगले  अस्विकार गरेपछि प्राविधिक रुपमा पनि पार्टी टुक्रिएको  छैन।

पार्टी फुटको नजिक पुग्नुको कारण र अबको यात्रा लगायतका विषयमा हामीले जसपाकाे उपेन्द्र यादव पक्षका नेता प्रदीप यादवसँग कुराकानी गरेका छौं। 

जसपा अब एक भएर बस्न सक्ने अवस्था  छ कि फुट्ने अन्तिम निर्णय हुने हो? 

पार्टीभित्र जुन हिसाबले लडाईं चलिरहेको छ, यो औपचारिक त नभनौं तर अनौपचारिक फुटको संकेत हो। केहि नेताहरूले पार्टीको  विधि, विधान र निर्णय नमान्ने र बैठक नगर्ने तथा बैठकको सम्झौता गरेर भाग्ने यो किसिमको हिसाबले पार्टी चल्दैन।  पार्टी,पार्टी हुनलाई छलफल हुनुपर्‍यो।

मत अभिमत भए पार्टीभित्रबाटै समाधान गर्नुपर्छ। संचारमाध्याममा राखेर  यसको समाधान हुँदैन। सरकारको समर्थन वा विरोध गर्न पनि पार्टीभित्र छलफल हुनुपर्‍यो नि! प्रधानमन्त्रीको कारणले पार्टी फुट्ने संकेतमा पुगिसकेको छ। 

पार्टीको  नेताहरूले केन्द्रिय कमिटीको बैठकमा उपस्थित नहुने अथवा बैठक बहिस्कार गर्ने कारणले गर्दा फुटको नजिक पुगेको हो कि सरकारमा सहभागी हुने र नहुने विषयले हो? 

सरकारमा सहभागी हुनुछ भने पनि पार्टीको बैठकमा एजेण्डा राख्नुपर्‍यो। यी र यस्ता कारणले हामी सरकारमा जानुपर्छ भनेर  पार्टीमा छलफल हुनुपर्यो। बैठक नगर्ने, बहिस्कार गर्ने, बैठकको लागि आफैं हस्ताक्षर गरेर आव्हान गर्ने यो नाटकले पार्टी चल्दैन।

पार्टी पूर्व राजपा होइन। यो पार्टी सिस्टमले चलेको छ। हिजोको तमलोपा, सद्भावना होइन। राजपाले गाडीभित्र बसेर, फोनमा निर्णय गर्थे। जसपामा गाडीमा बसेर निर्णय हुँदैन।

अहिले पार्टीमा बहस गरौं। एकदिन नभए १० दिन गरौं। निकास निकालौँ। उहाँहरू कहिले प्रधानमन्त्री, कहिले राष्ट्रपतिकोमा घुमिरहने  र पार्टीलाई बन्धक बनाउने कोसिस गरिरहनु भएको छ। यो कारणले पार्टी फुटको संघारमा गएको छ। पार्टीले चार जना नेतालाई निष्कासन गर्ने निर्णय गरेको हो।

जसरी एक अर्कालाई  निष्कासन गर्ने क्रम चलिरहेको छ, सरकारमा सहभागी हुने कारण  वा विरोध गर्ने कारणले मात्र यस्तो खालको प्रकरणहरु देखा परेका हुन् वा हिजोको राजपा र समाजवादी पार्टीले एक-अर्का बिचको अस्तित्व स्वीकार गर्न नसकेको हो? 

अस्तित्व स्वीकार गर्ने वा नगर्ने भन्ने होइन। जसपा रडाकोको पहिलो कारण प्रधानमन्त्री हुन्। यसमा अन्य कारण जोडिरहन आवश्यक छैन।

प्रधानमन्त्रीको कारण पार्टी दुई  धारमा गयो  भन्ने तपाईँहरूलाई लाग्छ भने किन आफूहरु एक आपसमा छलफल गर्न नसकेको? 

त्यसका लागि पार्टीले छलफल र बैठक त गर्नुपर्‍यो नि। हामीले त्यहि भनिरहेका छौं। बैठक बस्न डराउने अनि कसरी हुन्छ? केपी ओली सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि  बहस गरौं त भनिरहेका छौं त। पार्टीको विधान जसरी मिलेर बनाएका हौं। त्यसैगरी त्यो विधानलाई  पालना गरौं। निकास खोजौँ भनिरहेका छौं। 

प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफल गर्न तम्सिने अनि पार्टीको बैठकमा बस्न तयार नहुनेले गर्दा अफ्ठ्यारो भएको हो। उहाँहरूको गल्तीले पार्टीलाई नोक्सान गरेको छ। त्यसैले पार्टीको औपचारिक बैठकले उहाँहरूलाई निष्कासन गरेको हो।

पार्टी र बहुमत सर्वोपरि हो।  पार्टी बाहिर बसेर एउटा लेटर प्याडमा लेखेको भरमा कसैलाई निकाल्ने वा निर्वाचन आयोगमा आफ्नो दाबी प्रस्तुत गर्नु हाँस्यास्पद हो। उहाँहरूलाई राष्ट्रपति वा प्रधानमन्त्रीलाई  खुशी बनाउन गरेको हो भने त्यो उहाँहरूको कुरा होला। तर, दीर्घकालिन हिसाबमा यसले खास केही गर्दैन।

महन्थजीहरुका अनुसार सरकारले तपाइहरुका थुप्रै माग सम्बोधन गरिदिएको अवस्था छ। यस्तो अवस्थामा सरकारलाई समर्थन गर्नु त स्वभाविक कुरा होइन र? 

कुनै पनि माग सम्बोधन गरेको छैन। जसपाको आधिकारीक रूपमा ठाकुर-यादवको हस्ताक्षर गरेर पटक-पटक सरकारसँग माग गरेको प्रस्तावमा कुन माग चाहिँ सरकारले पूरा सम्बोधन गरेको छ।

मधेस आन्दोलनका विषयमा लागिएका झूटा मुद्दाहरूमा हामीले धेरै पटक कुरा गरेका थियौं। अहिले पुरा भए भन्ने बाहिर आइरहेको छ। यो कुरा सुन्दा मलाई हाँसो लाग्छ। किनभने सार्वजनिक अपराध मुद्दाहरू हुन्छन्। ति ढुंगा मुढा गरेका, टायर बालेर लगाइएका मुद्दा फिर्ता गर्दैमा मधेसको मुद्दा फिर्ता हुन्छ? आफैं मेटिएर जाने मुद्दा फिर्ता गरेँ भन्नु भनेको दिनलाई रात बनाउने र रातलाई दिन बनाउने मात्र हो। यसको खास फाइदा छैन। 

मधेसका मुद्दा सम्बोधन भए भनेर ठाकुर पक्षमा धेरै सांसद लागेको देखियो नि त? 

सांसदको खरिद बिक्री भएको छ। को कति मुल्यमा बिक्री भएको छ भन्ने आउँदा दिनमा हामी यसको सार्वजनिक गर्छौं।

कसले खरिद गर्‍यो सरकारले कि ठाकुर पक्षले? 

पर्दा पछाडी को छ? हामी सबैलाई थाहा छ। यो खरिद गर्ने कार्य क्षणिक हो। तर, ठाकुरजी चेपमा फस्नुभएको छ। संसदमा उपेन्द्र पक्ष बलियो छ। किन भने संसद् विघटन भएको छ।

राष्ट्रिय सभामा ३ जना मध्ये २ जना उपेन्द्र पक्षमा हुनुहुन्छ। ठाकुर जीसँग ४० प्रतिशत पुग्दैन। जसले गर्दा ठाकुर जीले पार्टी फोड्न  सक्नुहुन्न। जालझेल र सेटिङमा ठाकुर जी लाग्नु भएको छ। 

फुटको नजिक पुगेको पार्टी एक बनाउनुपर्ने जिम्मेवारी तपाइँहरुको पनि होइन र? 

हामीले त बैठक बसौं भनेका छौ त। उहाँहरू भाग्नुहुन्छ। जसले देशको नियम कानुन मान्दैन। उहाँहरू तिनै मान्छेसँग हिँडिरहनु भएको छ। केपी ओलीलाई विष्णुको अवतार मानिरहनु भएको छ। 

पद मिलेपछि त सबै स्वार्थ र एजेण्डाहरू मिलिहाल्छन् नि। यादवजी पनि हिजोको दिनमा ओली सरकारमा हुनुहुन्थ्यो त? 

हुनुहुन्थ्यो नि! सरकारले धोका दिएपछि आफैं राजीनामा दिनु भएको हो उपेन्द्र यादवले।  हिजो राजपाले ओली सरकारलाई समर्थन गरेको हो। भलै सरकारमा गएन। समर्थन किन गर्यो भने मधेसको  समस्या सम्बोधन हुन्छ। संविधान संसोधन हुन्छ।

जसपा भित्रको आगामी दृश्य के हो

आगामी दृश्य पार्टी शुद्धीकरण हो। जसका लागि केहि नेतालाई निकाल्नुपर्छ। त्यसपछि पार्टी ट्रयाकमा आउँछ। खरिद बिक्री बन्द हुन्छ। 

मधेश आन्दोलनमा यत्रो समय लडेका नेतालाई निकाल्दैमा पार्टी शुद्धीकरण हुन्छ भन्ने की पार्टी कमजोर हुन्छ? 

पार्टी कमजोर हुँदैन। जो आफ्नो विवेकले हिँड्दैन।  बैठकबाट भाग्छ,लेटरप्याड दुरूपयोग गर्छ। त्यस्तालाई पार्टीमा ठाउँ हुँदैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.