पाल्पा : रिब्दीकोट गाउँपालिका –३ खस्यौलीका वडाध्यक्ष विष्णुप्रसाद खनालले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रलाई ९ रोपनी बढी जमिन दिएका छन्।
केन्द्रको भवन निर्माणका लागि ९ रोपनी २ आना जमिन दिएका हुन्। करिब डेढ करोड पर्ने जमिन निशुल्क दिएका छन। स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति हुने भएपछि २०५४ सालमा ६ रोपनी जमिन दिएका थिए। पछिल्लो समयमा सरकारको अवधारणा अनुसार गाउँपालिकास्तरको १० शय्याको अस्पताल बन्ने भएपछि थप ३ रोपनी जमिन दिएका हुन्।
प्राथमिक स्वास्थ्य केन्द्रलाई नै गाउँपालिका स्तरको अस्पतालमा रुपान्तरण गर्न थालिएको छ। यसको लागि ७ रोपनी २ आना जमिन आवश्यक पर्छ। साढे १ आना जमिन भए पुग्ने थियो। तर वडाध्यक्ष खनालले थप ३ रोपनी जमिन दिएका छन्। आगामी दिनमा समेत अस्पताललाई जमिनको अभाव नहोस् भनेर आफूले मागभन्दा बढी जमिन उपलब्ध गराएको उनले बताए।
हाल यहाँ प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध हुँदै आएको छ। यहाँ सामान्य खालको शल्यक्रिया, विभिन्न रोगको परीक्षण गर्ने प्रयोगशाला, मुटु जाँच गर्ने इसिजी मेसिन, भिडियो एक्सरेको व्यवस्था छ।
केन्द्र आफैले फार्मेसीसमेत संचालन गर्दैै आएको अस्पतालका प्रमुख डाक्टर सचु थापाले बताइन्। उनका अनुसार यहाँ चौबिसै घण्टा उपचार हुँदै आएको छ। यस केन्द्रबाट पाल्पाका पश्चिम भेग, अर्घाखाँचीको पूर्वी भेग, गुल्मी, स्याङ्जा र बागलुङका बिरामीले समेत सेवा लिदै आएका छन्।
खस्यौली स्वास्थ्य केन्द्र कार्य सम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशमा पहिलो र देशैभरी दोस्रो बन्न सफल भएको छ।
सबैलाई पायक पर्ने ठाउँमा अस्पतालको लागि जमिन खरिद गर्न खोज्दा समेत नपाएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। वडाध्यक्षले जमिन उपलब्ध गराएपछि अस्पताल बनाउन सहज भएको उनले सुनाए।
'आम मानिसको जीवनलाई महत्व दिएर यति धेरै जमिन निःशुल्क दिनुभएको छ। उहाँले जनताप्रति देखाएको उदारता उदाहरणीय छ। गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छौं,' जिसीले भने। व्यक्तिले गरेको सहयोगले सरकारलाई काम गर्ने दबाब बढेको उनले बताए।
यहाँ पालिकास्तरको अस्पताल निर्माणको लागि १२ करोड बढी बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा बोलपत्र आव्हान भएर योजना सम्झौताको काम सम्पन्न हुने जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन पाल्पाका प्रमुख टीका थापाले बताए।
कोरोना अस्पताल बनाउन घर
वडाध्यक्ष खनालले कोरोना अस्पताल बनाउन घर दिएका छन्। गाउँपालिकाले कोरोना अस्पताल निर्माण गरेर संक्रमितको उपचार गर्दै आएको छ। नेपालमा कोरोना महामारी फैलिएपछि नै उनले घर दिएका हुन्।
गत वर्षदेखि नै यहाँ कोरोना अस्पताल निर्माण गरी तयारी अवस्थामा राखिएको थियो। विनाशर्त निःशुल्क आफूले घर दिएको खनालले बताए। कोरोना महामारी नियन्त्रण नहुँदासम्म र संक्रमितलाई राख्नको लागि आवश्यक पर्ने समयसम्म घर उपलब्ध गराउने उनले बताए। अहिले यहाँ कोरोना संक्रमित राखेर उपचार हुँदै आएको छ। वडाध्यक्षले विद्युत कार्यालय स्थापनाको लागि पनि १२ आना जमिन निशुल्क उपलब्ध गराएका छन्।
स्वास्थ्यकर्मी भएर काम गर्दा मानिसको जीवन बुझें
वडाध्यक्ष खनालले सिएमए अध्ययन गरेका हुन्। उनले स्थायी जागिरमा नामसमेत निकालेका थिए। ०३६ सालदेखि २०४९ सालसम्म स्वास्थ्यकर्मीको काम गरे। स्थानीय खस्यौली स्वास्थ्यचौकीमा उनले काम गरेका थिए।
राजनीतिक उतारचढावका कारण घर पायक पर्ने जागिरबाट उनलाई २०४९ सालमा बागलुङ सरुवा गरियो। त्यहाँ पुगेर ८ महिना काम गरे। पछि जागिरबाट नै राजीनामा दिएर उनी घर फर्किए। ‘गाउँमै समाजसेवा गर्ने सानै देखिको मेरो इच्छा थियो’, उनले भने, ‘सरुवा भएर अन्यत्र जान बाध्य भएपछि जागिर नै छाडिदिएँ। अनि गाउँघरमै फर्किएर सामाजिक काममा समर्पित भएको छु।’
उनी गाउँ फर्किएपछि गाविस अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि समाजप्रति झन केही गर्नुपर्छ भन्ने अठोटका साथ काम गर्न थाले उनले। अहिले खनाल वडाध्यक्षमा निर्वाचित भएका छन्। उनले गरेका सामाजिक कामप्रति यहाँका स्थानीय सन्तुष्ट छन्।
आफूले स्वास्थ्यकर्मी भएर काम गरेको बेला प्रभावकारी उपचार नपाउँदा कतिपय मानिसले अकालमा ज्यान गुमाएका घटना सम्झिए खनालले। आफूसहित जनताको स्वास्थ्य ठीक भए नै सामाजिक काम र राजनीति गर्न पाइने उनले बताए। त्यसैले अस्पताल गाउँबाट अन्यत्र स्थानान्तरण हुन नदिन घर र गोठ मात्र बाँकी राखेर जमिन दिएको हो।
खनालकी श्रीमती गीता अर्याल खनाल पनि स्टाफ नर्स हुन्। उनले तानसेनस्थित युनाइटेड मिसन अस्पताल, साविकको लुम्बिनी अञ्चल अस्पताल, पाल्पा अस्पतालमा काम गरेकी थिइन्।
दुवै जना स्वास्थ्यकर्मी भएको कारणले स्वास्थ्यका हरेक क्षेत्रमा सक्दो सहयोग गर्ने प्रेरणा मिलेको खनालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।